जाजरकोट–रुकुम भूकम्प गएको केही घण्टामै उद्धारको काम गरेको भनेर स्थानीय सरकारहरुले प्रशंसा पाए। कात्तिक १७ गते बेलुका ११:४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले १५३ जनाको मृत्यु भएको छ भने सात हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पनि १२ जनाले ज्यान गुमाएका छन्। ११ वटा वडा रहेको सो पालिका जिल्लाको बढी प्रभावित क्षेत्रमा पर्छ। पालिका अध्यक्ष विर्खबहादुर विष्टले केही संरचनात्मक अल्झनले अझै राहतको कामलाई प्रभावित समक्ष पुर्याउन नसकेको बताए। उनको गाउँपालिकामा कस्तो स्थिति छ त? अध्यक्ष विष्ट भन्छन् :
भूकम्प गएदेखि सुरक्षित रहन आग्रह गर्दै हामी उद्धारमा खटियौँ। त्यसमा वडाअध्यक्षहरु, यहाँका जनताले साथ दिनुभयो।
राति भएकोले खासै गर्न नसके पनि हामीसँग भएका स्रोत र साधनबाट सुरक्षित रहन आग्रह गर्यौँ।
बिहान झिसमिसेमै उद्धारमा जुट्यौँ। एकैदिनमा भत्केका भग्नावशेषबाट उद्धार गर्न सफल भयौं। हामीले दोस्रो चरणमा राहत वितरण थालेका छौँ। तर, यो भने उद्धारजस्तो छिटो गर्न सकिएको छैन। कतिपय प्रक्रियागत अल्झन देखियो। कतिपय हामीसँग स्रोत र साधनकै अभाव भयो।
अहिले यहाँको मुख्य समस्या भनेको त्रिपाल र कम्बल हो। किनभने यहाँ चिसो निकै बढेको छ। बेलुका टिक्न गाह्रो हुन्छ। पालिकाको तर्फबाट केही त्रिपाल, कम्बल वितरण गरे पनि प्रभावित बढी भएकाले पुगेको छैन, त्यसमाथि हाम्रा वडाका कतिपय बस्ती विकट ठाउँमा छन्।
त्यहाँ घर पूरै भग्नावशेष भएकाले जनतालाई त्रिपालमा तातो बनाएर राख्नुपर्छ। पालिकाले हिजोसम्म ७ सय त्रिपाल वितरण गर्यो। आज मात्र संघीय सरकारबाट १ हजार थान त्रिपाल र केही कम्बल प्राप्त भयो।
तर, यसले सबै प्रभावितलाई पुग्दैन। हाम्रो पालिकामा नै पर्याप्त त्रिपाल र कम्बल पुगेको छैन। किनभने, हामीलाई चार हजारदेखि ४५ सय त्रिपाल र कम्बल आवश्यक छ। तर, पालिकासँग छैन। हाम्रो एरियामा छँदैछैन। यसको व्यवस्थापन गरेर वितरण गर्न अझै तीन दिन लाग्छ होला।
यहाँका सबैभन्दा विकट ठाउँमा प्रभावित बढी छन्। पालिकाबाट वडाअध्यक्षलाई परिचालन गरेर त्रिपाल र राहत वितरणलाई तीव्रता दिएका छौँ। घर नभत्केकाहरु पनि त्रिपाल माग्न आउँछन्।
त्रिपाल किन्न नसकिने रहेछ, यहाँ त्यत्रो संख्यामा त्रिपाल उत्पादन हुँदैन। अन्य ठाउँ, छिमेकी राष्ट्रबाट ल्याउन पर्छ। भूकम्पबाट प्रभावित यो दोस्रो पालिका हो। ५ हजार २ सय ९५ घरधुरी रहेको यस पालिकामा ११ वडामध्ये १, २, ३, ४, ११ बढी क्षति भएको छ।
३ हजार १४६ घर पुनर्निर्माण गर्नुपर्नेछ। गाउँपालिका ठिम खटिएको छ। दिनरात नभनी लागेको छ। हामीलाई चिसोबाट जोगिन पहिला त्रिपाल, कम्बल अनि खाद्यान्न आवश्यक छ।
भूकम्प गएको दुई दिन बित्दा पनि राहत नपुर्याएको गुनासो आइसक्यो। हामी कुदेका छौँ। फेरि पनि ठाउँमा पुगिसकेको छैन।
मेरै घरमा पनि त्रिपाल छैन, मेरो घर बस्न नमिल्ने भएको छ, घरभित्र जाने कुरा भएन। तर, मैसँग त्रिपाल छैन, पहिला प्रभावित जनतालाई दिउँ भनेर खटिएको छु। अझै पुर्याउन सकिएको छैन।
केन्द्रले पठाएको केही राहत हिजो दिउँसो २ बजेतिर मात्र प्राप्त भयो। त्यो निकै थोरै भयो। यहाँ एक ट्रक, दुई ट्रकले पुग्ने स्थिति छैन। घरधुरी र परिवार अनुसार वितरण गर्दा पनि अपुग हुने नै भयो।
अझै तीन दिन लाग्छ त्रिपाल पुर्याउन। किनभने एक त त्यत्रो परिमाणको त्रिपाल र कम्बल हामीले पाइसकेका छैनौँ। यताउता हारगुहार गरेर जुटाइरहेका छौँ। पालिका आफैले ७ सय त्रिपाल खरिद गरेको आउन २ दिन लाग्यो।
राहत वितरण ढिलाइ हुनुको कारण संरचना र प्रक्रियागत समस्याले हो। एक त भूकम्पको पूर्व तयारी गर्न सकिएन। गर्ने योजना कहिल्यै बनेन। जबकि, भूकम्प नेपालमा पटकपटक गइरहेको छ। २०७२ को महाविनासकारी भूकम्पबाट पनि चेतेनौँ।
यही क्षेत्रमा पनि भूकम्प जान्छ भनेर भनिरहेका थिए तर, यहीँ हामीले भूकम्प आउँदा पनि जनता जोगाउन सकेनौँ। भूकम्प गइसकेपछि, जनधनको क्षति भएपछि तातेर काम गर्न सक्ने कुरै भएन।
फेरि हामी जति काम गरेपनि देख्दैनौं, कसरी काम भइरहेको छ, बुझ्दैनौं। यहाँ हामीसँगका स्रोत र साधन अनुसार काम गर्नुपर्छ। यो कुरा कसलाई भन्ने!
तत्काल सामान किनौँ, संरचनागत समस्या पनि छ।
हाम्रो पालिकामा चामल थोरैले दिएका छन्। बाहिर सबैले दिएको हल्ला गरिरहेका छन्। पालिकाले प्राप्त गरेको चामल, खाद्यान्न धेरै छैन। संकटको बेला सबैतिर एकैपटक चाहिएको हुन्छ, त्यसबेला सबैलाई पुर्याउन धेरै चाहिन्छ। संरचनागत समस्याले तत्काल काम गर्न सकिने रहेनछ। खुट्टा हिँड्छ तर, ठाउँमा पुग्दैन।
अर्काे, खरिद प्रक्रिया झन् झञ्झटिलो छ। यसकै कारण कर्मचारी कुनै पनि निर्णय तुरुन्त गर्न मान्दैनन्। कहाँ के पर्ला? भोलि समस्या झेल्नुपर्ला भनेर हरेक कुरामा प्रक्रिया पूरा गर्न खोज्छन्। प्रक्रिया मिलाउन अफिस टाइमबाहेक अरुबेला गर्नु भएन। कहाँ कहाँबाट निर्णय गराउनुपर्ने हो। निर्णय गर्दाखेरी पूरा गर्नुपर्ने विधि फेरि झन् समयलाग्ने खालको छ।
जति हतारमा हामीले भूकम्पमा परेकाको उद्धार गर्न सफल भयौं, त्यही गतिमा राहत वितरण गर्न नसक्नुको कारण यही हो।
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, मुख्यमन्त्रीहरु यहाँ आउनुभयो, अवलोकन गर्नुभयो, राहत केही लिएर आउनुभयो र उहाँहरुले छिटो गर्न निर्देशन दिनुभयो। नीतिगत कुरा गर्नुभयो। तर, मुख्य गाँठी कुरा प्रक्रियामा जाँदा ढिलाइ नहुनेगरी विधि फुकाइदिनुभएको छैन। अर्थात् कर्मचारीले एउटाबाट अर्काे, अर्काेबाट अर्काे तहले निर्णय गर्नुपर्ने, यो ठाउँ, ऊ ठाउँबाट निर्णय गर्नुपर्ने, अनुमति लिनुपर्ने यो प्रक्रियाले कुनै पनि प्राकृतिक विपत्तिमा छिटो काम गर्नै सकिँदैन। कर्मचारी त्यसरी मोबिलाइज गर्नै सकिँदैन भन्ने देखियो।
हामी प्रक्रियामा जाँदा तीन दिन भयो, प्रभावितलाई पुर्याउन पर्ने अति आवश्यक कुरा पुर्याउन सकेको छैन।
तर, दिनरात नभनी हामीले पीडितलाई छिटो राहत (खाद्यान्न र अन्य) पुर्याउने विधि बनाएका छौँ। सकेजति वितरण गरिरहेका छौँ।
यहाँ तत्काल त्रिपाल चाहिएको छ, ठूला व्यापारी, स्टोर, सप्लायर्स कोहीसँग पनि त्यति ठूलो परिमाणमा त्रिपाल छैन।
यो पालिकामा १२ जनाको मृत्यु भएको छ। हामी जनताप्रति उत्तरदायी छौँ, आज फेरि भूकम्प गयो, यसले केही त्रसित बनाए पनि म यहाँका जनतालाई त्रसित नहुन आग्रह गर्छु, मलाई अब दुई दिन दिनुस्, सबै प्रभावितलाई खाद्यान्न त्रिपाल, कम्मल पुर्याउँछु।
भूकम्पले सबैलाई असर गरेको छ। घर भग्नावशेष भएको छ। बस्ने, खाने टुंगो छैन। तर, पनि संघीय सरकार र हामी स्थानीय तह जनताका लागि मरिमेटेर लागेका छौँ।
Shares
प्रतिक्रिया