ad ad

राजनीति


राष्ट्रियसभामा नेकपाका उम्मेदवारः नेताका आफन्तदेखि चुनाव हारेकासम्म

राष्ट्रियसभामा नेकपाका उम्मेदवारः नेताका आफन्तदेखि चुनाव हारेकासम्म

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ७:५८,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार राष्ट्रियसभा सदस्यका १६ उम्मेदवारको टुंगो लगाएको छ। जसमा पूर्वएमाले समूहबाट ९ र पूर्वमाओवादी समूहबाट ७ जना छन्।

३–३ जना निर्वाचित हुने प्रदेश १ र प्रदेश ५ मा पूर्वएमालेको भागमा २–२ र बाँकीमा १–१ जना परेको छ। पूर्वमाओवादीले भने सातै प्रदेशमा १–१ जना पाएको छ।

नेकपाको उम्मेदवार सूचीमा चुनाव हारेका नेताहरु त छन् नै ठूला नेताका आफन्त पनि अटाएका छन्। 

प्रदेश १
प्रदेश १ बाट सिफारिस भएका तीनमध्ये एक गोपी अछामी पूर्वमाओवादी हुन्। उनी नेकपाका केन्द्रीय सदस्य हुन्। पहिलो संविधानमा निर्वाचित भएका उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राज्यमन्त्री थिए। अछामी अध्यक्ष प्रचण्ड निकट छन्।

त्यस्तै, देवेन्द्र दाहाल प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन्। झापा जिल्ला कमिटीका पूर्व प्रमुख दाहाल ओली अध्यक्षमा निर्वाचित भएपछि स्वकीय सचिव बनेका थिए। ओली पहिलो पटक प्रधानमन्त्री हुँदा विज्ञको रुपमा उनलाई सचिवालयमा नियुक्त गरिएको थियो।

इटहरीकी इन्दु गौतम पूर्वएमाले नेतृ हुन्। लामो समयदेखि महिला संगठनमा काम गरेकी गौतम नाताले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार राजन भट्टराईकी सासु हुन्।

प्रदेश २
प्रदेश २ बाट उम्मेदवार बनेकी तुलसा दाहाल पूर्वएमाले नेतृ हुन्।

सर्लाही पुनर्वासका राधेश्याम पासवान पूर्वमाओवादी निकट हुन्। पञ्चायतकालमा धनुषाको झिँजाबाट उनको परिवार बसाइँ सरेर सर्लाहीको पुनर्वास गएर बसेको थियो।

प्रदेश ३
प्रदेश नम्बर तीनबाट सिफारिस भएका बेदुराम भुसाल नेकपाका स्थायी समिति सदस्य हुन्। दुई वर्षअघि भएको राष्ट्रियसभा चुनावमा उम्मेदवार बनेका भुसाललाई अन्तिम समयमा तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बनेका रामबहादुर थापा बादलको जित निश्चित गराउन नाम फिर्ता लिन लगाइएको थियो। भुसाल माधवकुमार नेपाल निकट नेता हुन्।

त्यसैगरी, गंगा बेल्बासे पूर्वमाओवादी नेतृ हुन्। चितवनकी बेल्बासे नेकपाको समानुपातिकतर्फ प्रदेशसभा सदस्यको उम्मेदवार थिइन्। उनी गतवर्ष निधन भएका नेकपा केन्द्रीय सदस्य डीआर पौडेलको पत्नी हुन्।

गण्डकी प्रदेश
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभा सदस्य बनेका छन्। गत निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।

भगवती न्यौपाने तनहुँकी नेतृ हुन्। उनी तत्कालीन एमालेको जिल्ला कमिटी सचिव हुन्। लामो समय माधवकुमार नेपाल निकट रहेकी उनी पछिल्लो समयमा अध्यक्ष केपी शर्मा ओली नजिक पुगेकी नेकपा नेताहरुले बताउँछन्। स्थानीय तहको चुनावमा तनहुँको भानु नगरपालिकाकाे मेयरमा न्यौपाने पराजित भएकी थिइन् । 

प्रदेश ५
यहाँबाट उम्मेदवार बनेकी विमला घिमिरे स्थानीय चुनावमा कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा उठेकी थिइन्। मेयरमा पराजित भएकी घिमिरे पार्टी महासचिव विष्णु पौडेलनिकट छिन्। उनी नेकपा केन्द्रीय सदस्य हुन।

त्यसैगरी अपांगता भएका व्यक्तितर्फबाट उम्मेदवार बनेका जगप्रसाद शर्मा प्रदेश कमिटीका सचिव हुन्। पूर्व माओवादी शर्मा रामबहादुर थापा बादल नजिक मानिन्छन्।

उमेरले सात दशक टेकेका गोपाल भट्टराई बुटबलका पुराना नेता हुन्। पार्टी एकीकरणको समयमा भट्टराईलाई रुपन्देही जिल्ला कमिटी अध्यक्ष बनाउन सिफारिस गरिएको थियो।

कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट उम्मेदवार बनेका मायाप्रसाद आचार्य प्रदेश कमिटीका सचिव हुन्। पहिलो संविधानसभा निर्वाचन जितेका आचार्य नेकपा केन्द्रीय सदस्य हुन्। प्रदेश कमिटीको नेतृत्व नपाएको भन्दै असन्तुष्ट रहेका आचार्यले दुई पटक सो पदबाट राजीनामा दिएका थिए। उनी केन्द्रीय सदस्य रामदीप आचार्यका दाइ हुन्।

सुमित्रा बिसी राष्ट्रिय वाणिज्य बैंककी सेवा निवृत कर्मचारी हुन्। सुर्खेतकी बिसी प्रधानमन्त्री ओली निकट मनिन्छिन्।

सुदूरपश्चिम प्रदेश
त्यसैगरी सुदूरपश्चिमबाट उम्मेदवार बनाइएकी शारदा भट्ट पूर्व एमालेकी नेतृ हुन। उनी नेपाल निकट छिन्। त्यसैगरी तारामान स्वाँर अछामका हुन् र उनी पूर्व माओवादीका नेता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .