नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, नेता गणेश विके र सावित्री भुसाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ।
क्लस्टर मिलेसम्म चारैजनालाई अगाडि सार्ने सो पार्टी एक पदाधिकारीले जानकारी दिए। यसबारे निर्णय गर्न बिहीबार एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ।
सो पार्टीका दुई सांसदको पदावधि सकिँदैछ। गठबन्धनसँग थप दुई सिट माग्ने तयारीमा एकीकृत समाजवादी छ।
‘पहिला त क्लस्टर मिल्नुप¥यो, यदि मिल्यो र गठबन्धनभित्र भागबण्डामा सहमति जुट्यो भने हाम्रो पार्टीले चार नेतालाई यसपटक राष्ट्रिय सभामा पठाउनेबारे निर्णय गर्न सक्छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘दलितबाट गणेश विके, जनजाति क्लस्टरबाट गंगालाल तुलाधर, अन्यबाट प्रमेश हमाल र घनेन्द्र बस्नेतमध्ये एक र महिलाबाट सावित्री भुसाल।’
फागुन २० बाट नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्र ३, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टी (जसपा) १ सांसद रिक्त हुँदैछन्। यस्तै एमालेका ८, स्वतन्त्र १ र सरकारले मनोनित गर्ने १ सिट पनि रिक्त हुँदैछ।
रिक्त पदपूर्तिको लागि माघ ११ गते चुनाव गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ। गठबन्धनका चार दलले रिक्त हुने ठाउँ सम्बन्धित दलले राखेर बाँकी भागबण्डा गर्ने सहमति गरिसकेका छन्।
त्यसआधारमा एमाले ८ र स्वतन्त्र एक सिटमा गठबन्धनले भागबण्डा गर्नेछन्।
एकीकृत समाजवादीबाट राष्ट्रिय सभामा रहेका नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा ६ वर्षे पदावधि पूरा गरेर विदा हुँदैछन्। चपाईं कर्णाली प्रदेशबाट र विश्वकर्मा बागमती प्रदेशबाट २०७४ मा निर्वाचित भएका थिए।
त्यसआधारमा समाजवादीले कर्णाली र बागमती प्रदेशबाट एक–एक सांसद बनाउन पाउनेछ। तर, यसमा एउटामा महिला र अर्काेमा दलित क्लस्टर हुनुपर्नेछ।
समाजवादीले अघि सार्न खोजेकामध्ये तुलाधर जनजाति समूह, भूसाल महिला, हमाल अन्य र विके दलित समूहका हुन्।
निर्वाचन आयोगका अनुसार बागमती प्रदेशबाट मात्र ४ सदस्यको पदावधि फागुन २० गते सकिँदैछ। यस प्रदेशमा एकीकृत समाजवादीले दलित क्लस्टरबाट एकजना स्वतः पाउँछ।
‘शीर्ष तहमा नेताबीच लगातार छलफल भएपनि समाजवादीको भागमा कति संख्या पर्छ निश्चित भइसकेको छैन,’ एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘क्लस्टर तय भएपछि को पठाउने तय हुन्छ।’
तर, अर्का पदाधिकारीले केही नेताहरुलाई संसदमा पठाउने पक्षमा अध्यक्ष माधवकुमार नेपाल रहेको बताए।
‘क्लस्टर नै मिलेन भने बेग्लै हो, नभए उहाँहरुको नाममा विरोध होला जस्तो लाग्दैन,’ ती नेताले थपे।
स्वतन्त्रबाट जितेको एक सिट समाजवादीले पाउने अपेक्षा गरेको छ। त्यसो गर्दा अपेक्षा गरेका नेतालाई व्यवस्थापन गर्न सकिने योजनामा अध्यक्ष माधवकुमार नेपाल लागेका छन्।
तर, यसपटक नयाँलाई अवसर दिनुपर्छ भन्ने आवाज पार्टीभित्र उठ्ने सम्भावना छ।
पुराना नेतालाई लाभको पदमा पठाउँदा पार्टी कमजोर हुन थालेको, चलायमान नगराएको गुनासो गर्न थालेका छन्। त्यही भएर समाजवादीको भागमा पर्ने सिट संख्या बढाउन अध्यक्ष नेपालले लबिइङ गरेका छन्।
कुन प्रदेशमा कति रिक्त?
बागमती प्रदेशमा दलित १, महिला १, अल्पसंख्यक र अन्य क्लस्टरबाट एक–एक जना गठबन्धनले उठाउन सक्छ।
कोशीमा एक महिला र एक अन्य समूहगरी २ जना रिक्त हुँदैछन्। त्यसमध्ये बिना पोखरेल माओवादी केन्द्रकी हुन्।
यस्तै, अन्य समूहबाट निर्वाचित रमेशजंग रायमाझी नेपाली कांग्रेसका हुन्। यो प्रदेशमा माओवादी र कांग्रेसले स्वतः पाउने देखिन्छ। यद्यपि, उनीहरुले साटफेर गर्न भने सक्छन्।
मधेश प्रदेशमा जसपाकी प्रमिलाकुमारी साह र कांग्रेसका जितेन्द्र देवको पदावधि सकिँदैछ।
यो प्रदेशमा कांग्रेस र जसपाले स्वतः सिट पाएका छन्।
भागबण्डा हुने प्रदेश
कांग्रेसकै लुम्बिनी प्रदेशमा एक सिट रिक्त हुँदैछ। दाङकी अनिता देवकोटा ६ वर्ष बिताएर फर्कंदैछिन्।
लुम्बिनीमा रिक्त हुने अन्य समूहमा एमालेका खिमलाल भट्टराई छन्।
यहाँ गठबन्धनले बाँडफाँट गर्नेछ। गण्डकीमा प्रकाश पन्त रिक्त हुँदैछन्। उनी अन्य समूहबाट निर्वाचित भएका थिए। त्यो ठाउँमा कांग्रेसकै उम्मेवार बन्नेछन्।
यो प्रदेशको रिक्त हुने अल्पसंख्यक समूहकी दीपा गुरुङ र अन्य समूहका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको ६ वर्षे पदावधि सकिँदैछ। यस प्रदेशमा पनि गठबन्धनले भागबण्डा गर्नेछन्।
कर्णाली प्रदेशमा दलित, महिला र अन्यगरी तीन सिट रिक्त हुँदैछ। महिला समूहबाट एकीकृत समाजवादीले उम्मेदवार उठाउनेछ।
कर्णालीमा दलित कोटाबाट एमालेका निर्वाचित नरपति लुवार र अन्य समूहबाट निर्वाचित भैरवसुन्दर श्रेष्ठ विदा भएपछि यी दुई पदमा गठबन्धनले भागबण्डा गर्नेछ।
यस्तै, सुदूरपश्चिममा माओवादीका हरिराम चौधरीको पदावधि सकिने भएकोले त्यो ठाउँमा माओवादीकै अर्कै उम्मेदवार बन्नेछन्।
यस्तै, सुदुरपश्चिमबाटै अल्पसंख्यक समूहबाट माओवादीका महेशकुमार महराको पनि पदावधि सकिने भएकोले यो दुई ठाउँमा भागबण्डा हुने छैन।
तर, एमालेकी महिला समूहबाट निर्वाचित इन्दु कडरियाको पदावधि सकिने भएकोले गठबन्धनले यहाँ बाँडफाँट गर्ने निर्णय गरिसकेको छ। बाँकी खिमलाल देवकोटाले जितेको स्वतन्त्र एक ठाउँमा गठबन्धनले भागबण्डा गर्दैछन्।
Shares
प्रतिक्रिया