जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा सोमबार समूहगत छलफल सुरु भएको छ। प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको अधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरे।
अध्यक्ष यादवले पेस गरेको प्रस्तावित विधानको मस्यौदामा ७० वर्षे उमेर हदको प्रस्ताव गरिएको छ। प्रस्तावित विधानको दफा ८६ मा भनिएको छ, ‘७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैन।’विधान मस्यौदामा पार्टीको केन्द्रीय समिति एक सय ५१ सदस्यीय हुने र एक व्यक्ति एकै पदमा दुई पटकभन्दा बढी रहन नपाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ।
नयाँ विधानबमोजिम जसपामा अब अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव तीन र कोषाध्यक्ष एक गरी १३ सदस्यीय पदाधिकारी चयन हुनेछन्। पदाधिकारी तथा सदस्यहरुको निर्वाचन गर्दा तीन जना निर्वाचित हुने पदमा एक जना महिलासहित सामाजिक समूहको समावेशी हुनुपर्ने उल्लेख छ।
अब यो विधान पारित भएर लागू भएपछि पार्टीमा एकै व्यक्ति दुई कार्यकालभन्दा बढी समय नेतृत्वमा रहन पाउने छैनन् भने ७० वर्षको उमेर हदसमेत लाग्नेछ। उक्त पार्टीको विधान मस्यौदाको प्रस्तुति सोमबार मात्र सम्पन्न भएको थियो। प्रस्तुत मस्यौदामा छलफलका लागि १० वटा समूह बनाइएको र विधान मस्यौदाबारे ती समूहले छलफल गरी मङ्गलबार प्रत्येक समूहका एक–एक जना नेताले विधानबारे आफ्ना धारणा राख्ने कार्यतालिका रहेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार समूहका नेताबाट आएको सुझावका आधारमा विधानलाई संशोधन गरी पारित गरेर विधान अधिवेशन सकिने कार्यतालिका छ। रासस
Shares
प्रतिक्रिया