राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनमा जल हालेर आफूलाई जिताइदिन आग्रह गरेका छन्।
चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका लामिछानेले भरतपुर महानगरपालिकास्थित गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको चुनावी सभामा यसो भनेका हुन्।
उनले सम्बोधनका क्रममा आफूलाई बिरुवासँग तुलना गरे। आफू मंसिरमा रोपेको बिरुवा भएकाले मतदाताले मल हालिसकेको बताउँदै यस पटक जल हालिदिन उनले आग्रह गरे।
‘तपाईंहरुले नै गत मंसिरको निर्वाचनमा रोपेको बिरुवा हुँ, त्यहीबेला मल पनि हालिसक्नुभयो', उनले भने, 'अब यस पटक वैशाख १० गते तपाईंहरुले मलाई जल हालिदिनु होला।’
उनले टीभी कार्यक्रम चलाउँदा आफू चितवनमै थुनामा परेको पनि स्मरण गरे। 'म यहीँ थुनिएको थिएँ। मंसिरमा यहीँबाट संसद्मा पुगेको हुँ', उनले भने, 'अहिले मलाई ‘न्याय चाहिए चितवन जानू’ भन्ने अवस्था आएको छ।'
उनले आफूलाई चितवनबासीले न्याय गर्ने पनि बताएका छन्। ‘फेरि देशका लागि न्याय खोज्न यहाँ आएको हुँ। यस पटक चितवनले देशलाई न्याय गर्नेछ', उनले भने, 'यहाँ म कुनै व्यक्ति जिताउन आएको होइन, देश र युग जिताउन आएको हुँ।’
Shares
प्रतिक्रिया