ad ad

राजनीति


बीपीको कूटनीतिबारे के भने विज्ञले?

कांग्रेसकै वक्ता डा. नारायण खड्काको प्रस्तुति भने फितलो
बीपीको कूटनीतिबारे के भने विज्ञले?

नेपालखबर
भदौ २५, २०८० सोमबार २२:२९, काठमाडौँ

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पछिल्लो प्रधानमन्त्रित्वकालमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी डा. नारायण खड्कालाई सुम्पे। पार्टीको विदेश विभागको जिम्मेवारी सम्हालिसकेका डा. खड्का नेपाली कांग्रेसभित्र अन्तर्राष्ट्रिय मामिलाका जानकार समेत मानिन्छन्। 

त्यसैले, सर्वाधिक महत्वपूर्णमध्येको एक परराष्ट्रमन्त्रीमा डा. खड्काको नियुक्तिलाई स्वाभाविक मानिएको थियो। 

तर, परराष्ट्रमन्त्रीको जिम्मेवारीबाट हटेपछि डा. खड्का झण्डै गुमनामजस्तै छन्। अन्तर्राष्ट्रिय र कूटनीतिक मामिलामा त्यसयता उनका व्याख्या–विश्लेषण विरलै पढ्न–सुन्न पाइएका छन्। 

यस्तोमा नेपाली कांग्रेसले सोमबार डा. खड्कालाई एउटा महत्वपूर्ण मञ्च उपलब्ध गरायो। नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा केन्द्रीय कार्यालय सानेपामा आयोजित तीन दिने ‘बीपी साहित्यिक महोत्सव’ अन्तर्गत ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयक सेसनमा पार्टीको तर्फबाट छनोट गरिएका वक्ता डा. खड्का नै थिए। 

परराष्ट्रमन्त्रीको जिम्मेवारीबाट हटेपछि त्यो पदका लागि आफू उपयुक्त पात्र थिएँ भन्ने देखाउन बीपी साहित्यिक महोत्सवको सर्वाधिक महत्वपूर्ण त्यो सेसन डा. खड्काका लागि उपयुक्त मौका थियो। 

कान्तिपुरका पूर्वप्रधानसम्पादक सुधीर शर्माले सञ्चालन गरेको सो विमर्शका अन्य वक्ताहरु थिए– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वपरराष्ट्रमन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सैनिक मामिलाकी जानकार डा. इन्द्र अधिकारी।

अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका दृष्टिले ‘विसं २००७ को परिवर्तनअघिका बीपी’, ‘२००७–२०१५ का बीपी’, ‘२०१५ को आमनिर्वाचनपछिका प्रधानमन्त्री बीपी’ र ‘राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ मा स्वदेश फर्केपछिका बीपी’ गरी बीपीको राजनीतिक जीवनलाई चार कालखण्डमा विभाजनका साथ शर्माले छलफलको सुरुवात गरेका थिए। 

सम्भवतः अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिबारे वक्ताहरुलाई विमर्श गर्न सहज होला भन्ने ठानेर शर्माले बीपीको राजनीतिक जीवनलाई चार कालखण्डमा विभाजन गरेका थिए। तर, सहभागी दर्शक–स्रोताहरुले डा. खड्काबाट बीपीलाई ‘महान्’ र ‘अतुलनीय’ नेता भन्ने शाब्दिक प्रशंसाबाहेक केही सुन्न पाएनन्। 

बीपीले अपनाएको अन्तर्राष्ट्रिय नीतिबाट अहिलेको कांग्रेसको नेतृत्व ‘डिपार्चर’ भएको छ कि छैन? भन्ने शर्माको प्रश्नको विश्लेषणात्मक उत्तर पनि कार्यक्रमका सहभागी दर्शक–स्रोताहरुले पाउन सकेनन्, न त बीपीको देहावसानपछि उनकै समकक्षका नेताहरु नेपालले किन पाउन सकेन भन्ने प्रश्नको उत्तर नै उनले दिन सके। 

बीपीको राजनीतिक जीवनलाई चार कालखण्डमा विभाजित गरेका शर्माले २००७ अघिका बीपीलाई ‘अन्तर्राष्ट्रियतावादी नेता’ का रुपमा प्रस्तुत गरेका थिए, जसको आधार नेपालमा राणाशासनविरुद्ध संघर्षका साथसाथै भारतीय स्वतन्त्रता संग्राममा बीपीको सहभागिता पनि थियो। 

विसं २००७ देखि २०१५ को आम निर्वाचन र त्यसमा विजयी भएर प्रधानमन्त्री बन्दाको कालखण्डलाई शर्माले ‘रियल पोलिटिक’  (सत्ता प्राप्तिको राजनीति) का रुपमा परिभाषित गरे। 

तेस्रो कालखण्ड उनी प्रधानमन्त्री बनेपछिको थियो। यो  अवधिलाई उनले ‘स्वाभिमानी प्रधानमन्त्री’ का रुपमा प्रस्तुत गरे। शर्माका भनाइम, बीपी ‘असंलग्न परराष्ट्र नीतिको निर्भीक अभ्यासकर्ता’ पनि थिए। 

उनले प्रस्तुत गरेको चौथो कालखण्ड २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर आएयताका बीपी थिए। यो कालखण्डमा बीपीले प्रजातन्त्र र राष्ट्रियता दुवैमा जोड दिएको शर्माको विश्लेषण थियो।  

उपरोक्त चार कालखण्डमा बीपीले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा खेलेका भूमिकाको संक्षिप्त विश्लेषण गरेपछि शर्माले पूर्वप्रधानमन्त्री भट्टराईलाई सोधे, ‘यसआधारमा बीपीमा तपाईं विरोधाभाषपूर्ण कि गतिशील राजनीतिज्ञको भूमिका देख्नुहुन्छ?’  

डा. भट्टराईले बीपीको राजनीतिक जीवनलाई तीन कालखण्डमा विभाजन गरे। एक– राणाकालमा नेपाली कांग्रेस स्थापना भएपछि विसं २०१५ को आम निर्वाचनअघिका बीपी, दुई– २०१६ मा प्रधानमन्त्री बन्दाताकाका बीपी र तीन– २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर आएपछिका बीपी। 

डा. भट्टराईका भनाइमा सुरुवातमा बीपी भारतप्रति निकै नरम थिए। सम्भवतः यो उनको भारतीय मित्रहरुसँगको निकटताको परिणाम थियो।

‘पछि उहाँले आफैँ त्यसलाई सच्याउनु भएको छ,’ उनले भने, ‘चीनसँगको सम्बन्ध विकासमा समेत उहाँको भूमिका महत्वपूर्ण रहेको छ।’ 

२०३३ मा राष्ट्रिय मेलमिलापको नीतिलाई भने आफूले त्यतिबेला सकारात्मक रुपमा नलिएको र जीवनको अन्तिम अवस्थामा बीपीलाई भेट्दा त्यसको आलोचना गरेको स्मरण उनले गरे। 

‘उपचारमा रहेका बीपीलाई अल इन्डिया मेडिकल इन्स्टिच्युटमा विसं २०३९ मा भेटेको थिएँ। त्यो भेटमा पनि मैले उहाँको त्यो नीतिको आलोचना गरेको थिएँ,’ डा. भट्टराईले थपे, ‘गान्धी विचारको प्रभावका कारण सामन्ती शासक भए पनि राजामा पक्कै मानवीयता होला भनेर उहाँ स्वदेश फर्कनुभएको होला। तर, उहाँले राजालाई नै मानेको चाहिँ देखिएन।’ 

डा. भट्टराईजस्तै पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले पनि २००७ अघि अन्तर्राष्ट्रिय राजनीतिलाई हेर्ने दृष्टिकोण, २००७ देखि २०१७ सम्मका बीपी र राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केपछिको अवधि गरी तीन कालखण्डमा विभाजन गरे। 

‘यी तीनमध्ये सुरुको अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्ने बीपीको धारणासँग सहमत हुन सकिँदैन’ ज्ञवालीले भने, ‘तर, २००७ पछि भने नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई विविधिकरण गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। चीनसँगको सम्बन्धमा त ‘ब्रेक थ्रु’ नै गर्नुभयो। इजरायल र पाकिस्तान जस्ता मुलुकसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गर्नुभयो।’ 

सरकारमा छँदा भारतसँगको सम्बन्धलाई पनि बीपीले सही ढंगले परिभाषित गरेको ज्ञवालीको विश्लेषण थियो। ‘भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु नेपालसँगको सम्बन्धलाई ‘विशेष सम्बन्ध’ का रुपमा परिभाषित गर्न चाहन्थे। बीपीले भारतसँग विशेष सम्बन्ध होइन’ उनले भने, ‘नेपालको स्वतन्त्रता कायम राख्ने सम्बन्धमा जोड दिनुभयो।’

कार्यक्रमकी अर्की वक्ता डा. इन्द्र अधिकारीका भनाइमा बीपी सीमाद्वारा हुने राष्ट्रहरुको विभाजनलाई मानवताका लागि बाधक ठान्थे। 

‘उहाँ अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा गहिरो अध्ययन र ज्ञान भएका नेता हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘यस विषयमा उहाँ उत्तिकै सिर्जनशील पनि हुनुहुन्थ्यो। खासमा अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल एक्सनमा गएको उहाँ प्रधानमन्त्री भएकै बेलामा हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .