ad ad

राजनीति


प्रचण्डसँग ओलीले भनेका थिए : हल्लाकै पछि लागेर मन्त्रीको राजीनामा किन माग्नु?

प्रचण्डसँग ओलीले भनेका थिए : हल्लाकै पछि लागेर मन्त्रीको राजीनामा किन माग्नु?

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १५:३,

बिहीबार बिहान सवा १० बजेतिर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे।

यो करिब त्यस्तै अवस्था थियो, जब तत्कालीन सभामुख कृष्णबहादुर महरा तीन महिनाअघि रोशनी शाही प्रकरणमा मुछिएको खबर फैलिएपछि अध्यक्ष प्रचण्ड उनको राजीनामा गराउनेबारे सल्लाह गर्न प्रधानमन्त्री निवास बालुवाटार छिरेका थिए।

तर त्यसबेला जस्तै बिहीबार पनि प्रचण्डले बालुवाटारमा उनी प्रधानमन्त्री ओलीसँग के विषयमा छलफल गर्न जाँदैछन् भन्नेबारे आफ्नै सचिवालयका पनि कसैलाई जनाउ दिएका थिएनन्।

बुधबार रातिदेखि नै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा स्वीस कम्पनीको नेपाल एजेन्टसँग ७० करोड कमिसनबारे छलफल गरेको अडियो टेप सार्वजनिक भएको थियो। एकाबिहानैदेखि त्यसबारे सामाजिक सञ्जालमा बहस भइरहेको थियो।

बालुवाटारमा ओली र प्रचण्ड यही विषयमा छलफलमा जुटे।

बालुवाटार र खुमलटार निकट स्रोतहरूका अनुसार ओली र प्रचण्डबीच करिब ५० मिनेट छलफल भयो। भेटमा पहिला अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग ‘मिडियामा सञ्चारमन्त्रीको अडियो भन्दै समाचार आइरहेका छन्, के हो यसको वास्तविकता’ भनेर सोधे।

जवाफमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उच्च स्रोतले भन्यो, ‘हल्ला मात्रै पनि हुनसक्छ, कसैले बदनाम गराउन यस्ता हल्ला चलाएको हुनसक्छ।’

प्रचण्डले फेरि ओलीलाई भने, ‘बाहिर आएको समाचार सत्य हो होइन, तर जे बाहिर आएको छ, त्यसले सरकारलाई अप्ठेरोमा पार्न सक्छ।’

स्रोतका अनुसार प्रधानमन्त्रीले आफूलाई त्यो समाचारमा सत्यता भएजस्तो नलागेको जवाफ दिए। त्यसबेला मन्त्री बाँस्कोटा धनगढीबाट काठमाडौं फर्कने क्रममा थिए र उनीसँग भेटेर प्रधानमन्त्री ओलीले विस्तृत सोध्न भ्याएका थिएनन्।

‘यति आएपछि पदमा बस्दा झन् समस्या पार्ने हो कि, तपाईं नै यसको जानकार हुनुहुन्छ’, मन्त्री बाँस्कोटालाई राजीनामा गर्न लगाउनु पर्ने संकेत गर्दै प्रचण्डले भने।

प्रधानमन्त्री ओली तत्काल राजीनामा गराउने मुडमा थिएनन्। उनले प्रचण्डलाई जवाफ फर्काए, ‘हल्लाकै पछि लागेर राजीनामा त किन माग्नु र?’

बालुवाटारमा बिहीबार बिहान ओली र प्रचण्डबीच यो संवाद चलिरहँदा सामाजिक सञ्जालमा भने मन्त्री बाँस्कोटाको राजीनामा माग्दै सरकारको तीव्र आलोचना भइरहेको थियो।

सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले फेसबुकमा मन्त्री बाँस्कोटालाई राजीनामा दिएर छानबिन प्रक्रियालाई सहयोग गर्न सुझाव दिएका थिए।

आफू निकटका भनिएकाहरु पनि बाँस्कोटाले राजीनामा दिनुपर्ने पक्षमा उभिने क्रम बढ्दै गएपछि ओलीले उनीसँग एकपटक कुरा गर्ने अनि मात्रै केही निर्णय गर्ने संकेत गरे, प्रचण्डसँग।

त्यहीबेला नेपाली कांग्रेसले पत्रकार सम्मेलन नै गरेर मन्त्रीलाई बर्खास्त गर्न माग गर्‍यो। प्रधानमन्त्री ओलीलाई ‘भ्रष्टाचारीको संरक्षण नगर्न’ चेतावनी दिएको कांग्रेसले मन्त्री बाँस्कोटाको राजीनामा माग्दै राष्ट्रियसभाको बैठकमा अवरुद्ध गर्‍यो।

यी सबै घटनाक्रमलाई नियालिरहेका प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटा काठमाडौं फर्केको सन्देश पाउनेबित्तिकै तत्काल बालुवाटार बोलाए।

उता राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको कांग्रेससँग छलफल गरेर सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक सुचारु गर्ने योजना बनाए। तर, कांग्रेसले आफ्नो अडान नछोडेपछि सरकारी धारणाबारे सभामुखले चासो राखे। १ बजे सुरु हुनुपर्ने बैठक दुई घण्टा ढिला गरेर ३ बजे बस्यो।

बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरुले अवरुद्ध गर्न खोजेपछि सभामुख सापकोटाले कांग्रेस सचेतक पुष्पा भुसाल गौतमलाई बोल्न समय दिए। उनको भनाइ सकिएपछि सभामुखले ‘सञ्चारमन्त्रीले राजीनामा दिएको अनौपचारिक सूचना आफूले पाएको’ भन्दै कांग्रेसलाई बैठक सुचारु गर्न आग्रह गरे। तैपनि कांग्रेस सांसदले उठेर अवरुद्ध गरेपछि १३ गते सम्मका लागि बैठक स्थगित गरे।

विमानस्थलबाट सिधै बालुवाटार पुगेका मन्त्री बाँस्कोटाले ४ बजेर ८ मिनेटमा ‘नैतिकताका आधारमा राजीनामा दिएको’ घोषणा ट्विटरबाटै गरे। 

याे पनि:
‘प्रधानमन्त्री नै तानिने अवस्था आएपछि मन्त्रीको तत्काल राजीनामा’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .