ad ad

राजनीति


सिंहदरबारमा ७ घन्टा लामो छलफल : दुवै पक्षले अडान नछाड्दा जुटेन सहमति

सिंहदरबारमा ७ घन्टा लामो छलफल : दुवै पक्षले अडान नछाड्दा जुटेन सहमति

नेपालखबर
जेठ ६, २०८१ आइतबार १६:५६, काठमाडौँ

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेताहरू आ–आफ्नो अडानबाट पछि नहट्दा संसदीय छानबिन समितिको टीओआर तयार पार्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन सकिएको छ। 

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ९ बजेदेखि ६ घन्टा बढी छलफल हुँदा पनि सहमति जुट्न नसकेको हो। 

सोही सहमतिको खाका तयार गरेर मात्रै आइतबारका लागि बोलाइएको प्रतिनिधि बैठकमा सहभागी हुने नेताहरूले बताएका थिए। यद्यपि, झण्डै ७ घन्टासम्म पनि निरन्तर संवाद चल्दा पनि बैठकमा सहमति जुट्न सकेन। 

अपरान्ह साढे ४ बजे मन्त्रालयको गेटबाट निस्कँदैगर्दा कार्यदलका सदस्य समेत रहेका रास्वपा सांसद शिशिर ढकालले दुवै पक्षको आ–आफ्नो अडान कायम रहेको बताए।

‘हामी बिहानदेखिनै छलफलमा छौँ, सकेसम्म मिलाएर जाऔँ भनेका हौँ,’ खनालले भने, ‘तर, अहिलेसम्म हामी आ–आफ्नो अडानमा पनि छौँ।’

उनले सदनमा उठेका प्रश्नको जवाफ सदनबाटै दिनुपर्ने अडानमा पनि आफ्नो पार्टी रहेको बताए। ‘एउटा व्यक्तिलाई मात्रै दोषी करार गरेर समिति बन्नुहुँदैन भन्नेमा हामी छौँ,’ उनले भने। 

त्यस्तै, कार्यदलका अर्का सदस्य जीवन परियारले पनि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राखेरै छानबिन समिति बनाउने कुरामा उनको पार्टीको अडान कायमै रहेको बताए। 

‘नेपाली कांग्रेसले छानबिनको दायरामा गृहमन्त्री पनि पर्नुपर्छ भनेका थियौँ, त्यो अडान अहिले यथावत् नै छ,’ उनले भने। 

सहकारीको रकम अपचलन भएको सम्बन्धमा संसदीय छानबिन समिति बनाउन शनिबार बेलुकी शीर्ष नेताहरू बालुवाटारमा सहमत भएका थिए। 

यद्यपि आइतबार बिहानबाटै छलफलमा जुटेका कार्यदलका सदस्यहरू टीओआर लेखनमा सहमत हुन नसकेका हुन्। 

सत्तापक्षका सांसदहरूले गृहमन्त्री लामिछानेको नाम उल्लेख हुन नहुने बताएको छ भने प्रतिपक्षी दलले गृहमन्त्रीमाथि नै छानबिन बनाउनेगरी नाम उल्लेख गर्नुपर्ने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .