ad ad

राजनीति


एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : देउवा

एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : देउवा

नेपालखबर
माघ १०, २०८० बुधबार २०:२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन्।

कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका हुन्।

‘संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन’ उनले भने, ‘बहुमत पुर्याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ।’

कांग्रेसले अहिले नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीसँग गठबन्धन गरेको उनले बताए। अहिले अन्य पार्टीसँग गठबन्धन गरिएपनि कुनै समस्या नभएको उनको भनाइ थियो।

कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्दै उनले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए।

‘पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्’, उनले भने, ‘कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस्।’

नेपालमा बहुदलीय व्यवस्था आएपछि मात्रै विकासमा परिवर्तन देखिन थालेका उनको भनाइ थियो। जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको सभापति देउवाले बताए।

कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए।र

‘कांग्रेस सिद्धियो, सिद्धियो भन्छन् म त जस्ताको तस्तै देख्छु’, उनले भने, ‘हामी एकबद्ध भएर अगाडि बढौँ, थोरै बोलौँ, जुन हाम्रो सभापतिबाट सिकौँ। पार्टी सभापति देउवा थोरै बोलेर पनि काम धेरै गर्नुहुन्छ, उहाँबाट सिक्नुपर्छ’, उनले भने।

पूर्वमहामन्त्री शशाङ्क कोइराला, सहमहामन्त्री जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रजातन्त्रका सेनानीहरुलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .