नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले समाजवादी मोर्चा बनाउने सोचले नयाँ सत्ता समीकरण नगरेको बताएका छन्।
नेकपा एमाले बागमती प्रदेश कमिटीले भक्तपुरमा आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले अहिले मोर्चा बनाउने वा वामपन्थी गठबन्धन बनाउने सोचका साथ सत्ता परिवर्तनको काम नभएको बताए।
‘बाहिर चर्चामा आए जस्तो अहिले नै समाजवादी मोर्चा बनाउने, वामपन्थी गठबन्धन निर्माण गर्ने सोचबाट निर्देशित भएर हामीले यो काम गरेको होइन, अहिले संसदमा रहेको वामपन्थी दल मात्रै मिलेर वैकल्पिक सरकार दिन सक्ने अवस्था पनि छैन’, उनले भने।
वामपन्थी गठबन्धन वा समाजवादी मोर्चा जस्ता कुरा गर्न थालियो भने अर्को मोर्चा पनि तयार हुन सक्दछ भन्ने कुरा बुझ्नु पर्ने पोखरेलको भनाइ छ।
‘जे साँचो हो त्यो त्यसलाई बुझेर प्रतिकूलतालाई अनुकूलतामा बदल्नु पर्दछ भन्ने मान्यता राख्यौँ हामीले राखेका छौँ’, पोखरेलले भने।
चार पार्टीसँग एकीकृत समाजवादीलाई पनि जोड्नु पर्छ भनेर मिहिनेतका साथ एकीकृत समाजवादी पार्टीलाई सरकारमा जोडेको पोखरेलले बताए।
अहिले यही समीकरणलाई सहज रूपमा अघि बढाउने हिसाबले काम गर्नुपर्नेमा पोखरेलले जोड दिए। अहिलेको सहकार्य सरकार निर्माणको लागि मात्र भएको उनले स्पष्ट पारे।
एमालेको ध्यान अहिले पनि मिसन २०८४ मा नै केन्द्रित रहेको उनले बताए। एमालेले भविष्यलाई हेरेरै अहिलेको सत्ता सहकार्य गरेको पोखरेलले प्रष्ट पारे।
अर्को प्रसङ्गमा पोखरेलले एमाले सत्ताबाट हटेपछि स्थानीय तहले पनि समस्या भोग्नु परेको बताए।
बितेका २ वर्ष स्थानीय तहले बजेट कटौतीको मार खेप्नुपरेको कारण विकासका काम प्रभावित भएको उनले सुनाए। ‘त्यस्तो अवस्थामा जनतासँग कसरी जोडिने भन्ने कुरा थप चुनौतीपूर्ण बन्न पुगेको छ’, उनले भने।
पोखरेलले पूर्वाधारको कामले मात्र जनतासँगको सम्बन्ध घनिष्ठ बन्न नसक्ने बताए। स्थानीय तहले जनतामा जागरण ल्याउने र आशा जगाउने काम गर्नुपर्नेमा उनले जोड दिए।
हरेक चिज स्थानीय तहसँग जोडिने भएकोले त्यसलाई जति सहज बनाउन सक्यो त्यति नै स्थानीय तहका जनप्रतिनिधि लोकप्रिय हुने पोखरेलले बताए। वैकल्पिक स्रोत खोजेर नागरिकैबाट लिने शुल्कलाई न्यून बनाउन उनले सल्लाह दिए।
पोखरेलले पार्टी र जनप्रतिनिधि बिच गहिरो सहकार्य हुनुपर्ने पनि जनप्रतिनिधिको ध्यानाकर्षण गराए। जनप्रतिनिधिले पार्टीको सहयोगबिना म सफल हुन सक्दिन भन्ने कुरामा सदैव ध्यान दिनुपर्ने उनले बताए।
Shares
प्रतिक्रिया