संविधान जारी भएपछिको पहिलो स्थानीय तहको चुनाव हुँदा (२०७४) उनी कपिलवस्तुको वाणगंगा नगरपालिकामा मेयरको उम्मेदवार बनिन्।
नेकपा एमालेमा दुई दशक सक्रिय राजनीति गरेपछि मेयरको टिकट पाएकी थिइन्। तर, चुनावमा उनको हार भयो।
त्यसको दुई वर्षपछि उनलाई एमालेले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनायो। यसपटक उनी सजिलै चुनाव जितेर सिंहदरबार पुगिन्।
उनै विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित भएकी छन्।
बुधबार (चैत २८) गते भएको मतदानमा उनी सत्ता गठबन्धनका सबै दलको मत पाएर निर्वाचित भइन्।
एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेका अनुसार घिमिरेको राजनीतिक यात्रा लामो छ। ज्यादा चर्चामा नछाइकन खुरुखुरु काम गर्नेमध्ये उनी पर्ने न्यौपानेको भनाइ छ। लामो समय एमालेमा राजनीति गरेकी घिमिरेको चर्चा सामाजिक सञ्जालमा पनि ज्यादा हुँदैन। तर, उनको निरन्तर भइरहेको बढुवाले पार्टीमा उनले राम्रो काम गरिरहेको संकेत गर्छ।
‘०४६ सालको जनआन्दोलनपछिका आन्दोलनमा पनि सक्रिय रहनुभएको छ,’ न्यौपानेले भनिन्, ‘अखिल नेपाल महिला संघको गाउँ, जिल्ला हुँदै केन्द्रको स्थायी कमिटी सदस्य भई काम गरेको अनुभव उहाँसँग छ।’
२०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले–माओवादीबीच एकता भएर बनेको नेकपाकी उम्मेदवार बनेर लुम्बिनी प्रदेशबाट उनी निर्वाचित भएकी हुन्।
‘४ वर्ष राष्ट्रिय सभामा आफ्नो क्षमता प्रदर्शन गरिसक्नुभएको छ,’ न्यौपानले थपिन्, ‘मिलनसार र शालीन व्यक्तिको रुपमा उहाँ स्थापित हुनुहुन्छ। उहाँ उपयुक्त व्यक्तित्व हो। हिजोका उपाध्यक्षले जसरी नै सहकार्य र समन्वय गरेर उपाध्यक्षको पदको गरिमा जोगाएर भूमिका खेल्नुहुन्छ।’
२०२९ साउन १२ गते अर्घाखाँचीमा जन्मिएकी घिमिरेको परिवार २०४० मा कपिलवस्तु बसाईसराईं गरेको थियो।
अहिले उनी काठमाडौँ–३२ शंखमुलमा बसोवास गर्छिन्। घिमिरेले एमालेमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेकी छन्।
अनेमसंघबाट राजनीति यात्रा सुरु गरेकी उनी जिल्ला कमिटी हुँदै पाँचौँ महाधिवेशनमा पार्टी प्रतिनिधि बनेकी थिइन्।
२०७८ वैशाखमा उनी एमालेको कपिलवस्तु जिल्ला इन्चार्ज बनिन्। त्यसअघि उनी कपिलवस्तुको सहइन्चार्ज थिइन्।
०७८ मै चितवनमा सम्पन्न दशौँ महाधिवेशनयता पोलिटब्यूरो सदस्य छिन्।
एमाले र माओवादीबीचको गठबन्धन उनलाई फापेको देखिन्छ।
उनी एमाले–माओवादी एकता भएर बनेको नेकपा कालमा राष्ट्रिय सभा पुग्न सफल भएकी थिइन्। फेरि एमाले–माओवादीबीच गठबन्धन भएकै बेला उनी उपाध्यक्ष बन्न सफल भएकी छन्।
Shares
प्रतिक्रिया