नेताहरुको जिम्मेवारी बाँडफाँटपछि नेकपा एकीकृत समाजवादी पार्टीभित्र तीव्र विवाद चुलिएको छ। सो निर्णय फिर्ता नगरे गम्भीर संकट आउने चेतावनी नेताहरुले दिएका छन्।
भदौ ५–७ गतेसम्म बसेको केन्द्रीय समितिको निर्णय अनुसार भदौ २८ गते अन्तरपार्टी निर्देशन जारी गर्दै एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा व्यापक फेरबदल गरेको थियो।
सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, सचिव राजेन्द्र राई, रामकुमारी झाँक्री लगायत ५० नेता हाल फेरबदल गरिएको जिम्मेवारी हेरफेरप्रति असन्तुष्ट छन्। सो दलको ३ सय केन्द्रीय सदस्य र १८ जना पदाधिकारी छन्।
राई, पौडेल, झाँक्री माधव नेपालको विश्वासपात्र भएर लामो समयदेखि काम गरेका नेता हुन्।
नयाँ कार्यविभाजन र कार्यक्षेत्र परिवर्तनले नेताहरुलाई बिच्काएको भन्दै निर्णय फिर्ता लिन असन्तुष्ट नेताहरुले ध्यानाकर्षण गराएका छन्। निर्णय पुनर्विचार नभए नेताहरु विकल्पतिर लाग्ने सचिव राईले बताए।
‘यसअघि महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतालाई नदिएर आइडिया र अनुभव नभएका नयाँ साथीलाई जिम्मेवारी दिँदा सांगठनिक परिपक्कता देखिएन,’ राईले नेपालखबरसँग भने, ‘आफ्ना अगाडि परेका, देखिएका, सधैँ नेतृत्वको वरिपरि घुम्ने/धाउनेलाई अवसर दिने निर्णय त्रुटिपूर्ण छ। यसमा नेतृत्वको अज्ञानता देखिएको छ, कतिपय गुटबन्दीको सोचाइबाट आफ्ना नजिक रहेका साथीभाइलाई जिम्मेवारी दिएपछि साथीहरुमा निराशा छाएको छ, कतिले यही कारण पार्टी छाड्ने खतरा देखिन्छ।’
केही महिनाअघि उपाध्यक्ष मुकुन्द न्यौपाने लगायतका नेताहरु एमाले प्रवेश गरेका थिए। पछिल्ला निर्णयले काम गर्ने नेतालाई निरुत्साहित बनाएको उनको भनाइ छ।
‘नेताहरुको जिम्मेवारी फेरबदल सच्चिएन भने एकीकृत समाजवादीमा एकपटक ठूलो संकट आउने खतरा देखिन्छ,’ राईले थपे, ‘यो कुरा नेतृत्वलाई जानकारी दिइसकेका छौँ।’
सम्मानित नेता झलनाथ खनालले असन्तुष्ट पक्षका नेताहरुको नेतृत्व लिने प्रयास जारी राखेका छन्।
‘अस्ति पार्टीको जनसंगठन अनेमसंघको तिज कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले पार्टीभित्र जिम्मेवारी बाँडफाँट ‘संगठनभित्रको कोतपर्व हो भन्नुभएको छ,’ एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने।
पार्टीभित्र सहइन्चार्ज बनाए पनि जिम्मेवारी नदिएका नेताहरु ५० जनाजति छन्। कोही नेतालाई तेहोरो जिम्मेवारी दिइएको उनले बताए।
‘कार्यविभाजनले उपमहासचिव विजय पौडेल असन्तुष्ट मात्र होइन, पार्टी यसरी चल्दैन डिजास्टर हुन्छ भन्नुहुन्छ,’ ती नेताले थपे।
बुझाइ आ–आफ्ना
जिम्मेवारी फेरबदलका विषयमा सो पार्टीभित्र अनेक अड्कल र आशंका चलिरहेको छ। माधव नेपालको विश्वासपात्र भए पनि सडकमा निस्केर एमसीसीको विरोध गरेकैले पौडेल र जगन्नाथ खतिवडालाई कुना पारिएको कतिपयको भनाइ छ।
पदाधिकारी तहका प्रमेश हमाल, बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरु कार्यविभाजनप्रति सन्तुष्ट छन्। घनश्याम भुसालले आफन्त नन्द बञ्जाडे, गौतम राई, आदिलाई केन्द्रीय सदस्य बनाएर मिलाएको केही नेता टिप्पणी गर्छन्।
‘पदाधिकारीमा ५० प्रतिशतभन्दा बढी असन्तुष्ट छन्। तर, बोलेर विरोध जनाउन सकेका छैनन्,’ केन्द्रीय सदस्य अमृत तिमल्सिनाले भने, ‘नेताहरुको असन्तुष्टि समयमै सम्बोधन नगरे उनीहरु कि राजनीतिबाट पलायन हुन्छन् कि नयाँ विद्रोह गर्न सक्छन्।’
उपमहासचिव समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यविभाजनमा केही नमिलेको स्वीकार गरे।
‘टेक्निकल रुपमा केही नमिलेको पक्कै हो,’ ज्वालाले नेपालखबरसँग भने, ‘भोलि (असोज ३) सचिवालय बैठक छ, अलिअलि नमिलेको कुरा मिलाउँछ।’
सचिव राजेन्द्र राईले पार्टी दुरदर्शी निर्णय गर्न चुकेको बताए।
‘अहिले हरेक निर्णय गर्दा सोचविचार गर्नुपर्छ, त्यसको प्रभाव र असर हेर्नुपर्छ तर, त्यसो भएन,’ उनले भने।
वैचारिक लाइन प्रष्ट पार्न केन्द्रीय सदस्यको ताकेता
केन्द्रीय समिति बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले पार्टी लाइन के हो प्रष्ट पार्न नेतृत्वको ध्यानाकर्षण गराए।
एकीकृत समाजवादीले अहिले गरेको पार्टी सञ्चालन अभ्यास एमालेकै नक्कल भएको उनीहरुको भनाइ छ।
‘दुरुस्त एमालेजस्तै अर्काे पार्टी किन चाहिन्छ? कमा, फुलस्टप नगरी त्यही जबज नै बोक्ने, महाधिवेशनप्रति मात्र जवाफदेही हुने नेतृत्वको संगठन बोकेरै जाने हो?’ सचिव राईले भने, ‘सांगठनिक प्रणाली यही हुने, अनि राजनीतिक कार्यक्रम एमाले जस्तै लिएर जाने नयाँ केही पनि ल्याउन नसक्ने हो भने दुई वटा चुला किन चाहियो? दुई वटा चुला जरुरी नै छैन भन्ने कुरा साथीहरुको छ।’
केन्द्रीय समिति बैठकमा बोलेका मध्ये जबज बोकेर जानु हुँदैन भन्नेको संख्या ७० प्रतिशतभन्दा बढी छ। जबकि पदाधिकारीका केही नेतासहित ५/७ जना अझै जबजका पक्षमा छन्।
सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम बनाएर लैजानुपर्ने बताएका छन्। तर, उनको भनाइमा संगति नभएको राई बताउँछन्।
‘जेएन कमरेडको भनाइ संगतियुक्त छैन, कहिले उहाँ जबजको आवश्यकताबारे बोल्नुहुन्छ, एमालेकै नेताहरुसँग पनि हिमचिम गर्नुहुन्छ,’ राईले भने, ‘फेरि कहिले नयाँ कार्यक्रम, विद्रोहको पुष्टि गर्नुपर्यो पनि भन्दै हिँड्नुहुन्छ।’
फेरि माथि बसेर एउटा सहमति गर्ने, कार्यकर्ताले गाली गरेपछि त्यही अनुसार बोल्ने उहाँको स्वभावले कन्फ्युजन गर्छ।’
खनालले केन्द्रीय सदस्यसँग पार्टीको कार्यक्रम नभएको बताएका छन्।
‘जबजको आवश्यकता छैन, मौलिक नयाँ समाजवादी कार्यक्रम बनाएर जनतामा जानुपर्यो,’ खनालले केन्द्रीय सदस्यसँग भने, ‘हाम्रो बाटो एमालेजस्तै हुने हो भने हुँदैन, एमालेभन्दा भिन्न ढंगले जाने बाटो बनाउनुपर्छ।’
एकीकृत समाजवादीको माघ दोस्रो साता महाधिवेशन तय भएको छ। महाधिवेशन नजिकिएसँगै पार्टीको लाइनबारे पनि बहस हुन थालेका छन्।
‘एमालेभन्दा फरक हौँ भन्ने देखिने बाटो तय गर्नु त पर्छ, भाइ एमाले भएर हुँदैन। यो नेताहरुलाई अड्याउने, कार्यकर्तालाई एमालेतिर लैजाने रणनीति हो,’ झलनाथ खनालले विश्लेषण सुनाए।
एकीकृत समाजवादीका केही नेताहरु एमालेसँग संवादमा छन्। तर, तत्काल एकताको आधार नबनेको सचिव राई ठोकुवा गर्छन्।
माओवादीसँग एकता रोक्न जबज
एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई अघि बढाएको दाबी गर्छ। एकीकृत समाजवादीमा पनि केही नेताहरु जबजको पक्षमा छन्।
एक नेताले बताएअनुसार माओवादीसँग एकता हुन नदिनकै लागि एकीकृत समाजवादीका केही नेताले जबजलाई बोकिरहेका छन्।
‘जबज नछोड्नुस् है, नत्र फेरि माधव नेपालले माओवादीसँग लगेर पार्टी एकता गराइदिन्छन् भन्दा रहेछन्,’ ती नेताले भने, ‘माओवादीसँग पार्टी एकता रोक्न हाम्रा नेता जबज बोक्न तयार भएर हिँडेका छन्। जबजको यथास्थितिवादी र अर्काे समाजवादी कार्यक्रम बनाएर जानुपर्छ भन्ने दुई धार पार्टीभित्र देखिएको छ।’
एमालेबाट विभाजन कि विद्रोह?
एकीकृत समाजवादी पार्टी एमालेबाट विभाजन भइ बनेको हो कि विद्रोह गरेर भन्नेमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालको एक मत छैन।
अध्यक्ष नेपाल एमाले विभाजन गरेको बताउँछन् भने खनाल एमालेमा विद्रोह गरेको तर्क गर्छन्। यो बहस निष्कर्षमा नपुग्दै एकीकृत समाजवादी महाधिवेशनमा होमिएको छ।
२०७८ भदौ ९ गते एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको हो।
‘माधव नेपालले एमालेकै संगठन शैली, नीति हु–बहु कपी पेस्ट गरेर नाम मात्रै फरक राख्नुभयो। अझ रोचक कुरा त पार्टी स्थापनाको दोस्रो दिवस मनाउँदैछौँ पार्टी महाधिवेशन दसौँ गर्ने भनेर पूरै नेकपा एमालेकै शैलीमा निर्णय भयो,’ अर्का नेताले व्यङ्ग्य गर्दै भने, ‘विद्रोह गरेर बनेको नयाँ पार्टी नयाँ नै हो भनेर जान किन नसकेको?’
केन्द्रीय समितिमा पेस गरेर पास नै नगरी नेपाल रिटर्नी एसोसियसन (समाजवादी) लाई जनसंगठनको मान्यता दिएकोमा पनि नेताहरु रुष्ट छन्।
केन्द्रीय समिति बैठकमा त्यसबारे कुनै एजेन्डा नै नभए पनि अध्यक्षले ठाडो निर्णय गरेको नेताहरु गुनासो गर्छन्।
Shares
प्रतिक्रिया