राजधानी काठमाडौंमा ५ महिनापहिले एकसाथ पराजित भएका नेपाल प्रहरीका दुई पूर्वहाकिम फरक जिल्लाबाट उपचुनाव लड्न पुगेका थिए। तर दुवैले गत मंसिरमा भएको निर्वाचनमा भन्दा खराब पराजय बेहोरेका छन्।
५ महिनाको फरकमा दोस्रो पटक तनहुँ क्षेत्र नम्बर १ बाट पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पराजित भए। यसअघि उनी काठमाडौं ६ मा पराजित भएका थिए।
यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका थिए। यसपटक पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार स्वर्णिम वाग्लेसँग पराजित भए। स्वर्णिम निर्वाचनको केही दिनअघि मात्रै नेपाली कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका थिए।
तर उपचुनावमा पुख्र्यौली थलो पुगेका खनालले त्यहाँबाट पनि संसदको ढोका खुलाउन सकेनन्।
यसअघि काठमाडौं क्षेत्र नं १ मा पराजित भएका पूर्वडीआईजी रमेश खरेलले पनि राजनीतिमा लागेको छोटो समयमै दोस्रो पराजय भोगेका छन्।
सरकारले सर्वेन्द्र खनाललाई आईजीपी बनाएपछि असन्तुष्टि जनाउँदै डीआईजीबाटै राजीनामा दिएका खरेलको राजनीतिक यात्रा पनि सुखद हुन सकेको छैन।
सर्वेन्द्र खनाल : ओलीले पटक–पटक पत्याए, जनताले पत्याएनन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीमा हुँदा होस् वा राजनीतिमा, सर्वेन्द्र खनाललाई पटकपटक अवसर दिएका छन्। ओलीकै अडानमा सर्वेन्द्र प्रहरी महानिरीक्षक बनेका थिए।
रमेश खरेल र पुष्कर कार्कीमध्येबाट ओलीले आईजीपीमा सर्वेन्द्रलाई छानेका थिए। विवादमा तानिँदा पनि ओलीले नै खनालको संरक्षण गरेका थिए।
प्रहरी सेवाबाटै हटाउने चर्चा हुँदा होस् वा अवकाशपछि अपहरणको मुद्दा लाग्दा, एमालेले खनालको संरक्षण गरेको थियो। पछि उनी ओलीको बखान गर्दै एमालेमै प्रवेश गरे।
प्रवेश गरेको केही दिनमै काठमाडौं क्षेत्र नं ६ को टिकट पाएका थिए। काठमाडौं ६ मा विजयी शिशिरले भन्दा सर्वेन्द्रले झण्डै आधा कम मत ल्याएका थिए। तर पनि उनले कांग्रेसका भीमसेनदास प्रधानलाई भने पछि पारेका थिए।
काठमाडौं ६ मा शिशिरले १४ हजार २२१ मत ल्याउँदा सर्वेन्द्रले ८ हजार ९१७ मत पाएका थिए।
तर यसपटक खनालले न पार्टीको मत जोगाउन सके, न त निकटतम प्रतिस्पर्धी नै रहे। मंसिरको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। त्यतिबेला पौडेलले २५ हजार ३६१ मत ल्याउँदा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाएका थिए।
तर मंसिरमा एमाले उम्मेदवारले पाएको भन्दा आधा कम पनि सर्वेन्द्रले मत पाएनन्। रास्वपाका स्वर्णिम ३४ हजार ९१९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ पाए।
कांग्रेस उम्मेदवारले यसअघिभन्दा ५ हजार कम मत पाउँदा एमालेका खनालले भने यसअघिको भन्दा आधा कम मत पनि पाउन सकेनन्।
मंसिरमा एमाले उम्मेदवारले १९ हजार बढी मत ल्याएका थिए। तर खनालले ८ हजार ४८८ मत मात्रै पाए। खनालले यहाँबाट पनि चुनाव त जित्न सकेनन् नै यसअघिको पार्टीको मत पनि उनले पाएनन्। जनताबाट ५ महिनाको फरकमा दोस्रो पटक अस्वीकृत भए।
रमेश खरेल : चुनाव चिन्ह फेरे, नतिजा फेरिएन
बारा क्षेत्र नं २ को अन्तिम मत परिणाम आउँन बाँकी नै छ। तर यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल भने पराजित हुने निश्चित भइसकेको छ।
मंगलबार साँझ ५० हजार १६१ मत गणना हुँदा जसपाका उपेन्द्र यादवभन्दा खरेल १८ हजार मतले पछि परिसकेका छन्। अब गणना गर्न १८ हजार नै बाँकी छ। यससँगै अब खरेलले जित्ने सम्भावना गणितीय रुपमा पनि सकिएको छ।
उपेन्द्र यादवले २० हजार ४६३ मत पाउँदा जनमतका शिवचन्द्र कुशवाहले १७ हजार ७९८ मत पाएका छन्। तर चौथो स्थानमा रहेका खरेलको २ हजार ४६६ मत मात्रै छ।
बाँकी दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित हुँदा प्रहरीका यी पूर्व हाकिम भने फेरि पनि पराजय भोग्दैछन्। दुई क्षेत्रमा रास्वपाले ऐतिहासिक मत पाउँदा यहाँ खरेलको लज्जास्पद हार हुने निश्चित छ।
निर्वाचनको मिति नजिकिएपछि मात्रै खरेल रास्वपाबाट उम्मेदवार बन्ने निर्णय भएको थियो।
यसअघि जसपाबाट रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए। तर यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।
मंसिरमा खरेल नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग काठमाडौं १ मा पराजित भएका थिए। काठमाडौंमा सिंहले ७ हजार १४३ मत पाउँदा खरेलले ३ हजार १२४ मत पाएका थिए। काठमाडौं १ मा पाँचौ बढी मत ल्याएका उनी बारामा चौथो हुने भएका छन्।
तर प्रतिशतका हिसाबले काठमाडौंमा भन्दा निकै कम मत उनले बारामा पाएका छन्। आफ्नै नेतृत्वको सुशासन पार्टीबाट यसअघि चुनाव लडेका खरेल पार्टी परिवर्तन गर्दै रास्वपाबाट चुनाव त लडे तर यसले पनि उनको चुनाव चिन्ह फेरिनुबाहेकको उपलब्धि भने हुन सकेन।
काठमाडौंमा अस्वीकृत भएका खरेलको ५ महिनापछि मधेशबाट संसद् छिर्ने सपनामा पनि ब्रेक लागेको छ। प्रहरीमा हुँदाका प्रतिस्पर्धी सर्वेन्द्र खनालजस्तै उनी पनि दोस्रो पटक राजनीतिमा असफल भए।
Shares
प्रतिक्रिया