दोहोरो जिम्मेवारी नदिने निर्णयले नेकपा एमालेका कम्तीमा ३३ जना नेताले एक पदबाट राजीनामा दिनुपर्ने भएको छ।
२०७८ कात्तिकसम्म देशका सातै प्रदेश र ७७ जिल्लाका अध्यक्ष वा सचिव निर्वाचित भएका केही नेताहरु २०७९ वैशाख र मंसिरको चुनावबाट जनप्रतिनिधि भएका थिए। एमालेलेसंघीय र प्रदेश सांसद, पालिका/नगर प्रमुख/उपप्रमुख/ अध्यक्ष/उपाध्यक्ष निर्वाचित भएकालाई पार्टीको जिम्मेवारी नदिने योजना अघि सारेको छ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीय वा प्रदेश सांसद, पालिका प्रमुख वा उपप्रमुख/अध्यक्ष, उपाध्यक्ष पनि कार्यकारी जिम्मेवारीमै रहन्छन् भन्ने विश्लेषण गरिएको बताए।
पार्टीको जिल्ला अध्यक्ष/सचिव, प्रदेश अध्यक्ष/सचिव र गाउँपालिका अध्यक्ष/सचिव पनि कार्यकारी पद हुन्।
सांसद भएका वा कुनै स्थानीय तह जितेका जनप्रतिनिधिलाई पार्टीको प्रदेश, जिल्ला र गाउँ तहको अध्यक्ष/सचिव नबनाउने र यदि जितेका भए दोहोरो जिम्मेवारी नदिने एमालेको तयारी हो।
पार्टी र जनप्रतिनिधि (सांसद, मेयर, अध्यक्ष) कार्यकारी पदमा रहेका कोशी प्रदेशका ८, मधेशका ३, बागमती प्रदेशका ४, गण्डकी प्रदेशका ४, लुम्बिनी प्रदेशका २, कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ५ नेताले कुनै एक पदबाट राजीनामा दिनुपर्नेछ।
३० वैशाख २०७९ मा भएको स्थानीय तह चुनावमा एमालेका तर्फबाट ८३ प्रमुख र १२३ पालिका अध्यक्ष निर्वाचित भएका थिए। यस्तै, ११५ उपप्रमुख र १२६ उपाध्यक्ष जितेका थिए।
यसैगरी, सातै प्रदेशमा एमालेका १७१ सांसद निर्वाचित भएका छन्। ४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव जितेका केही सांसद पनि जिल्ला अध्यक्ष वा सचिव पदमा छन्।
एमालेको स्थानीय विकास विभागका अध्यक्ष देवेन्द्र दाहालका अनुसार संघीय सांसद ४, प्रदेश सांसद १६ र पालिका/नगर प्रमुख/अध्यक्ष १३ जना पार्टीको पनि कार्यकारी जिम्मेवारीमा (अध्यक्ष–सचिव) छन्।
यी हुन् दोहोरो जिम्मेवारीमा रहेका नेताहरु
सुदूरपश्चिम प्रदेश
एमाले सुदुरपश्चिम प्रदेशमा विभिन्न जिम्मेवारीमा रहेका नेताहरु दोहोरो भूमिकामा छन्। बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दामोदर भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष पनि हुन्।
यसैगरी, एमाले सुदुरपश्चिम कमिटी सचिव रहेका धर्मराज पाठक प्रदेश सांसद पनि हुन्।
एमाले बाजुरा जिल्ला अध्यक्ष कालीबहादुर शाही जगन्नाथ गाउँपालिकाको पनि अध्यक्ष छन्।
यस्तै बैतडी जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर पाल सुदूरपश्चिम प्रदेश सांसद छन्।
डोटीका अध्यक्ष चक्रबहादुर मल्ल सुदूरपश्चिम प्रदेश सांसद हुन्।
कर्णाली
एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोद शाह प्रदेश सांसद पनि हुन्। उनले दैलेखबाट प्रदेश सभा सदस्य जितेका हुन्।
एमाले कर्णाली प्रदेश कमिटी सचिव रहेका टेकराज पछाइ पनि प्रदेश सांसद छन्। उनी जुम्लाबाट निर्वाचित भएका हुन्।
एमाले मुगु जिल्ला कमिटी अध्यक्ष रहेका जीतबहादुर मल्ल कर्णाली प्रदेश सांसद पनि हुन्।
कलबहादुर हमाल प्रदेश सांसद पनि हुन् र उनी हुम्ला जिल्ला कमिटी अध्यक्ष छन्।
एमाले जाजरकोट जिल्ला कमिटी सचिव वेदबहादुर गिरी बारेकोट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।
यस्तै, सल्यान सचिव ओजबहादुर बुढाथोकी छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष छन्।
डोल्पा अध्यक्ष शेरबहादुर बुढा कर्णाली प्रदेश सांसद निर्वाचित भएका हुन्।
बागमती
एमाले रामेछाप जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ बागमती प्रदेश सांसद छन्।
काभ्रे जिल्ला अध्यक्ष रहेका अशोक ब्याञ्जु धुलिखेल नगरपालिकाका प्रमुख पनि छन्।
यस्तै, मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ प्रदेश सांसद पनि हुन्। एमाले दोलखा जिल्ला सचिव हीराकुमार तामाङ मेलुङ गाउँपालिका अध्यक्ष हुन्।
गण्डकी
गण्डकीमा पनि एमालेका केही नेताहरु दोहोरो जिम्मेवारी लिएर बसेका छन्।
कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङ संघीय सांसद हुन्।
तनहुँ जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ म्याग्दे गाउँपालिका अध्यक्ष हुन्।
यस्तै, एमाले म्याग्दी जिल्ला सचिव सुरत केसी बेनी नगरपालिकाका प्रमुख हुन्।
नवलपुर जिल्ला सचिव रहेका भीमलाल अधिकारी मध्यविन्दु नगरपालिका प्रमुख हुन्।
लुम्बिनी
एमाले रुकुम पूर्वका सचिव गोपाल रेउले पनि दोहोरो जिम्मेवारीम छन्। उनी सिस्ने गाउँपालिका उपाध्यक्ष हुन्।
एमाले बाँके जिल्ला सचिव समेत रहेका रत्नबहादुर खत्री लुम्बिनी प्रदेश सांसद हुन्।
मधेश
मधेश प्रदेशमा पनि एमालेका केही नेताहरुको दोहोरो जिम्मेवारीमा छन्।
एमाले बारा जिल्ला अध्यक्ष विनोदप्रसाद साह कलैया उपमहानगरपालिकाका प्रमुख हुन्।
एमाले मधेश प्रदेश अध्यक्ष रहेका रामऔतार यादव सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख हुन्।
यस्तै, एमाले सिराहा सचिव उग्रनारायण यादव भगवानपुर गाउँपालिका अध्यक्ष हुन्।
कोशी प्रदेश
कोशी प्रदेशमा एमालेका ८ नेता २ ठाउँको कार्यकारी भूमिकामा छन्।
एमाले इलाम जिल्ला अध्यक्ष रहेका महेश बस्नेत इलाम १ बाट संघीय संसद निर्वाचित भएका हुन्। उनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई हराएका थिए।
यसैगरी, मोरङ जिल्ला अध्यक्ष रहेका ऋषिकेश पोखरेल मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद हुन्।
यस्तै, धनकुटाका अध्यक्ष रहेका इन्द्रमणि पराजुली कोशी प्रदेश सांसद हुन्।
एमाले सुनसरी जिल्ला अध्यक्ष रहेका रेवतीरमण भण्डारी पनि कोशी प्रदेश सांसद हुन्।
एमाले धनकुटा जिल्ला सचिव निरन राई कोशी प्रदेश सांसद हुन्।
एमाले कोशी प्रदेश सचिव रहेका केशर मेन्याङ्वो प्रदेश सभा सांसद पनि हुन्।
उता, एमालेका ताप्लेजुङ सचिव केशरकुमार सुब्बा पाथिभरा याङबरक गाउँपालिकाको अध्यक्ष हुन्।
यस्तै, उदयपुर एमाले जिल्ला सचिव रहेका कालुमान लामा चौदण्डीगढी नगरपालिकाका प्रमुख छन्।
तर, असार ३० गतेको सचिवालय बैठकले नेताहरुलाई ‘कार्यकारी पदमा दोहोरो जिम्मेवारी नदिने’ निर्णय गरेको भए पनि तल्लो तहका कमिटीमा पठाइसकेको छैन।
केही दिनमै अन्तरपार्टी निर्देशन (अपानि) पठाइने स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए।
एमालेले पार्टीका हरेक बैठकका निर्णय अपानिमार्फत् तल्लो तहमा पठाउने गरेको छ।
‘एउटै नेतालाई २ ठाउँमा कार्यकारीको जिम्मेवारी नदिने निर्णय गर्नुको मुख्य कारण पार्टी गतिविधि वा जनप्रतिनिधि बनेकाहरुको पर्फमेन्स राम्रो हुन सकेन,’ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालखबरसँग भने, ‘पार्टी संगठनलाई बलियो र प्रभावकारी बनाउन खोजिएको हो।’
एमाले आगामी आम निर्वाचनमा केन्द्रित भएर ‘मिसन २०८४’ मा लागेको छ।
चार वर्षपछिको लागि एक व्यक्ति एक पदको नीति लिएको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको भनाइ छ।
‘अब हामी अर्काे चुनावको तयारीमा लागेका छौँ, त्यही अनुसार नेताहरुलाई दोहोरो जिम्मेवारी दिएर इन्गेज नगरी देखिनेगरी काम गर्न लागेका हौँ,’ अधिकारीले थपे, ‘संगठन धारिलो बनाउनुपर्छ, सबै ध्यान यसमै केन्द्रित छ।’
उनका अनुसार एक नेता एक जिम्मेवारीले कतिपय आशंका र सन्देह हल गर्नेछ।
‘दोहोरो जिम्मेवारी लिने नेताले राम्रोसँग काम नगरेको भन्दै नेतृत्व र कार्यकर्ता सन्तुष्ट हुन सकेका छैनन्। कतिपय जिम्मेवारीमा रहेका नेताले दोहोरो जिम्मेवारी राम्रोसँग निभाउन नसकेको टिप्पणी भइरहेको छ,’ अधिकारीले भने, ‘कार्यकारी पदलाई राम्रोसँग चलाउन नसके पार्टी बलियो बन्दैन र असन्तुष्टि पनि चुलिन्छ।’
जेठ २० गते एमालेले नेताहरुको जिम्मेवारी हेरफेर गरेको थियो।
जसअनुसार सातै प्रदेशका इन्चार्ज परिवर्तन गरी सचिवलाई खटाइएको छ।
जसअनुसार कोशी प्रदेशमा सचिव रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरु बराल, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा छन्।
यस्तै, संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मेवारी तोकिएको छ।
यसैगरी जिल्ला इन्चार्जको जिम्मेवारी फरक भूगोलका स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई दिएको छ।
केन्द्रीय कमिटी सदस्यलाई पालिकास्तरको इन्चार्जको जिम्मेवारी दिएको छ।
एमाले गाउँपालिका र वडा तहमा पनि केही नेताहरुले दोहोरो जिम्मेवारी लिइरहेका छन्।
Shares
प्रतिक्रिया