ad ad

राजनीति


अदालतमाथि विश्वास छ, अख्तियारलाई नियालिरहेका छौंः संसदमा कांग्रेस

अदालतमाथि विश्वास छ, अख्तियारलाई नियालिरहेका छौंः संसदमा कांग्रेस

नेपालखबर
माघ २८, २०७६ मंगलबार ८:२५,

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले मंगलबार संसदमा पार्टीकाे तर्फबाट धारणा राख्ने क्रममा अदालतमाथि  विश्वास कायम रहेकाे र अख्तियार दुरुपयाेग अनुसन्धान आयोगमाथि भने कांग्रेसले निरन्तर निगरानी राख्ने बताएकी छन्।

मंगलबार संसद बैठक शुरु हुनासाथ पार्टीको तर्फबाट कुरा राख्दै गच्छदारविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधिन रहेको हुँदा सो दलले गर्दै आएको संसद अवरोध स्थगन गरेको बताइन्। 

योसँगै संसद बैठक आज (मंगलबार) बाट पुनः शुरु भएको छ।

उनले कांग्रेसले अदालतको निष्पक्षता र राज्यका तीन अंग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) बीचको शक्ति पृथकीकरणको सिद्धान्तमाथि विश्वास गर्ने हुँदा संसद् जारी राख्न दिने निर्णय गरेको बताइन्।

‘नेपाली कांग्रेसले न्यायपालिकाको तटस्थतामा प्रश्न उठाएको छैन,’ उनले भनिन्।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भने कांग्रेसले नजिकबाट नियालिरहेको उनले बताइन्।

गच्छदारविरुद्धको मुद्दा राजनीतिक प्रतिशोधका आधारमा लगाइएको र अख्तियारले सरकारको प्रभावमा परेर विभेदपूर्ण ढंगबाट मुद्दा दायर गरेको आरोप लगाउँदै भुसालले अख्तियारका गतिबिधिलाई कांग्रेसले आउने दिनमा पनि निरन्तर नजिकबाट नियालिरहने बताइन्।

यसअघि आजै नेपाली कांग्रेसको संसदीय दलको बैठकले गच्छदारविरुद्धका मुद्दालाई राजनीतिक र कानुनीरुपमा जारी राख्दै संसद अवरोध भने हटाउने निर्णय गरेको हो।

यसअघि कांग्रेसले लगातार संसद बैठक तीनपटक अवरोध गरेको थियो।

कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि कांग्रेसले सडक र सदनबाट विरोध गर्दै आएको थियो।

आयोगले उनीसँगै तीन पूर्वमन्त्री, तीन पूर्वसचिवलगायत विशेष अदालतमा ११० जनाविरुद्ध मुद्दा दायर गरेको छ भने अन्य ६५ जनाविरुद्ध जफत प्रयोजनको मुद्दा दायर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .