धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरका उदयकान्त महतो ८ वर्ष अघिसम्म वर्षेनी झण्डै ४ विघामा उखु खेती गर्थे। एकवर्षमा दर्जन ट्याक्टर उखु चिनी मिलमा बेच्थे र तुर्पीनमा पेलेर मिठा (सक्खर) पनि बनाएर बजारमा बेच्ने गर्थे। तर पहिले उखु उब्जाउने उनको झण्डै साढे ३ विघा खेतमा अहिले आँपको बगैँचा छ। त्यसैले उनलाई पहिलेजस्तो झण्झट र तनाव छैन अहिले।
‘पहिले उखु उब्जाएर मिलसम्म पुर्याउन, भुक्तानी लिन, पेलेर मिठा बनाएर बजार पुर्याउन र बेच्न कम झण्झट थिएन’, उदयकान्त महतोले ती दिनलाई अहिलेको अवस्थासँग दाँजे, ‘तर अहिले हामी त्यो झण्झटबाट मुक्त छौं। बगैँचामा आँप फल्छ, बगैँचामै व्यापारी आउँछन् र नगदमै किनेर लग्छन्। कुनै झण्झट छैन।’
उखु खेतीको विकल्पमा आफ्नो धेरै जग्गामा आँप र बाँकी केहीमा तरकारी खेती गर्ने गरेको उदकान्तका छोरा धर्मानन्द महतो बताउँछन्। आँप खेतीबाट थोरै मिहिनेतमा वर्षेनी विघाको करिब २ लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाई छ।
बटेश्वर गाउँपालिकाकै वडा नं. २ भूचक्रपुरका रामनाथ महतो पनि ४ वर्षअघिसम्म दुईविघा जग्गामा उखु खेती गर्थे। र, आफ्नै दरबाजामा तुर्पीन राखेर मिठा बनाई बजारमा बेच्थे। उनको मुख्य खेती नै उखु थियो। तर उनको झण्डै डेढ विघा जग्गामा अहिले आँपको बगैँचा छ। बाँकीमा गहुँ र कागती बाली।
पहिला उखु उब्जाउन र चिनीमिल तथा सक्खर बनाएर बजारमा पुर्याइ बेच्न रामनाथलाई पनि कम तनाव थिएन। उखुलाई आँपले विस्थापित गरेपछि भने उनको अवस्था पहिलेको जस्तो छैन।
‘चिनी मिलले समयमा भुक्तानी दिँदैन्थ्यो, मिहिनेत र लगानी अनुसार बजार भाउ थिएन, अनि बाध्य भएर उखु खेतीको बिकल्प रोजेँ’, रामनाथले भने, ‘यहाँ सिँचाइको समेत व्यवस्था नभएकाले धेरै जग्गामा आँपाको बगैँचा, केहीमा कागती, धान र गहुँ खेती गरेको छु।’
तर उखुबाटजस्तो आम्दानी आँप खेतीबाट हुन्छ त?
‘उखु उब्जाउने जस्तो तनाव अब छैन’, उनी थप्छन्, ‘उखुको तुलनामा आँप र कागतीबाट झन् राम्रो आम्दानी भइरहेको छ।’
डेढ कठ्ठामा लगाएको कागती खेतीबाट मात्र वर्षमा ४० हजार र आँपबाट बेग्लै आम्दानी हुने रामनाथले बताए।
मधेसका धेरै किसान अहिले उखुबाट आँप र अन्य खेतीतर्फ लागिरहेका छन्, उदयकान्त र रामनाथ उदाहरण मात्र हुन्। लगानी र मिहिनेत अनुसारको बजार भाउ नपाइने अनि चिनी मिलले समयमा भुक्तानी पनि नदिने हुँदा यस क्षेत्रका धेरैले उखु खेती छाडिसकेका छन्। केहीले मात्र त्यो पनि थोरै जग्गामा उखु खेतीलाई जोगाएर राखेका छन्।
बटेश्वर गाउँपालिका वडा नं. ३ का रामचन्द्र कुशवाहाले केहीवर्ष अघिसम्म नगदेबालीका रुपमा अढाई विघा (५० कठ्ठा) जग्गामा उखुखेती गर्ने गर्दै आएका थिए। तर उनले अहिले उखुलाई १० कठ्ठामा सिमित गरेका छन्।
‘समयको अन्तरालसँगै उखु उब्जाउन प्रयोग गरिने हर, खाध मल, बीउ, मजदुर सबैको भाउ बढ्यो तर उखुको मूल्य बढेन’, रामचन्द्रका छोरा राममणि कुशवाहा भन्छन्, ‘ऋण लिएर उखु खेतीमा लगानी गर्नुपर्छ तर त्यस अनुसारको प्रतिफल छैन। मिलमालिकले पनि समयमा भुक्तानी दिँदैनन्। उखु किसान घाटैघाटामा छन्। त्यसैले अब अन्य खेती रोज्नुको बिकल्प छैन।’
किसानले उखु खेती छोड्नुको अर्को कारण मिलले समयमा उखु नलिनु पनि हो। अर्थात ढिलोगरी उखु लिनु र ढिलोगरी भुक्तानी दिनु।
‘मिलले ढिलोगरी उखु लिँदा कम उखुमा बढी चिनी उत्पादन हुन्छ तर ढिलो गर्दा किसानको उखुको तौल घट्छ। त्यसैले घाटैघाटा छ’, तुर्पीनमै उखु पेलेर मिठा बनाइरहेकी बटेश्वर गाउँपालिका १ सोनापुरकी गीतादेवी महतोले भनिन्, ‘अर्को बाली लगाउन हतार छ। तर मिलले समयमा उखु नलिएपछि पेलेर सक्खर बनाइ बेच्ने बाध्यता छ। अर्को वर्षदेखि उखु खेती नै कम गर्छु।’
यस भेगमा पहिले उखु नै मुख्य खेती थियो। चिनी मिलसँग खिन्न किसानहरु अब अर्कोतिर लागेका हुन्।
धनुषाकै चित्रपुरका डेढसयभन्दा बढी घरपरिवारले ८र९ वर्षअघिसम्म उखु उब्जाउने गर्थे। अहिले ७५ प्रतिशत किसान बाध्य भएर त्यसको बिकल्पमा आँप, कटहर, लिची, कागती खेतीमा लागेका छन्।
‘त्यसैबाट कम मिहिनेत र लगानीमा राम्रो आम्दानी आइरहेको छ’, स्थानीय किसान खेलावन महतोले भने, ‘अहिले केही किसानले उखु खेतीलाई निरन्तरता मात्र दिइरहेका छन्।’
‘अहिलेको महँगी अनुसार मूल्यांकन गरी उखुको बजार भाउ तोकिए र समयमा चिनीमिलले उखु लिएर समयमै भुक्तानी गरे हामी उखु खेती गर्न तयार नै छौं’, चित्रपुरका रामउदघाग महतोले भने, ‘तर उखु किसानको जुन हालत अहिले छ, यही अवस्था रहिरहे उखु खेती फस्टाउन सक्दैन, विस्तारै हराउँदै जान्छ।’
प्रतिक्रिया