भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षात्का कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताएका छन्। मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बोल्दै उनले सो स्पष्टिकरण दिएका हुन्।
‘सडकसँग, पुलसँग अथवा हाम्रो मन्त्रालयसँग जोडिएका विपद्सँग सम्बन्धित विषयमा यो वर्षामा बाटोघाटो बन्द नहोस्। र मानवीय र अन्य क्षतिनहोस् भन्ने कुरामा हामी सचेत छौं,’ उनले भने, ‘अरु विषयमा चाँही सम्बन्धित मन्त्रालयसँग पनि बसेर साझा निस्कर्ष निकालौं। र, जोजोले जे जे गर्नुपर्छ। हरेक कुरामा एउटैले मात्रै गर्ने देखिँदैन क्या।’
बैठकमा सांसदहरूले गत श्रावण ७ गते सामाखुशी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए।
‘अब हामीले र्यापिड बस सेवा सुरु गर्ने भन्यौं। अब त्यहाँ पनि एक्लै गरेर भएन। यातायात व्यवस्था विभागले के गर्ने, सडक विभागले अर्को गर्नुपर्ला। ट्राफिकले गर्नुपर्ला। ५/६ वटा निकायले काम बाँडफाँट गरेपछि काम अघि बढ्या छ,’ उनले भने।
जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने बताएका हुन्।
‘यो कुरामा एक्लै हाम्रो मन्त्रालय, जसको शुद्ध क्षेत्राधिकार पनि भएन। त्यसैले यही नै समाधान भनेर हामीले भन्ने अवस्था रहेन। त्यसैले समितिले यही रुपमा लिनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु,’ उनले भने।
उनले आफ्नो मन्त्रालयको क्षेत्राधिकार भित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गरेर अघि बढ्ने भन्ने कुरा हुनै नसक्ने जिकिर गरे।
मन्त्री ज्वालाले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुल, सडकलगायतको समस्याबाट कुनैपनि खालको क्षति नहोस् भन्ने कुरामा भने आफ्नो मन्त्रालय सचेत रहेको बताए।
मन्त्री ज्वालाले वर्षात्का कारण पूर्वका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएपछि आफ्नो मन्त्रालयले त्यसो हुन नदिनका लागि सक्दो प्रयास गरिरहेको दाबी समेत गरे। उनले मुुग्लिन–नारायणगढ सडक खण्डमा देखिएको समस्या फेरि नबल्झिने गरी समाधान गरिएको पनि बताए।
Shares
प्रतिक्रिया