नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक बन्दीहरुको रिहाइ गर्ने विषयमा आवश्यक कानुन निर्माण गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि पनि राजनीतिक मुद्दाहरू फिर्ता लिने गरेको उल्लेख गरे।
‘राजनीतिक मुद्दाहरु फिर्ता लिने र राजनीतिक बन्दीहरु रिहाइको चर्चा चलिरहेको छ’, ओलीले भने, ‘म आग्रह गर्न चाहन्छु सरकारले यस सम्बन्धमा छिटो व्यवस्थापन कानुन निर्माणको सन्दर्भमा आवश्यक कदम चालोस्।’
राजनीतिक मुद्दाहरु फिर्ता र बन्दीहरू रिहाई गर्ने गरेको भन्दै उनले यसमा सरकारले बेलैमा ध्यान दिनपर्ने बताए। ‘किनभने हामीले राजनीतिक मुद्दाहरु फिर्ता लिने गरेका पनि छौं। र राजनीतिक बन्दीहरु रिहाई गर्ने गरेका पनि छौं। त्यसकारण यी पक्षहरुलाई छिटो ध्यान दिओस् भन्न चाहन्छु।’ ओलीले भने।
नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको रिहाइतर्फ संकेत गर्दै ओलीले सो कुरा बताएका हुन्।
साथै, उनले राष्ट्रलाई अस्थिरतातर्फ हिँडाउन खोजेर कसैको पनि हित नहुने बताए। ०५२, ०५८ र ०७२ का अनुभवलाई सम्झनपर्ने ओलीको भनाई छ।
Shares
प्रतिक्रिया