ad ad

राजनीति


यातायातमन्त्रीको सय दिनको उपलब्धिः सडकका साढे ९ हजार खाल्डा पुरियाे

यातायातमन्त्रीको सय दिनको उपलब्धिः सडकका साढे ९ हजार खाल्डा पुरियाे

वसन्त अर्याल
फागुन १७, २०७६ शनिबार ५:१५,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले १०० दिनकाे प्रगति विवरण सार्वजनिक गरेका छन्।

शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले सय दिनकाे अवधिमा आफूले सम्पन्न गरेका कामका विवरण सार्वजनिक गरेका हुन्। 

आफूले नीतिगत सुधार, संगठनिक सुधार र विकास गरी मुख्य ३ वटा रणनीतिअनुसार तीव्रतासाथ काम अघि बढाएको उनले बताए। 

सय दिनकाे प्रगति विवरणमा उनले काठमाडौं उपत्यकाका सडक यातायाततर्फ विशेष उपलब्धि हासिल गरेकाे दाबी गरेका छन्।

‘यस अवधिमा मात्र सडक विभागअन्तर्गत रहेका सडकहरुमा २४ हजार ३०० वर्गमिटर (९ हजार ५०० वटा) खाल्डाखुल्डी पुरिएका छन् भने करिब २७ किमि सडकमा कालोपत्रे भएको छ,’ प्रगति विवरण सुनाउँदै मन्त्री  नेम्वाङ भने ‘यस १०० दिनको कार्यकालको अधिकांश समय हिउँदको समय भएकाले चिसोका कारण उल्लेखनीय मात्रामा कालोपत्रे हुन नसके पनि प्राप्त प्रतिफलमा गौरव गर्न मिल्ने अवस्था छ।’

उनले असार मसान्तसम्म काठमाडौं उपत्यकाका थप ८५ किमि सडक कालोपत्रे गर्ने लक्ष्यसहित निर्माण कार्य अघि  बिढरहेको बताए।

त्यस्तै कोटेश्वर चोकमा वर्षोंदेखि भइरहेकाे ट्राफिक जाम व्यवस्थापनकाे अल्पकालीन समाधानका लागि सडक चौडा गर्ने काम अघि बढेको उनले जानकारी दिए।

काठमाडौं उपत्यकाको चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र नख्खु चोकमा फलाइओभर निर्माण गर्नका लागि डीपीआर तयारीको निम्ति परामर्शदाता छनोट कार्य भइरहेको बताइएको छ।

त्यसैगरी सूर्यविनायक–धुलिखेल सडक खण्डलाई विस्तार गर्न कोटेश्वर र जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रुपमा समाधान गर्न फ्लाइओभर तथा अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको मन्त्री नेम्वाङले प्रगति विवरणमा उल्लेख गरेका छन्।

 ट्राफिक लाइट र जेब्राकस
मन्त्री नेम्वाङले ‘उपत्यकाको सडकहरुलाई सुरक्षित तथा सौन्दर्यकरण गर्न फुटपाथ निर्माण, रेलिङ निर्माण, जेब्रा माकिंग तथा रङरोगनको कार्यलाई प्राथमिकताका साथ अघि बढाईएको’ बताएका छन्। मन्त्रालयले काठमाडौं उपत्यकाका १७ वटा चोकहरुमा ट्राफिक बत्ति बल्न सुरु गरेको जानकारी दिएको छ। बाँकी ६ वटा चोकमा चालु आर्थिक वर्षभित्र मर्मत गरी सञ्चालनमा ल्याउने दाबी रहेको छ।

त्यस्तै रिङरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माणको कार्य सम्पन्न भइसकेको बताएको छ। बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माणको डिजाइन सम्पन्न भई ठेक्का व्यवस्थापन प्रक्रियामा रहेको उनले बताए।

यसैगरी चक्रपथ विस्तारको दोश्रो खण्डको रुपमा कलंकी–महाराजगञ्ज खण्डको विस्तार कार्यको प्रारम्भिक कार्यहरु जस्तै रुख कटान, बिजुली तथा दूरसञ्चारको पोलहरु स्थान्तरण अन्तिम चरणमा रहेको र जग्गा प्राप्तिको प्रक्रिया समेत सुरु भइसकेको प्रगति विवरणमा उल्लेख रहेको छ।

चक्रपथको तीनकुने–एरपोर्ट–तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नति गर्न डीपीआर तयार भइसकेको छ। प्रमुख सडकहरुसंग जोडिएको शाखा सडकहरुको स्तरोन्तति गर्न बजेट तथा ठेक्का व्यवस्थापन गरी निर्माण कार्य समेत सुरु गरिएको बताइएका छ।

राष्ट्रिय गौरवका योजना
मध्यपहाडी राजमार्गअन्तर्गत सय दिनमा १८ किमी सडक कालोपत्रे भएको र ६ वटा पुलको निर्माण सम्पन्न भएको बताइएको छ। हुलाकी सडक योजना अन्तर्गत ४८ किमी सडक कालोपत्रे भएको र ५ वटा पुल निर्माण सम्पन्न भएको बताइएको छ। उत्तर दक्षिण राजमार्गहरु अन्तर्गत रहेको कालिगण्डकी कोरिडोरमा ३३ किमी ग्रावेल सम्पन्न भई ३ वटा पुलहरुको निर्माण कार्य समेत सम्पन्न भइसकेको छ।

कर्णाली राजमार्गमा ५.६ किमी ट्रयाक खोल्न सफल भइएको छ। गल्छी–त्रिशूली–मैलुंग–स्याफ्रुबेशी–रसुवागढी सडक खण्डमा ७ कीमी कालोपत्रे सम्पन गरी थप ६ किमी सडक खण्डमा ग्रावेल सम्पन्न भइसकेको छ।

मदन भण्डारी राजमार्गमा यस अवधिमा २६ किमी सडक कालोपत्रे भई ११ वटा पुलको निर्माण सम्पन्न भएको छ।

‘देशैभरी सञचालनमा रहेका कुल आयोजनाबाट प्रगतिको समीक्षा गर्दा १०० दिनको अवधिमा कुल २०० कि.मि कालोपत्रे सडक, १३० किमी ग्रावेल सडक र ६९ किमी नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ,’ मन्त्री नेम्वाङले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .