सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान केही परिमार्जनसहित पारित भएको छ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको एक नेताले जानकारी दिए।
‘विधान अधिवेशनको अन्त्यमा अध्यक्ष प्रचण्डले भने अनुसार नै केही परिमार्जनसहित विधान पारित भएको छ’, ती नेताले नेपालखबरलाई भने, ‘विधान महाधिवेशनमा सुझावहरू आएका थिए। अध्यक्षले विधान अधिवेशनको अन्तिममा बोलेअनुसार नै पास भयो। त्यस्तो कुनै ठूलो
फेरबदल भएको छैन। अध्यक्षले बोलेका कुरालाई पनि समेट्दै पारित भएको हो।’
गत फागुन पहिलो साता भएको माओवादीको विधान अधिवेशनले विधानमा परिमार्जनसहित पारित गरेको थियो।
प्रज्ञा भवनमा फागुन २ देखि तीन दिनसम्म भएको विधान अधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विधान संशोधनसहित पारित गरेको थियो।
त्यसबेला विधान मस्यौदामाथि २० वटा समूह बनाएर छलफल भएको थियो।
विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव आएको भन्दै प्रचण्डले तिनलाई समेट्दै विधान पास गरिने बताएका थिए।
परिमार्जित विधानअनुसार माओवादीको केन्द्रीय समिति १९९ सदस्यीय हुने भएको छ। विधान मस्यौदामा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएकामा समूहगत छलफलको क्रममा ९९ वा १९९ सदस्यीय बनाउन सुझाव आएको थियो।
समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले १९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको एकतिहाइ स्थायी समिति र ११ सदस्यीय पदाधिकारी बनाउने निर्णय भएको थियो। आयोगहरू १५ सदस्यीय बनाउने निर्णय भएको थियो।
Shares
प्रतिक्रिया