ad ad

राजनीति


ओली केही प्रदेश, प्रचण्ड सातै प्रदेश जाँदै

ओली केही प्रदेश, प्रचण्ड सातै प्रदेश जाँदै

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ४:४८,

सत्तारुढ नेकपाले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट तय गरेको तीन महिने अभियानको सुरुआत सातै प्रदेशमा बैठक तथा भेलाबाट गर्ने भएको छ।

अभियानका लागि नेकपाले प्रमुख नेताहरुलाई जिम्मेवारी तोकेको छ भने सातै प्रदेशका भेलामा दुबै अध्यक्ष आउने गरी प्रदेशलाई सूचित गरिएको छ।

प्रधानमन्त्री रहेका अध्यक्ष केपी ओली स्वास्थ्यका कारण सबै कार्यक्रममा जाान सम्भव नभए पनि अध्यक्ष पुष्पकमल दाहाल भने सबै कायक्रममा सहभागी हुने तयारी छ। अध्यक्षबाहेकका सचिवालय सदस्यहरुलाई दुई ठाउँमा वक्ताका रुपमा खटाइएको छ।

सचिवालयका एक सदस्यका अनुसार बरिष्ठ नेता माधवकुमार नेपाल प्रदेश दुई र बागमती, अर्का बरिष्ठ नेता झलनाथ खनाल गण्डकी र कर्णाली, उपाध्यक्ष वामदेव गौतम प्रदेश दुई र सुदूरपश्चिम, प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी र कर्णाली, सचिवालय सदस्य ईश्वर पोखरेल प्रदेश दुई र वागमती, सचिवालय सदस्य रामबहादुर थापा प्रदेश एक र पाँच तथा महासचिव विष्णु पौडेल प्रदेश एक र पाँचमा प्रमुख वक्ताका रुपमा सहभागी हुनेछन्।

नेकपाले फागुन ४ र ५ गते प्रदेश पाँच, फागुन ६ र ७ गते कर्णाली, फागुन ९ र १० गते प्रदेश दुई, फागुन १२ र १३ गते गण्डकी र फागुन १५ र १६ गते वागमती, फागुन १८ र १९ गते सुदूरपश्चिम र फागुन २० र २१ गते प्रदेश एकमा प्रदेश कमिटीका बैठक तथा भेलाहरु आयोजना गर्दैछ।

पार्टी एकतापछि केन्द्रीय योजना अनुसार बृहत् कार्यकर्ता भेला र प्रशिक्षण हुन लागेको पहिलो पटक हो।

केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी एकतालाई बलियो र प्रभावकारी बनाउन नेताहरुले अगुवा कार्यकर्तालाई एउटै ठाउँमा राखेर प्रशिक्षित गर्दा विषयवस्तु बुझ्न र एउटै धारणा बनाउन मद्दत मिल्ने बताए।

‘अब यस्तै भेला तथा प्रशिक्षणहरु तल्लो तहसम्म भएपछि कार्यकर्तालाई व्यावहारिक रुपमा एकताको अनुभूति हुनेछ’, रिजालले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .