कास्कीका रामचन्द्र अधिकारी, सोमनाथ अधिकारी ‘प्यासी’, म्याग्दीका कृष्णप्रसाद भट्टराई र सोमबहादुर बोगटी कास्की हेम्जाकै जयप्रसाद बास्तोला, कास्की हंसपुरका पुष्पकमल सुवेदी, पोखरा सराङकोटका मोदनाथ रेग्मी, अमरनाथ सुवेदी, गोपालनन्दन गिरी, जयप्रकाश बास्तोलालगायतका युवाहरुलाई ‘नक्सलवादी’ आन्दोलनले तानिसकेको थियो।
तातो रगत! सत्ता विप्लव चाहने उनीहरुले २०२५ साल जेठ ३० गते नेकपा माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल (गण्डकी–धौलागिरी) गठन गरे।
हालका एमाले अध्यक्ष केपी शर्मा ओलीले मालेको सदस्यता लिनुअगावै रगतले ल्याप्चे ठोकेका उनीहरुले भूमिगत संगठन निर्माण थाले। युवाहरुसँग खर्च थिएन। त्यसैले उनीहरुले ‘आफैँ बाँच र पार्टीको काम गर’ भन्ने नीति पारित गरे। त्याग, बलिदान, इमान्दारी र समर्पणको नारासहित गाउँ पसे। र, यसरी गाउँ पस्नेमध्ये एक थिए, एमालेका पुराना नेता सोमनाथ अधिकारी ‘प्यासी’।
२०२७ सालमा म्याग्दी उक्लिएका प्यासीले सुरुमा दरबाङ स्कुलमा पढाए।
‘दरबाङ हाइस्कुल पढाएँ, तातोपानी साइडतिर संगठन निर्माण गरेँ। अरु साथीहरुले राखुमा काम गर्नुहुन्थ्यो। सोमबहादुर बोगटी प्रकाश माविमा पढाउनुहुन्थ्यो। रामचन्द्र दाइ (रामचन्द्र अधिकारी) र प्रकाशहरु राखुमा काम गर्नुहुन्थ्यो,’ अतीत सम्झँदा रोमाञ्चित बनेका प्यासीले भने, ‘साथीहरुले दोवा जाऊ भने। त्यहाँ भानु निम्न माध्यामिक विद्यालय खोलेँ, काम थालेँ। दिनभर केटाकेटी र रातभर बाउआमा पढाउने काम गरेँ।’
प्यासीको भनाइ अनुसार दोवा (हाल अन्नपूर्ण गाउँपालिका–१) तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भीमप्रसाद गौचनको पकेट क्षेत्र थियो। प्यासीको दावी अनुसार विकट गाउँमा भीमप्रसादको चरेस खेती थियो। प्यासीले दोवा पुगेपछि नयाँ अभियान चलाए। भीमप्रसादले चरेस खेती गरेको ठाउँमा ५४ हल गोरु लगेर जोत्न लगाए, जग्गा बाँडे र गाउँलेलाई मकै रोप्न उक्साए। भीमप्रसाद रिसाउनु स्वाभाविक थियो। उनले प्यासीलाई पक्राउ गर्न सीडीओसहितको टोली पठाए।
सीडीओसहितको टोलीलाई गाउँलेले डाँडा माथिबाट ढुंगामुढा गरे। सीडीओले हात उठाए।
‘गिरफ्तार गर्न आएका सीडीओसहितको टोलीलाई लक्षित गर्दै माथिबाट ढुंगामुढा गर्यौँ। उनले हात उठाए। नाम बिर्सेँ, सिजापति थरका सीडीओ थिए,’ प्यासीले भने, ‘हामीले सीडीओलाई कब्जामा लियौँ। उनी बोलेनन्। हामीले सिंगो दोवा कब्जा गर्यौँ। आमसभा भयो। पञ्चहरुलाई राजीनामा दिन लगाइयो। मलाई गिरफ्तार गर्न आएका सीडीओ नै गिरफ्तारीमा परेपछि हामीले त्यहाँ गणतन्त्र घोषणा गर्यौँ।’
दोवा कब्जालाई उनी अहिले आफूले चुनाव जितेभन्दा मिठो सफलताको रुपमा स्मरण गर्छन्। तीन महिनासम्म दोवा कब्जा गरेका उनी पछि पक्राउ परे। त्यही अभियोगमा तीन वर्ष जेल परे। जेलबाट छुटेसँगै २०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा उनी कास्कीबाट जनपक्षीय उम्मेदवार बने। बाल्टिन चुनाव चिन्ह लिएका प्यासी राष्ट्रिय पञ्चायत पुगे। आफूविरुद्ध अभियान चलाएका व्यक्ति रापंस भएर आएपछि भीमप्रसाद मुर्मुरिनु स्वभाविक थियो।
उनले राष्ट्रिय पञ्चायतमै भने, ‘यहाँ (राष्ट्रिय पञ्चायतमा) रक्तबीजहरु चुनाव जितेर आएका छन्।’
प्यासी पनि के कम! उनले भीमप्रसादले गरेका गलत क्रियाकलाप समेटिएको र आफैँले सीडीओबाट कब्जा गरेको पहेँलो डायरी देखाउँदै भने रे, ‘चरेस बेच्न पाइनँ भनेर यस्तो भन्ने? मेरो अनुहारमा आँखा जुधाएर हेर्ने ताकत कसैसँग छ?’
प्यासी म्याग्दीको संगठनलाई अहिले पनि सबैभन्दा चुस्त र बलियो मान्छन्। आफूले रक्तबीजको रुपमा कार्यकर्ता जन्माएको गर्व गर्छन्।
‘हामीले त्यो बेला गरेको गतिविधिको जगमा टेकेर म्याग्दीको संगठन निर्माण भएको हो,’ उनी ठोकुवा गर्छन्।
प्यासीको बोलीमा दम छ। कारण, २०४८ सालदेखि हालसम्म भएका चुनावमध्ये त्यहाँ एक पटक मात्र कांग्रेसले जितेको छ। त्यो पनि, एमाले विभाजनपछि २०५६ सालमा। २०५६ सालको चुनावमा मालेबाट यसअघिका सांसद निल पुन, एमालेबाट नरदेवी पुन र कांग्रेसबाट नारायणसिंह पुन उम्मेदवार बनेका थिए। वामपन्थी शक्ति फुटेको फाइदा नारायणसिंहले पाए। नत्र, २०४८ सालको चुनावमा म्याग्दीबाट थममाया थापा र चन्द्रप्रकाश बानियाँ, २०५१ सालमा एमालेकै निल पुन, २०६४ सालमा माओवादीका गोविन्द पौडेल, २०७० र २०७४ सालमा क्रमशः एमालेका नवराज शर्मा तथा भूपेन्द्रबहादुर थापा विजयी भए।
२०७४ सालको चुनावमा त्यहाँ वाम गठबन्धन थियो। नवराज अहिले एमाले गण्डकीका अध्यक्ष छन्। निल पुन अमेरिका भासिएका छन्।
अहिले परिस्थिति फेरिएको छ। एमालेको ‘अभेद्य’ किल्ला मानिएको म्याग्दीमा माओवादी केन्द्र फरक धारमा उभिएको छ। कतिसम्म भने प्रतिनिधि सभाको ‘भाग’ पाएको माओवादीले त्यो सिट छाडेर प्रदेशतर्फका २ सिट लिएको छ र त्यहाँ कांग्रेसका जिल्ला सभापतिसमेत रहेका खमबहादुर गर्बुजालाई सघाउँदै अगाडि बढेको छ।
एमालेले हरिकृष्ण श्रेष्ठलाई उम्मेवार तोक्यो। जनजाति बाहुल्य म्याग्दीमा राप्रपाबाट जगतप्रसाद गौचन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिबहादुर खत्री क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनबाट ओमराज मगर तथा स्वतन्त्रहरु विनोद भट्टचन, नविन जिसी र खिलबहादुर बरुवाल मैदानमा छन्।
माओवादीले प्रदेश ‘क’ मा हरि भण्डारी र ‘ख’ मा रेशम जुग्जाली ‘सुविन’लाई उम्मेदवार बनाएको छ भने एमालेले ‘क’ बाट देवेन्द्रबहादुर केसी र ‘ख’ बाट यामबहादुर गर्बुजालाई मैदानमा उतारेको छ।
एमाले म्याग्दीका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ अर्थुङ्गे गाविसका पूर्वअध्यक्ष पनि हुन्। २०२२ साल भदौ २ गते जन्मेका उनीसँग पूर्वकर्मचारीको परिचय झुण्डिएको छ भने खमबहादुर गर्बुजा पूर्वलाहुरे हुन्। दग्राममा २०२२ साल मंसिर ८ गते जन्मेका गर्बुजा र श्रेष्ठबीच उमेरको खासै अन्तर छैन। तर, मुख्य प्रतिस्पर्धा भने एमाले र कांग्रेसका उम्मेदवारबीच नै हुने निश्चित छ।
२०७४ सालमा माओवादीसहित चुनावी मैदानमा होमिएका एमालेका भूपेन्द्रबहादुर थापाले २३ हजार ३०८ मत पाउँदा कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९८० मत पाएका थिए। त्यो चुनावमा राप्रपा र कांग्रेसबीच तालमेल भएको थियो। प्रदेश ‘क’तर्फ माओवादीका विनोद केसी १४ हजार ७०४ मतसहित विजयी हुँदा राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ र ‘ख’ मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मतसहित विजयी हुँदा कांग्रेसका अमलाल फगामीले ७ हजार ९९० मत ल्याएका थिए। प्रदेशतर्फ म्याग्दी ‘क’मा बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका पर्छन् भने ‘ख’ मा धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका छन्।
गएको स्थानीय चुनावको नतिजा हेर्ने हो भने अन्नपूर्ण गाउँपालिका एमालेले जितेको छ। अध्यक्ष भारतकुमार पुनले ४ हजार १५ मत ल्याउँदा कांग्रेसका प्रत्यासी बलबहादुर तिलिजाले ३ हजार ३५८ मत पाएका छन्। धौलागिरीमा कांग्रेसका प्रेमप्रसाद पुन ३ हजार १२३ मतले विजयी हुँदा एमालेका थमसरा पुनले २ हजार ५४८ मत ल्याएकी छन्। त्यहाँ उपाध्यक्ष भने माओवादीले जितेको छ।
बेनी नगरपालिका ७ हजार ६०३ मतसहित एमालेको पोल्टामा जाँदा कांग्रेसका चिरञ्जीवी शर्माले ६ हजार २३० मत पाएका छन्।
मंगला गाउँपालिकामा त्रिपक्षीय भिडन्त भएको थियो। एमालेका सत्प्रसाद रोका ३ हजार ९६८ मतले विजयी हुँदा कांग्रेसका वीरेन्द्र बुढाथोकीले ३ हजार ८०५ र माओवादीका टेकबहादुर विकले १ हजार ५२१ मत पाएका थिए।
मालिकामा एमालेका बेगप्रसाद गर्बुजा ३ हजार ९१ मतले विजयी हुँदा कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले २ हजार १२५ मत ल्याए। रघुगंगामा कांग्रेसका भवबहादुर भण्डारी ४ हजार ३८ मतले विजयी हुँदा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २७९ र माओवादीकी मीना विकले ९९५ मत प्राप्त गरिन्।
स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले पाएको मत जोड्ने हो भने म्याग्दीमा गठबन्धनको पक्षमा २८ हजार १६५ र एमालेको पक्षमा २४ हजार ५०८ मत हुन आउँछ। तर, चुनावमा व्यक्तित्वले पनि भोट तान्छ।
यसअघि २ पटक संघीय सांसद हारेका कांग्रेसका गर्बुजा र २०७० र २०७४ सालको जित दोहोर्याउने दाउमा रहेका श्रेष्ठबीचको प्रतिस्पर्धा कसिलो नै हुने देखिन्छ। म्याग्दीको हकमा एउटा इतिहास छ, त्यहाँ भीमप्रसाद गौचनले ४ पटक रापंस दोहोर्याएबाहेक कुनै पनि सांसद दोस्रो कार्यकालको लागि चयन भएका छैनन्।
गण्डकी प्रदेश थप रिपोर्टः
‘मतदातालाई आफ्नै हातले बनाएको चिया खुवाउँदै भोट माग्दै’
पुरानो डुंगा लिएर पानीको छाल छल्दै पृथ्वीसुब्बा
बागलुङका यी दुई ‘बागी’, जसले स्थानीय चुनावमा विद्रोह गरे, अहिले एमालेको साथ पाए
गण्डकीको मुख्यमन्त्री : एमालेका खगराज अधिकारी कि कांग्रेसका सुरेन्द्र पाण्डे?
स्वर्णिमले टिकट नपाएको गोरखा १ मा व्यवसायी राजेन्द्र र पूर्वमन्त्री रामशरणको टक्कर
महादेवको विद्रोहले कास्की २ मा सत्ता गठबन्धनलाई संकट
सर्वाधिक मतअन्तरको इतिहास बनाउने दाउमा प्रचण्डको गोरखा ‘मुभ’
Shares
प्रतिक्रिया