ad ad

राजनीति


ओलीप्रति नरम प्रचण्ड - माधवजी र मैले नेकपातिरै फर्किनुपर्छ भनेका छौँ

ओलीप्रति नरम प्रचण्ड - माधवजी र मैले नेकपातिरै फर्किनुपर्छ भनेका छौँ

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १०:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुन: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति नरम देखिएका छन्।

आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रममा उनले समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरु गरेको उनले बताए। आफू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपातर्फ फर्किनुपर्ने पक्षमा रहेको उनको भनाइ थियो।

उनले भने, 'माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ। फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेका छौँ,’ उनले भने।

समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकतावद्ध गर्ने प्रयास सुरु पनि भइसकेको उनले बताए। तत्कालीन नेकपामा हुँदा‍ भएका त्रुटि सच्याएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो। 'त्यहाँ विचार, राजनीति, आचरण, संस्कृति र भावनामा कहाँ त्रुटि भयो? के कारणले हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ,' उनले भने।

कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर एमाले अध्यक्ष ओली र आफूले कम्युनिष्टहरूलाई एकतावद्ध गरेको पनि उनले उल्लेख गरे। अब कम्युनिष्टले आफ्ना त्रुटि सच्चाएर अघि बढ्नुपर्ने धारणा उनले राखे।

‘कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर कम्युनिष्ट एकता भयो। देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुई तिहाई प्राप्त पनि भयो। जनतामा ठूलो उत्साह देखापर्‍यो,' उनले भने, 'अब कम्युनिष्टहरूले ४०-५० कति वर्ष लानेहुन्, शासन भनेर भय थियो। तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ।'

त्यो एकता बचाए राष्ट्र, जनता, समाजवादको हितमा सम्भावना रहेको तर त्यो नसकेको स्वीकार उनले गरे। यसको दोष आफू कसैलाई नदिने बताउँदै उनले एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .