नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (निम्ब)ले एनसीएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपसबाट ‘नेपालपे ट्याप’ र र ‘नेपालपे क्यूआर’ सेवा सुरु गरेको छ।
ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
‘अब इन्टरनेटविना पनि ग्राहकले नेपालपे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी डाइनामिक नेपालपे क्यूआरलाई पनि निम्बले आफ्नो फिनपसमा सुचारु गरेको छ।’
उक्त फिनपसमा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्टआईपीएस प्रयोग गर्न सकिन्छ। निम्बले सुरु गरेको पस डिभाइसमा क्यूआर र एनएफसीमार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो।
नेपालपे ट्याप, ‘एनएफसी’ प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरुबीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ। यो पी२पी र पी२एम भुक्तानीहरूको लागि कन्ट्याक्टलेस भुक्तानीको माध्यम हो। ग्राहकलाई एनएफसीसम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन।
यससँगै अब ग्राहकले पसबाट भुक्तानी गर्दा कार्डको प्रयोगविना नै आफ्नो फोन फिनपसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन्। हाल यो सेवा कनेक्टआईपीएस मोबाइल एपमार्फत उपलब्ध रहेको छ। यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी इनेबल भएको हुनुपर्दछ। हाल नेपालपे ट्यापको कारोबार सीमा प्रतिकारोबार ५ हजार रुपैयाँसम्म रहेको छ र यसलाई ग्राहक आफैंले पनि निर्धारण गर्न सक्दछन् ।
सिटीटेकले विभिन्न बैंकका लागि अल इन वान मेसिनको रूपमा फिनपस उपलब्ध गराउँदै आएको छ। मर्चेन्टहरुका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरणमार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ। नेपालपे ट्याप र नेपालपे क्यूआर सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ।
Shares
प्रतिक्रिया