ad ad

राजनीति


कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री छाड्न नमानेपछि माओवादीले अघि बढायो एमालेसँग सरकार गठनबारे छलफल

कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री छाड्न नमानेपछि माओवादीले अघि बढायो एमालेसँग सरकार गठनबारे छलफल

नेपालखबर
पुस ९, २०७९ शनिबार २२:३८, काठमाडौँ

नयाँ सरकार गठनका लागि भएका छलफलहरूमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद आफैले राख्ने अडान झन् कसिलो बनाएपछि माओवादी केन्द्र अब यो गठबन्धनभित्र सहमति नबन्ने निष्कर्षमा पुगेको छ।

पहिलो चरणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनु पर्ने अडानमा रहेका माओवादीका नेताहरू आइतबार बिहान हुने बैठक निर्णायक बन्न सक्ने बताउँछन्।

अध्यक्ष प्रचण्ड निकट माओवादीका एक नेताका अनुसार शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सहमती जुट्ने भन्दा असहमती झन् बढ्नेजस्तो देखिएको हो।

‘प्रधानमन्त्री देउवाले नै चुनावपछिको प्रधानमन्त्री तपाईं हो भनेर प्रचण्डलाई चुनावअघि भन्नुभएकै हो, अहिले उहाँलाई त्यो भनाइअनुसार चल्न गाह्रो भएको छ’, माओवादीका ती नेता भन्छन्, ‘प्रचण्डले प्रष्ट रुपमा यसपाली प्रधानमन्त्री बन्न सहयोग गर्न भनिरहनु भएको छ, तर देउवा यस विषयमा बोल्दै बोल्नु हुन्न, उहाँ निकट कांग्रेसका नेताहरू चाहिँ राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले छाड्न सक्दैन भन्दैछन्।’

नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको १० पुससम्मको समय घर्किन लाग्दा सत्ता गठबन्धनमा सहमति जुट्नुभन्दा असहमति झन् बढेको हो। 

आइतबार राष्ट्रपतिले दिएको समय नजिकिँदै गर्दा शनिबार कांग्रेसका नेता पूर्णबहादुर खड्का र रामचन्द्र पौडेल प्रचण्ड निवास खुमलटार पुगे भने दिउँसो बालुवाटारमा गठबन्धनको बैठक बस्यो। तर सहमति जुट्नुको साटो असहमति झन् बढ्ने अवस्था देखियो। 

‘सहमतिको निकट पुगेको भन्ने होइन, असहमति चाहिँ झन् बढेको छ, माओवादीका ती नेता भन्छन्, ‘निर्वाचनमा राम्रोसँग भोट पनि ट्रान्सफर भएन, अब राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले नछाड्ने हो भने माओवादी कांग्रेससँग किन बसिरहने?’

कांग्रेसका एक नेताका अनुसार प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री हुने अडान लिएपछि परिस्थित जटिल भएपनि देउवाले पार्टीभित्र छलफल गरिरहेका छन्। 

‘प्रचण्डलाई प्रधानमन्त्री हुन्न भन्नु भएको छैन, साथीहरूसँग सल्लाह गर्छु भन्नुभएको छ’, ती नेताले भने। 

स्वयं देउवाले नै हुन्न नभनेकाले माओवादी पक्ष अझै आशावादी चाहिँ देखिन्छ, त्यसैका लागि आइतबार १० बजे फेरि गठबन्धनको बैठक बसेर छलफल गर्ने सहमति भएको छ।

‘देउवाले नै त प्रचण्डलाई पहिला प्रधानमन्त्री हुन्न भन्नु भएको छैन, तर उहाँका नजिकका नेताले राष्ट्रपति र प्रधानमन्त्री पदमा सम्झौता हुँदैन भनेपछि कुरा प्रष्ट भैहाल्यो’, माओवादीका नेता भन्छन्, ‘तैपनि आइतबार फेरि छलफल गर्ने कुरा भएको छ, तर अब मिल्ने सम्भावना कम छ।’ 

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद नछाडेको अवस्थामा माओवादी यो गठबन्धनबाट बाहिरिएर फेरि एमालेसँग गठबन्धन गर्नेतिर लाग्छ त?     

एमाले–माओवादी सहित नयाँ गठबन्धन बन्नेमा पनि माओवादीका नेताहरू त्यत्ति आश्वस्त चाहिँ सुनिँदैनन्। 

‘एमालेले चाहन्छ भने गठबन्धन हुन सक्छ, तर दुवै पार्टीले जित्ने गरि गठबन्धन गर्न एमाले तयार हुनुपर्यो’, माओवादीका ती नेताले भने, ‘हामी एमालेसँग गठबन्धनको कुरा हुन थालेपछि फेरि कांग्रेसतिर फर्किंदैनौँ, एमलेसँगै अगाडि बढ्छौँ।’

एमाले अध्यक्ष केपी ओलीले आइतबार ‘समयमै निर्णय गर्न नसकेकाले अब प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना सकिएको’ भन्दै माओवादीमाथि दबाब बढाएका छन्। बिहीबार प्रचण्डले एमालेबाट प्रधानमन्त्री बन्ने प्रस्ताव आएको ब्रिफिङ पार्टी पदाधिकारीलाई गरेका थिए।

एमालेका नेताहरू प्रचण्डलाई एमालेको प्रस्तावमा प्रधानमन्त्री बन्न अफर गर्दा पनि उनले निर्णय गर्न नसकेको बताउँछन्। एमालेका नेताहरूका अनुसार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा एक ठाउँ उभिँदा प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन्। राप्रपाले प्रचण्डको सरकारलाई बाहिरबाट समर्थन दिन सम्क्छ। 

प्रचण्डलाई प्रधानमन्त्रीको अफर गर्दा एमालेले राष्ट्रपति र सभामुख पद आफुले राख्न चाहेको छ। 

कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री छाड्न नमानेपछि एमालेसँग वैकल्पिक गठबन्धनबारे छलफल अघि बढाए पनि प्रचण्ड एमालेसँग पनि त्यत्ति आश्वस्त हुन सकेको देखिँदैन। 

‘यदि माओवादी गठबन्धनबाट निस्किएपछि एमालेले कांग्रेसलाई सरकार बनाउन सहयोग गर्यो भने चाहिँ हामी विपक्षमा बस्छौँ’, माओवादीका प्रचण्ड निकट ती नेताले भने, ‘हामी त्यसका लागि तयार छौँ।’    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .