ad ad

राजनीति


सभापतिको बैठक सानेपामा, महामन्त्रीको भेला महाराजगञ्ज

सभापतिको बैठक सानेपामा, महामन्त्रीको भेला महाराजगञ्ज

सागर न्यौपाने
मंसिर २९, २०७६ आइतबार १३:०,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारबीच आइतबार केन्द्रीय कार्यसमितिको बैठक गरेका छन्।

देउवाले एक साताभित्र पौडेल पक्षको बहिस्कारबीच कार्यसमिति बैठक राखेको यो दोश्रो पटक हो। यसअघि बिहीबार पनि पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरु कृष्ण सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, शेखर कोइराला, सुजाता कोइराला लगायतको अनुपस्थितिबीच बैठक गरिएको थियो।

आइतबार दिउसो १ बजे बोलाएको कार्यसमिति बैठक केहि घन्टा ढिला गरि पार्टी कार्यालय सानेपामा बसी सामान्य विषयमा छलफल र निर्णय गरि टुंग्याइयो।

यसैबीच, उता पौडेल र महामन्त्री सशांक कोइराला नेतृत्वमा कोइराला निवास महाराजगञ्जमा असन्तुष्ट पक्षको छुट्टै भेला राखियो।

सानेपामा छोटो समय बसेको कार्यसमिति बैठकमा कुनै महत्वपूर्ण निर्णय नगरी देउवाले अर्को बैठक सोमबारका लागि बोलाएका छन्। सो बैठकमा कुनै महत्वपूर्ण निर्णय नभएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले धनुषामा भएको बम विष्फोट, सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको र हात्ती आक्रमणबाट घाइते भएकाहरुको उपचारको प्रवन्ध गर्न सरकारसँग माग गर्ने लगायतका निर्णय गरेको विज्ञप्तीमार्फत उल्लेख गरेका छन्। कार्यसमिति बैठकमा कुनै राजनीतिक एजेण्डामा छलफल नभएको मुख्यसचिव पौडेलको विज्ञप्तीमा छ।

सहमहामन्त्री प्रकाशशरण महतले भने राजनीतिक एजेण्डासम्बन्धी कुनै निर्णय नभए पनि छलफल चाहिँ भएको बताए। 

मंसिर २६ गते (बिहीबार) बसेको कार्यसमिति बैठकमा सभापति देउवाले पार्टीको विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने भातृ संस्थाहरुको विधान संशोधन र तरुण दलको ६ महिना म्याद थप गर्ने लगायत नौ बुँदे एजेण्डा प्रस्तुत गरेका थिए।

सोही एजेण्डामा आइतबार पनि सामान्य छलफल भएको सहमहामन्त्री महतले बताए। उनले भने, ‘एजेण्डामा केन्द्रित भएर सामान्य छलफल भयो।’

तत्काल १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक हुनुपर्ने अडान राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबारको कार्यसमिति बैठक पनि वहिस्कार गरेको हो।
आइतबार साँझ पौडेलपक्षीय नेताहरुको भेला महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा आयोजना गरिएको छ।

सहमति प्रयास

उपसभिापति विमलेन्द्र निधिले पौडेल समूहका नेताहरुसँग छलफल गरेर सहमतिमा ल्याउने प्रयास गरेका थिए।

शुक्रबार र शनिबार वरिष्ठ नेता पौडेल र प्रकाशमान सिंहसँग भेट गरेका उपसभापति निधिले आइतबार बिहान महामन्त्री शशांक कोइरालासँग भेटेर सहमति जुटाउने कोशि गरे पनि सफल हुन सकेनन्।

असन्तुष्ट समूहसँग छलफल र कार्यसमितिको बैठक पनि सँगसँगै चलाउने उनको रणनीति अन्तर्गत भेटवार्ता भएपनि कुनै सहमति नभएपछि कार्यसमिति बैठक सोमबारसम्मलाई सारिएको सहमहामन्त्री महतले बताए।

निर्धारित समयमा महाधिवेशन हुने संभावना टर्दै गएपछि सभापतिको भूमिकाप्रति पौडेल समूह असन्तुष्ट रहेको छ । महाधिवेशनकै कारण कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक द्वन्द्व तत्काल सल्टिने संकेत देखिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .