नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताको सम्भावना तत्कालका लागि टरेको नेताहरुले बताएका छन्।
माओवादीका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा. भट्टराई एकता तत्काल नगर्ने मुडमा पुगेको दुवै नेताका निकटस्थहरुले नेपालखबरलाई जानकारी दिए।
भट्टराई संगठन विस्तारको अभियान लिएर जिल्लाजिल्ला पुगिरहेका छन्। भट्टराईले आफू निकट नेतालाई माओवादीसँग तत्काल एकता टरेको बताइसकेका छन्।
झुक्याएर समाजवादी मोर्चा घोषणा गरेको भन्दै उनी प्रचण्डप्रति निकै आक्रोशित छन्। उनका अनुसार असार २ गते बालुवाटारमा भेट गर्दा प्रचण्डले एक÷डेढ महिना मोर्चा घोषणा नगर्ने बताएका थिए। तर, असार ४ मै नेसपालाई छुट्याएर अन्य पार्टीले मोर्चा घोषणा गरे।
सोही कारण उनी ६ महिने संगठन विस्तार अभियान लिएर जिल्ला–जिल्ला पुगेका छन्।
यता, प्रचण्डले पनि बाबुराम भट्टराईबाहेकका नेसपाका अन्य नेतालाई एकतामा आउन प्रस्ताव राखेको एक नेताले बताए।
‘पाँच दिनअगाडि प्रधानमन्त्री प्रचण्डलाई भेट्न हाम्रा केही साथीहरु जानुभएको रहेछ,’ नेसपाका एक नेताले नेपालखबरसँग भने, ‘तर, उहाँले त बाबुरामविना तपाईंहरु एकतामा आउन आँट गर्न कि नगर्ने? त्यो विषयमा बहस गरौँ पो भन्नुभएछ।’
जवाफमा उनीहरुले दुई पार्टी (प्रचण्ड–बाबुराम) मिल्नुपर्ने नत्र आन्दोलन ध्वस्त हुने सुझाएका थिए।
‘तपाईंहरु दुई नेता मिल्दा पो जनतामा एउटा खालको उत्साह आउँछ,’ बालुवाटारमा प्रचण्डसँगको संवाद सुनेका ती नेताले थपे, ‘हामी त संख्या हौँ, पब्लिक साइकोलोजीमा हामी जोडिनु र नजोडिनुले धेरै फरक पर्दैन। एउटा प्रदेश वा जिल्लामा पार्ला। राष्ट्रिय स्तरमा केही असर पार्दैन।’
प्रचण्डको पछिल्लो प्रस्तावले एकतालाई झन् पर धकेलेको नेसपाका नेताहरु बताउँछन्। यद्यपि, उनीहरु अझै पनि एकता गर्ने वातावरण र माहोल बनाउन प्रयासरत रहेको बताउँछन्।
नेसपाका संघीय परिषद् अध्यक्ष महिन्द्रराय यादवले एकताको प्रयास नरोकिएको बताए।
तर, तत्काल भने एकता हुने सम्भावना नभएको माओवादीका एक वरिष्ठ पदाधिकारीले बताए।
‘उहाँसँग (डा. बाबुराम) एकता हुने तत्काल सम्भावना छैन। एकताको विषयमा कुनै छलफल भएको पनि छैन,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘उहाँ आफ्नै अभियानमा हुनुहुन्छ। अहिले तत्कालै पार्टी एकता गर्न छलफल भइहाल्ने वातावरण पनि छैन।’
माओवादीका प्रवक्ता अग्नि सापकोटाले उपयुक्त समयमा छलफल हुने बताए।
एकता गर्नेगरी गत मंसिरमा प्रदेश र प्रतिनिधि सभाको चुनावमा माओवादीको चुनाव चिह्नबाट नेसपाका नेताहरु लडेका थिए। त्यसमध्ये प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ सिट नेसपाले जितेको छ। एकताको तयारी हुँदै गर्दा डा. भट्टराईले माओवादी समक्ष १९ बुँदे प्रस्ताव पठाएका थिए। तर, त्यसको जवाफ अझैसम्म माओवादीले दिएको छैन।
त्यति मात्र होइन माओवादीको १७–२१ साउनमा बसेको केन्द्रीय समिति बैठकले पनि एकताको विषयमा कुनै निर्णय गरेको छैन। जबकि गत असार १८ मा प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादीबीच एकताका लागि ठोस पहल भइरहेको र चाँडै घोषणा हुने दाबी गरेका थिए।
‘पूर्वमाओवादीहरू छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदै छ,’ प्रचण्डको भनाइ थियो, ‘हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ। सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।’
तर, प्रचण्ड अहिले बाबुरामसँग एकता भन्दा समाजवादी मोर्चालाई अगाडि बढाउन इच्छुक देखिन्छन्।
‘बाबुरामले के–के नयाँ कुरा ल्याउँछन्, गिजोल्छन् भन्ने प्रधानमन्त्री प्रचण्डमा केही डर देखिन्छ,’ नेसपाका अर्का नेताले भने, ‘बरु त्यो भन्दा आफ्नै सुरले चलाउन पाए हुने भन्ने उहाँलाई परेको देखिन्छ।’
कसरी भाँडियो एकता?
नेसपाबाट एकता वार्ता टोलीमा गंगानारायण श्रेष्ठ, दुर्गा सोब र रमेश यादव छन्। पार्टी एकतामा विलम्ब हुनुमा केही कारण रहेको श्रेष्ठको भनाइ छ।
‘समाजवादी मोर्चा बनेपछि एकताको वातावरण बिग्रेको हो,’ श्रेष्ठले भने, ‘समाजवादी मोर्चाको डिस्कोर्स सुरु गर्ने डा. भट्टराई र नेसपा नै अट्ने वातावरण बनाइएन।’
उनका अनुसार उपेन्द्र र माधव नेपालकै कारण समाजवादी मोर्चामा नेसपालाई पहिलो चरणमा समेट्न नसकेको बताएका थिए।
‘मोर्चामा बाबुराम ल्याउने कुरा गरेपछि उहाँहरु (माधव–उपेन्द्र) उठेर हिँड्ने चेतावनी दिनुभएछ। त्यसले सरकारमा समस्या पर्ने भयो,’ प्रचण्डको भनाइ उधृत गर्दै नेसपाका सहअध्यक्ष श्रेष्ठले भने, ‘बाबुरामजीले यो कुरा बुझ्नुहुन्न।’
तर, विप्लव लगायतका नेताहरुले भने प्रचण्डले अडान लिएको भए मोर्चामा बाबुराम अटाउने बताएका छन्।
गोरखाबाट हान्निएर काठमाडौं पुगेका थिए बाबुराम
बाबुराम गृहजिल्ला गोरखामा थिए। उनलाई जेठ ३१ गते समाजवादी मोर्चा घोषणा गर्न लागेको जानकारी दिइयो। सुरुमा उनले विश्वास गरेनन्।
प्रचण्डसँगको सल्लाहमै आएकोले तत्काल मोर्चा घोषणा नहुने उनको विश्वास थियो। तर, पार्टीकै नेताहरुले बोलाएपछि उनी १ गते काठमाडौं फर्किए। २ गते बालुवाटार पुगेर प्रचण्डलाई भेटे।
‘मोर्चा घोषणा हुन एक डेढमहिना लाग्छ तपाईंबिना कहाँ मोर्चा घोषणा हुन्छ? यो त तपाईंको कन्सेप्ट हो भनेर प्रचण्डले भन्नुभएछ,’ श्रेष्ठले भने, ‘बालुवाटारबाटै खुसी भएर बाबुरामले हामी नेताहरुलाई फोन गर्नुभयो। ‘प्रचण्डजीसँग एकदमै राम्रो कुरा भयो भन्नुभयो।’
मोर्चा निर्माण र पार्टी एकता हुने कुराले नेसपाका नेताहरु खुसी भए। तर, ४ गते समाजवादी मोर्चा घोषणा भयो। त्यो कुराले बाबुराम आक्रोशित भए। नेताहरुले पार्टी एकता ठूलो भएकोले मोर्चा बनेकै कुराले असन्तुष्ट बन्न नहुने सुझाव दिएका थिए।
बाबुरामले प्रचण्डप्रति गरेको टिप्पणी उधृत गर्दै एक पदाधिकारीले भने– ‘यस्तो कन्ज्युस्याइँ गर्नेले एकता गर्छ?’
उनले थपे, ‘त्यही दिनदेखि टाढाटाढाहुँदा हुँदै अहिले त बाहिर तथानाम बोल्न थालिसके। मैले उहाँहरुलाई तपाईँहरु धेरै टाढा नपुग्नुस् है, फर्किने बाटो राखेर मात्र गर्नुस् भनेको छु।’
विप्लव पनि भट्टराई सहितको एकताको पक्षमा रहेको नेसपाका नेताहरु दाबी गर्छन्। पछिल्लो दिन एउटै मोर्चामा रहेका विप्लव प्रचण्डप्रति नरम अभिव्यक्ति दिइरहेका छन्।
महराको दाबी– एकताको प्रयास गर्दा साथीहरुले पुरस्कार दिए
उपाध्यक्ष कृष्णबहादुर महरा बाबुराम–विप्लवसहित पूर्वमाओवादी एकताको अभियानमा सक्रिय छन्।
उनलाई जिम्मेवारी नै दिएर पार्टीले खटाएको छ। तर नौ किलो सुन तस्करीमा मुछिएपछि उनीमाथि छानबिन भइरहेको छ। उनका छोरा राहुल महरा हिरासतमा छन्।
एकताको पहल गरेकैले षडयन्त्र भइरहेको महराको दाबी छ।
‘मैले एकताको पहल गरेँ तर, मलाई पार्टीकै साथीहरुले पुरस्कार दिए,’ महराको गुनासो उधृत गर्दै एक नेताले नेपालखबरसँग भने, ‘जनार्दन र अनन्तलाई विप्लव आइसकेपछि कहीँ न कहीँ समस्या होला कि भन्ने पीर छ।’
नेसपाका नेताहरुले बाबुरामसँग एकता नगर्न नारायणकाजी श्रेष्ठले पनि भूमिका खेलेको हुनसक्ने टिप्पणी गरे।
‘खुलेर नभने पनि बाबुराम आइसकेपछिको वरीयतामा चिन्ता होला, किनभने उहाँ त प्रचण्डपछिको दोस्रो वरीयतामा हुनुहुन्छ। नारायणकाजीजी तेस्रोमा पुग्नुपर्छ,’ नेसपाका ती नेताले भने, ‘कुनै पनि हालतमा बाबुरामलाई पार्टीमा भित्रिनबाट रोक्न केही नेताहरु लागे।’
प्रचण्ड र बाबुराम तत्काल दुईतिर फर्किए पनि एकताको प्रयास जारी रहेको बताउँछन् सहअध्यक्ष श्रेष्ठ।
‘हेगको कुरा गर्नेबित्तिकै कसरी पूर्व माओवादीका नेताहरु एकै ठाउँमा उभिए?’ श्रेष्ठले नेपालखबरसँग भने, ‘हामीले सक्ने रहेनछौँ, कहिलेकाहीँ अन्तर्राष्ट्रिय करणले एकता हुन्छ।’
भट्टराई र प्रचण्ड एउटै पार्टीमा रहन सके मात्र त्यसले नयाँ उर्जा दिने भएकोले एकताको प्रयास जारी राख्ने श्रेष्ठले बताए।
Shares
प्रतिक्रिया