नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।
१७ महिना लामो गठबन्धन यात्रा तोडेर एमालेसँग मिले पनि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर संसदमा प्रतिपक्षीविहीन अवस्था सिर्जना गरेको छ।
कांग्रेसको यो निर्णयको संकेत सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।
सात दलीय गठबन्धन सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिकी कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका थिए।
'प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि सरकारले गति लिन्छ', उनले भने, 'बजार हल्ला हुन्छ। यो हल्लै हल्लाको देश भनेर कविजीले लेखेका थिए। सरकार बनिनसक्दै के के हुन्छ भनेर हल्ला गरेछन्।'
उनले अहिले नै एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट सरकारको पक्षमा १७४/१७५ मत रहेको बताएका थिए।
'अहिले नै १७४/७५ सांसदको समर्थन छँदैछ। हामीसँग झन्डै १८० सांसदको समर्थन छ', उनले नेपाली कांग्रेसतिर लक्षित गर्दै भने, 'त्यसमाथि भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदा ८५ देखि ८८ जना सांसदको समर्थन थपियो भने पनि अफ्ठ्यारो मान्नुपर्दैन।'
ओलीले भनेअनुसार प्रतिनिधिसभामा कांग्रेसका ८९ जना सांसद छन्। अहिले प्रचण्ड नेतृत्वको सरकारलाई १६९ सांसदको समर्थन छ। नेकपा एकीकृत समाजवादीले पनि सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।
समाजवादीसँग १० जना सांसद छन्। समाजवादीका १० जना सांसद थपिँदा १७९ हुन्छ। ओलीले समाजवादीसहित हिसाब गरेर १८० सांसदको आँकडा सुनाएका थिए।
त्यसबाहेक ओलीले ८५ देखि ८८ सांसदको हिसाब देखाएको कांग्रेसकै थियो। कांग्रेसले पनि ओलीले भनेझैँ सरकारलाई विश्वासको मत दिने निर्णय गरेपछि प्रचण्ड नेतृत्वको सरकार दुईतिहाइको भएको छ।
अहिलेको सरकारलाई एउटा गिलासको संज्ञा दिँदै उनले कांग्रेसले मत बाहिर नपोख्ने संकेत गरेका थिए। 'पानी गिलासमा नहालेर बाहिर किन पोख्नु? त्यही भएर भोलि ८५ देखि ८८ सांसदको थप मत आउन सक्छ', ओलीले भनेका थिए, 'यो सरकारले बलियोसँग उभिएर सबैसँग असल सम्बन्ध निर्वाह गर्छ।'
Shares
प्रतिक्रिया