ad ad

राजनीति


उपसभामुखका लागि दौडधूप गरिरहेका राजपा नेता, सरकारमा जानेबारे किन भए विभाजित?

उपसभामुखका लागि दौडधूप गरिरहेका राजपा नेता, सरकारमा जानेबारे किन भए विभाजित?

सागर न्यौपाने
माघ २४, २०७६ शुक्रबार १४:१२,

रिक्त उपसभामुख पद आफ्नो पक्षमा पार्न दौडधूप गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु सरकारमा जाने विषयमा भने विभाजित भएका छन्।

राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले रिक्त पदमा आफ्नो पार्टीका नेतालाई उपसभामुख बनाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिरहेका बेला सरकारमा सहभागी हुने विषयमा भने राजपा नेताहरु दुई धार बनेको हो।

माघ ९ गते भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा सत्तारुढ नेकपासँग चुनावी गठबन्धन सफल रुपमा कार्यान्वयन गरेपछि राजपा सरकारमा जाने अपेक्षा गरिएको थियो। तर राजपामा पार्टीभित्रै नेताहरुबीच कुरा नमिल्दा सरकारमा जाने विषय हाललाई रोकिएको राजपाका एक नेताले नेपालखबरलाई जानकारी दिए।

अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादव, सदस्यहरु महन्थ ठाकुर र राजेन्द्र महतो राजपाले उठाएको माग सम्बोधन नभई सरकारमा जान नहुने पक्षमा उभिएका छन् भने, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सरकारमा जानुपर्नेमा छन्।

राजपाका बरिष्ठ नेता तथा राष्ट्रियसभामा साे दलका नेता वृषेशचन्द्र लालले सरकारमा सहभागी हुने विषयमा अध्यक्षमण्डलकै सदस्यहरु विभाजित भएको बताए।

राष्ट्रियसभाको निर्वाचनपछि प्रदेश २ मा समाजवादी पार्टीसँग संयुक्तरुपमा सरकार चलाईरहेको राजपालाई नेकपाले केन्द्र सरकारमा पनि सहभागी हुन आग्रह गरेको थियो।

तर, चुनावपछि औपचारिक रुपमा सरकारमा सहभागिताका विषयमा कुरा नभएपछि राजपाका अध्यक्षमण्डलका सदस्य ठाकुरले उपसभामुख लिने बारेमा मात्र ओली–प्रचण्डसँग छलफल गरेका हुन्। मंगलबार विहान प्रचण्डसँग भेट गरेका ठाकुरले बुधबार विहान प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग बालुवाटार पुगेर भेट गरे।

भेटमा सरकारमा सहभागिताको विषय, उपसभामुखबारे छलफल भएपनि अन्य केही कुरा नभएको ठाकुरको भनाई उदृत गर्दै उनी निकट एक नेताले बताए।

राजपाले सत्तारुढ नेकपालाई राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्षदेखि सभामुखसम्म सहयोग गरेकाले उपसभामुखमा आफ्नो दाबी रहेको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए।

ठाकुर र महतोले उपसभामुखको लागि नेकपाका नेतृत्वसँग भेटवार्ता तीव्र पारिरहेका बेला अध्यक्षमण्डलकै अन्य सदस्यहरु भने सरकारमा सहभागी हुन चाहिरहेको लालले नेपालखबरलाई बताए

‘केही साथीहरु सरकारमा सहभागी भएर आफ्ना माग सम्बोधन गराउनुपर्ने पक्षमा देखिनुभएको छ। अध्यक्षमण्डलका संयोजक र अन्य दुई सदस्य समाजवादीसँग एकता प्रक्रिया अघि बढाइरहनुभएको छ। सरकारमा जाने विषयमा राजपामा दुईधार देखिएको छ,’ उनले नेपालखबरसँग भने।

किन माेडिए महतो?
स्रोतका अनुसार सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेका राजपाका अध्यक्षमण्डलका सदस्य महतो तत्काल सरकारमा सहभागिताको विषयबाट पछि हटेका छन्।

सत्तारुढ नेकपासँग पुस २ गते राष्ट्रियसभाको रिक्त पदका लागि प्रदेश २ मा चुनावी गठबन्धन गर्दा प्रमुख भूमिका खेलेका महतो नाटकीय ढंगले परिवर्तन भएर सरकारमा नगई समाजवादी पार्टीसँग एकता गर्नुपर्ने पक्षमा उभिएपछि अध्यक्षमण्डलकै सदस्यहरुमा विभाजन देखिएको हो।

राजपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई, राजपाका नेताहरुमाथि लगाइएको झुटा मुद्दा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरे मात्र सरकारमा सहभागी हुने बताउन थालेको छ।

भण्डारी, झा र यादव सरकारमा सहभागी भएरै सो माग सम्बोधनमा दबाब दिन सकिने भएकाले सरकारमा जानुपर्ने पक्षमा देखिए।

‘प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध र सम्पर्कमा रहेका महतोले पनि सरकारमा सहभागी हुने संकेत गरेका थिए तर, केहि समययता उनी सरकारमा सहभागिताको विषय छोडेर समाजवादीसँग एकता गर्ने अभियान तर्फ लागिपर्नुभएको छ’, महतो निकट राजपाका एक केन्द्रीय नेताले नेपालखबरसँग भने।

तर, महन्थ ठाकुर निकट एक वरिष्ठ नेताले भने सरकारमा सहभागी नभएर समाजवादीसँग एकता थाल्ने भन्ने महतोको रणनीतिक चाल मात्रै भएको दाबी गरे।

‘उहाँको भित्रि चाहना सरकारमा जानुपर्छ भन्ने नै हो तर, बाहिर भने सरकारमा नगई समाजवादीसँग पार्टी एकता गर्ने भन्दै छलफल चलाउनुभएको छ,’ ती नेताले भने।

ठाकुर निकट नेता लालले पनि समाजवादीसँग एकताको विषयमा राम्रोसँग छलफल नै नभएको दाबी गरे।

‘समाजवादीसँग अनौपचारिक कुराकानी भएको हो। गम्भीर ढंगले वार्ता भएकै छैन’, उनले नेपालखबरसँग भने। ‘फेरि राजपाले भन्नेवित्तिकै समाजवादीले मान्ने पनि त होइन, राजपा अझै पनि एउटै पार्टीको रुपमा संगठित नभइसकेको कुरा समाजवादीले पनि हेरिरहेको छ।’

महतो निकट अर्का एक नेताका अनुसार प्रधानमन्त्री ओलीले संविधान संशोधन नगर्ने संकेत पाएपछि महतो सरकारमा सहभागिताको विषय छोडेर समाजवादीसँग एकता गर्नेतर्फ मोडिएका हुन्।

समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र महतोबीच अघिल्लो हप्ता दुईपटक भेट गरी यसबारे कुराकानी भइसकेको छ। केहि दिनयता समाजवादी र राजपाका नेताहरुको टेलिफोन संवाद समेत दैनिकजसो हुने गरेको राजपाका महासचिव केशव झाले बताए। 

'प्रदेशको सरकार पनि फेरौं, केन्द्र सरकारमा आउनुस्'
राष्ट्रियसभाको चुनावअघि केन्द्रमा २ वटा मन्त्रालयको नेतृत्व गर्न राजपालाई प्रधानमन्त्री ओलीले प्रस्ताव पठाएका थिए। प्रदेश २ मा समेत सरकार परिवर्तन गरेर जाने र राजपाकै तर्फबाट मुख्यमन्त्री बनाउने प्रस्ताव पनि आएको राजेन्द्र महतो निकट एक केन्द्रीय नेताले दाबी गरे।

‘चुनावअघि सरकारमा आउनुस्, केन्द्रमा २ वटा मन्त्रालय लिनुस्, प्रदेश सरकार पनि फेरौं, तपाईहरु मुख्यमन्त्रीसहित ३ मन्त्री लिनुस् भन्ने प्रस्ताव आयो,’ महतो निकट ती नेताले नेपालखबरसँग भने। तर, चुनावपछि त्यसबारेमा कुराकानी अघि नबढाएपछि अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादव र महतो दुवै असन्तुष्ट भएका छन्।

सरकारमा सहभागिताको सर्त
राजपाकी सांसद चन्दा चौधरीले सरकारमा सहभागिताको विषयमा पार्टीभित्र कुनै छलफल नभएको जिकिर गरिन।

‘अध्यक्षमण्डलका संयोजक उपसभामुख त राजपालाई चाहिदैन भन्दै हिड्नुभएको छ भने अहिले सरकारमा सहभागिताको कुरै आउदैन,’ उनले भनिन।

तर, महासचिव केशव झा भने सरकारले राजपाका माग सम्बोधन गर्ने प्रक्रिया अघि बढाए तत्काल सरकारमा जान संभावना बलियो रहेको तर्क गर्छन। उनले भने, ‘सरकारले राजपाले उठाएको माग सम्बोधन गर्छ भन्ने विश्वास गर्ने आधार बनायो भने सरकारमा जाने अवस्था बन्छ।’

अहिलेससम्म त्यो वातावरण नबनेको भन्दै उनले सरकारमा सहभागिताको विषयभन्दा समाजवादीसँगको एकतालाई राजपाका प्रभावशाली नेताहरुले प्राथमिकता दिन थालेको झाले बताए।

‘राजपामा पछिल्ला दिन समाजवादीसँगको एकताको पक्षधर मत बलियो बन्दै गएको छ,’ उनले भने।

राजपालाई नै उपसभामुख
शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि माघ ६ गतेदेखि उपसभामुख पद रिक्त छ। संबैधानिक प्रावधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न पाउँदैनन्।

उपसभामुखमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि दाबी गरेको छ।  तर, राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेकपासँग गठबन्धन गरेका कारण राजपाले पनि उपसभामुख आफूले पाउनुपर्ने बताएको छ। सत्तारुढ दल नेकपाले उपसभामुखका लागि कांग्रेसभन्दा राजपा नै राेज्ने संभावना बलियाे छ।

राजपाबाट चन्दा चौधरी र अमृतादेवी अग्रहरि मध्य एकलाई उपसभामुख बनाउने तयारी छ। चौधरी ठाकुर निकट हुन भने अग्रहरि महतोसँग निकट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .