कबड्डीजस्ता हिट सिरिजका निर्देशक हुन् रामबाबु गुरुङ। रामबाबु निर्देशित फिल्महरूले राम्रो व्यापार गर्दा कलाकार पनि उनीसँग काम गर्न लालयित हुन्छन्।
अभिनेत्री आँचल शर्माले पनि निर्देशक रामबाबुसँग काम गर्ने इच्छा पूरा भएको बताएकी छन्।
रामबाबु निर्देशित ‘डिग्री माइला: एमए थर्ड क्लास’ को ट्रेलरमा बोल्दै आँचलले यस्तो प्रतिक्रिया दिएकी हुन्। यस फिल्ममा दयाहाङ राईसहिच आँचल मुख्य भूमिकामा छिन्।
'राम दाइसँग काम गर्ने इच्छा सबैलाई लाग्छ। मैले त प्रडकास्टमै भनेको पनि थिए। सायद सुन्नु भयो कि! मलाई उहाँसँग काम गर्न पाउँदा भाग्यमानी महसुस भइरहेको छ। उहाँसहित यो पूरा टिम नै एउटा प्याकेज हो जस्तो लाग्छ। किनभने मैले यो यस फिल्ममा काम गरिसकेपछि टिकवर्क के हो भन्ने बुझेँ,' आँचलले भनिन्।
रामबाबुसहित आँचलले दयाहाङलाई चम्किलो स्टारसमेत भन्न भ्याइन्।
'मेरो छेउमा स्टार हुनुहुन्छ। हुनत उहाँहरू सबै स्टार हो। तर, उहाँ चम्किलो स्टार हो। किनकी हिट फिल्म दिइरहनु भएको छ। दयाजीले मलाई एकदम सपोर्ट गर्नुभएको छ,' शर्माले भनिन्, 'यो टिमले त सधैँ राम्रो गरिरहेको छ। मैले पनि राम्रो गर्ने प्रयास गरेँ, यो फिल्म पनि उत्तिकै उत्कृष्ट हुन्छ।'
Shares
प्रतिक्रिया