राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन र ग्यालेक्सी फोरके टेलिभिजनको सेयर हस्तान्तरणसँग जोडिएको विवादित कारोबारबारे आफूमाथि लागेका आरोपको प्रस्टीकरण दिन पत्रकार सम्मेलन नै गरे।
उनको यस कदमलाई मूलतः २ कोणबाट अर्थ्याउन सकिन्छ–
एक, सांसद र देशको चौथो ठूलो राजनीतिक दलको प्रमुख भएकाले आफूमाथि सार्वजनिक रुपमा लागेका आरोपको खण्डन सार्वजनिक रुपमै गरे। सार्वजनिक जवाफदेहिताका कोणबाट उनले ठीक गरे।
दुई, सहकारी विभाग र नेपाल प्रहरीका विभिन्न एकाईले अनुसन्धान गरिरहेको विषयमा उनले पत्रकार सम्मेलन गरी आफ्नो पक्षमा जनमत बनाउने र सहानुभूति लिने कोसिस गरेका हुन् कि भनेर पनि प्रश्न उठाउन सकिन्छ।
यी विषयमा बहस हुँदै गर्ला।
सोमबार उनको पत्रकार सम्मेलनमा अर्को अनौठो दृश्य पनि देखियो।
उनले आफ्नो बचाउका लागि सिंगो पार्टी नै उतारे। उनीमाथि लागेका आरोप पार्टीसँग सम्बन्धित थिएनन्, नित्तान्त व्यक्तिगत थिए। उनको निजी कारोबारसँग सम्बन्धित थियो। तर, उनले व्यक्तिगत मामिलालाई पार्टीकरणको प्रयास गरे।
सोमबार लगभग १२ बजेतिर महामन्त्री डा. मुकुल ढकालले नेतालाई फोन गरे र उर्दी जारी गरे– ‘राजधानी नछोड्नू। आज प्रेस मिट हुँदैछ, अनिवार्य रुपमा प्रेस मिटमा उपस्थित हुनू।’
‘सिंगो पार्टीपंक्ति सभापतिको पक्षमा छ भनेर आजको प्रेस मिटमा देखाउनुपर्छ,’ रास्वपाका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘महामन्त्रीकै फोन आएपछि नाइँ भन्न मिलेन, पत्रकार सम्मेलनमा गइयो।’
अनि हौसिए रवि
सभापति लामिछानेले आफ्नो नाममा रहेको ग्यालेक्सी टेलिभिजनको १५ प्रतिशत सेयर फिर्ता गर्दा उनको खातामा १ करोड ८० लाख रूपैयाँ जम्मा भएको विवरण सार्वजनिक भएपछि उनी बिहान १० नबज्दै ग्लोबल आईएमई बैंक पुगे।
बैंकले उनको नाममा रकम जम्मा नभएको बतायो। अनि त्यहीँबाट महामन्त्रीलाई फोन गरेर पत्रकार सम्मेलन राख्न र सबै पार्टीका नेता उपस्थित गराउन निर्देशन दिए।
सभापतिको निर्देशनअनुसार महामन्त्रीले केन्द्रीय तहका उपलब्धमध्येका सबै नेतालाई फोन गरेर अनिवार्य उपस्थित हुन भने।
एक नेताका अनुसार, जीबी राई नेतृत्वका सहकारीहरुको रकम अपचलनका विवरणसँगै उनको नाम मुछिन थालेपछि केही दिनयता लामिछाने निराश र विचलितजस्तै देखिन्थे। यहीबीचमा उनका बैंक खाताका स्टेटमेन्टसमेत छापामा आए।
उनले आफूले त्यो रकम लिँदै नलिएको भन्दै पार्टी नेताहरुसँग मौखिक प्रस्टीकरण दिइरहेका थिए। त्यहीबीचमा अन्य नेताले बैंकमै गएर हेर्दा प्रस्ट हुने सुझाव दिए। नभन्दै लामिछाने बैंकमा गए। बैंकले केहीबेर उनको खातामा रकम जम्मा भएको तर तुरुन्तै फिर्ता गएको व्यहोराको पत्र लेखिदियो। यो पत्र पाएर उनी निकै हौसिएका थिए।
केही नेतासँग छलफल
अनि लामिछानेले पत्रकार सम्मेलन राख्नुअघि केही नेतासँग छलफल गरे। जुन बैठकले निष्कर्ष निकाल्यो, रविका पक्षमा पार्टीका सबै नेता उभिने।
अपरान्हको झण्डै पाँच बज्नै लाग्दा पत्रकार सम्मेलन सुरु भयो।
लामिछानेसहित उपसभापति डा. स्वर्णिम वाग्ले, पूर्वबैंकर अनिल केशरी शाह, सांसद सुमना श्रेष्ठ अघिल्लो लहरमा बसे भने पछाडि भागमा महामन्त्री डा. मुकुल ढकाल, सहमहामन्त्री विपिनकुमार आचार्य, सहकोषाध्यक्ष दीपक बोहरालगायत नेता बसे। केही सांसद तथा पदाधिकारी त्यहीँ वरिपरि बसे।
किन उत्रियो पार्टी?
सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाएअनुसार, पार्टीमाथि नै प्रहार भएकाले प्रस्ट पार्नुपर्ने निष्कर्ष निकालेर पत्रकार सम्मेलन गरिएको हो।
सुरुमा सामाजिक सञ्जालबाट मात्र वास्तविकता सार्वजनिक गर्ने प्रयास गरेको तर व्यक्तिभन्दा पनि पार्टी नै मुछेर बदनाम गर्न खोजेपछि जनतालाई सत्य जानकारी दिनुपर्ने निर्णयमा पुगेको उनले दाबी गरे।
‘यो मुद्दा सभापति रवि लामिछानेलाई लगाएको होइन, पार्टीको छवि धमिल्याउन गरिएको हो,’ छलफलको निष्कर्ष सुनाउँदै बुर्लाकोटीले भने, ‘त्यही भएर यो पार्टीपक्षीय मुद्दा हो र यसलाई प्रस्ट पार्नैपर्छ।’
ग्यालेक्सी टेलिभिजनमा छँदाका उनका व्यावसायिक साझेदार जीबी राई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा चलेका कारण फरार छन्। उनी जोडिएका अन्य सहकारी पनि छानबिनमा छन्।
ती सहकारीको केही रकम टेलिभिजनमा लगानी गरेर डुबाएको र त्यसमा रविको समेत मिलेमतो देखिएको निक्षेपकर्ताहरुको आरोप छ।
तर, रास्वपा भने संस्थागतरुपमै त्यसको प्रतिवाद गर्न उत्रिएको छ।
‘बैंकको क्लियरेन्स आएपछि हाम्रो निष्कर्षलाई सघाउ पु¥यायो, त्यसमा रविजीले गलत गरेको कहीँ देखिएन,’ बुर्लाकोटीले थपे।
Shares
प्रतिक्रिया