नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका उम्मेदवार कैलाश ढुङ्गेलले नाटकीय रुपमा आफ्नो प्यानलको नाम फेरेको पाइएको छ।
शुक्रबार सवा १ बजेपछि सुरु मतदानका बेला ढुङ्गेल प्यानलमा दावादोर्जे लामा उपाध्यक्ष रहेको पर्चा वितरण गरिएको थियो।
उक्त पर्चा अनुसार सचिवमा हस्तबहादुर पण्डित, उपसचिवमा प्रमबहादुर महर्जन र महिला उपसचिवमा रिता गौतम थिए।
यस्तै प्रदेश खुलामा अशोक चौलागाईँ, तुलबहादुर कँडेल, निरेसलाल सिंह महर्जन, शंम्भु सुवेदी, शुभराज पोखरेल छन्।
तर, पौने ३ बजे सबै मतदाता र प्रतिनिधिलाई पठाइएको पाँचजना पदाधिकारीको नाममा भने कैलाशको प्यानलमा उपाध्यक्ष हेरफेर भएको देखिन्छ।
नेपालखबरले प्राप्त गरेको एसएमएस अनुसार कैलाशको प्यानलबाट उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेललाई मत दिन अनुरोध गरिएको छ।
बागमती प्रदेश कमिटीको नेतृत्व छान्न अहिले पनि मतदान जारी छ। यो समाचार तयार पार्दासम्म झण्डै ७ सय मत खसिसकेको निर्वाचन कमिटीले जानकारी दिएको छ।
चुनाव नगरी नेतृत्व छान्ने अध्यक्ष केपी शर्मा ओलीको योजना विफल भएपछि उद्घाटन सुरु भएको एकहप्तापछि एमाले बागमती प्रदेश कमिटीको चुनाव भएको हो।
अध्यक्ष ओलीले चुनाव रोक्न नसकेपछि प्यानल बनाउन निषेध गरेका थिए।
उनले व्यक्तिगत चुनाव लड्न पाएपनि प्यानल बनाए उम्मेदवारी खारेज गर्ने चेतावनी दिएपनि ढुङ्गेलले पालना गरेका छैनन्।
उनले पर्चा नै बनाएर आफ्ना प्यानलका नाम मतदातालाई वितरण गरेका हुन्।
पर्चाले मात्र नपुग्ने देखेर एसएमएस गरेका ढुङ्गेलले उपाध्यक्षको नाम फेरेको देखिन्छ।
बागमती प्रदेशको नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र ढुङ्गेलबीच प्रतिस्पर्धा छ।
Shares
प्रतिक्रिया