राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाका गतिविधि र वक्तव्यलाई लिएर तरंगित हुन नपर्ने बताएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह झापामा दुर्गा प्रसाइको कार्यक्रममा सहभागी रहेको तथा प्रजातन्त्र दिवसमा दिएको वक्तव्यप्रति संकेत गर्दै थापाले यी कुराको अर्थ नहुने उल्लेख गरे।
रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा गरेको कार्यक्रममा उनले पूर्वराजाले राजसंस्था पुनर्स्थापना गर्न चाहेको हो भने अब ढिला भइसकेको बताए।
‘लामो समयसम्म राजसंस्थासँग नजिक रहेर काम गरेको नाताले मलाई के लाग्छ भने पूर्वराजाले जुन सहकार्यको धारणा ल्याउनुभएको छ, यो कुनै पूर्व तयारी गरेर सोचाइ राखेर भन्दा पनि क्षणिक रुपमा देखा परेको विसफूल थिंकिङ मात्र हो’ उनले भने।
थापाले राजनीतिक महत्वकांक्षा भएका व्यक्ति राष्ट्रपति हुन नहुने बताए।
‘राजनीतिक महत्वकांक्षा भएका राजनीतिलाई प्रभावित गर्ने खालका र राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्न चाहने व्यक्तिहरु राष्ट्रपतिको लागि योग्य हुँदैनन्’ उनले भने, ‘विगतमा दुवै राष्ट्रपतिबाट यो खालको राजनीतिक सक्रियता देखाइयो। त्यसले गर्दा राष्ट्रपति प्रणालीमाथि पनि प्रश्न उठेको छ।’
अन्य मुलुकमा पनि सेरेमोनियल राष्ट्रपति भएको मुलुकमा सक्रिय राजनीतिक गर्नेहरु राष्ट्रपति नभएको उदारहण उनले दिए।
थापाले पार्टीको स्वार्थ पुरा गर्ने हतियारको रुपमा दलहरुले आफ्नो अनुकुलको व्यक्ति राष्ट्रपतिमा ल्याउन अनावश्यक प्रतिस्पर्धा गरेको बताए।
उनले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भएपनि त्यो गठबन्धन चुनावलगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताउँदै देशमा फोहरी राजनीतिक खेल चलेको बताए।
थापाले कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वभाविक र अपवित्र भएको बताउँदै नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुईतर्फ विचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वभाविक र अपवित्र नै रहेको ठोकुवा गरे।
‘अहिलेको गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिँदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्मनिरपेक्षताका एजेण्डा बोक्ने एकैठाउँमा बसेका छन्। यो गठबन्धन झन अपवित्र छ’ उनले भने।
अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढे पनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको आरोप पनि लगाए।
Shares
प्रतिक्रिया