ad ad

कारोबार


गण्डक जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुचारु

गण्डक जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुचारु

रासस
पुस १८, २०७६ शुक्रबार ७:३८,

करिब दुई महिनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन सुरु भएको छ। गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा गत कात्तिक १२ गतेबाट पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो ।

गत मङ्सिर ३० गतेबाट नहरमा पानी आएपछि पुसको पहिलो साताबाट केन्द्रमा विद्युत् उत्पादन शुरु भएको कार्यालयका इञ्जिनियर अनिल शाहले जानकारी दिए। केन्द्रमा हाल दैनिक झण्डै तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको अवस्था छ ।

पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौँदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरूपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

केन्द्रमा जडित तीन टर्वाइनमध्ये त्यसमा जडित उपकरण र मेसिनरीका सामान पुरानो भएपछि तीन टर्बाइनमध्ये दुई टर्वाइन बिग्रिएर पूर्णरूपमा थन्किएका छन् भने २ नं टर्वाइन मात्रै सञ्चालनमा रहेको छ। मर्मतसम्भार नहुँदा करिब १० देखि १२ वर्षअघिबाट थन्किएका टर्वाइन नं १ र वर्षअघिबाट टर्वाइन नं तीन वर्षदेखि बिग्रेको अवस्था छ।

हाल सञ्चालनमा रहेको २ नं टर्बाइन (एउटा मात्र) टर्बाइनसमेत जीर्ण अवस्थामा रहेको छ। सञ्चालनमा रहेको एउटा टर्बाइनसमेत उपकरण र मेसिनरीका सामान पुरानो हँुदासमेत टर्वाइनले समेत लक्ष्यअनुसारले विद्युत् उत्पादन गर्न सकेको छैन।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग निहित छ। केन्द्रमा रहेको मेसिनरी उपकरण पुरानो हुँदै जाँदा एउटा टर्वाइनले पनि क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ।

केन्द्रमा एउटा टर्वाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक हुन्छ। नहरमा आवश्यकताअनुसार पानी आए पनि र राम्रा उपकरण नहँुदा अहिले सञ्चालनमा रहेको एउटा टर्वाइनबाट समेत पूर्णरूपमा उत्पादन हुन सकेको छैन। करिब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकांश उपकरणहरु मर्मत वा फेर्नुपर्ने अवस्थामा रहेका छन् ।

केन्द्रलाई पूर्ण क्षमताअनुसार सञ्चालनमा ल्याउन वृहत् मर्मतसम्भार योजना आवश्यक रहेको बताइएको छ। पुरानो प्रविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमताअनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले जनाएको छ।

दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करिब रु एक अर्ब बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रले जनाएको छ। सो केन्द्रलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेको यसअगावै बताउँदै आएका छन्।

सो केन्द्रमा रहेको सवस्टेशनमार्फत विद्युत् भारतको रामनगरमा आयात–निर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ कबाट परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । सो विद्युत्गृह सन् १९७९ मा निर्माणसम्पन्न भई सञ्चालनमा आएको थियो।

भारत र नेपालको सम्झौताअनुसार विद्युत्गह सन् १९८१ मा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत् केन्द्रका अधिकांश भवन र संचरना तथा मेसिनरी उपकरण जीर्ण भइसकेका छन्। केन्द्रमा हाल स्थायी र ज्यालादारी गरी करीब ५० कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .