ad ad

राजनीति


तनहुँ १ मा रामचन्द्र पौडेललाई चुनौती दिँदै गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी

तनहुँ १ मा रामचन्द्र पौडेललाई चुनौती दिँदै गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी

नेपालखबर
असोज २३, २०७९ आइतबार १२:२७, काठमाडौँ

आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आफ्ना सदावहार प्रतिस्पर्धी गोविन्दराज जोशीको बागी उम्मेदवारी झेल्नुपर्ने भएको छ। 

आफ्ना समर्थकहरुको जुलुससहित तनहुँ– १ को निर्वाचन कार्यालय पुगेर कांग्रेसबाट पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

२०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट एमाले उम्मेदवार किसान श्रेष्ठसँग वरिष्ठ नेता पौडेल पराजित हुनुमा जोशीको विद्रोह पनि एउटा कारण थियो।

पौडेलसँगको दुश्मनी र भ्रष्टाचार मुद्दाका कारण कांग्रेसबाट पाखा लाग्दै गएका पूर्वगृहमन्त्री जोशीले २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर, भ्रष्टाचार मुद्दालाई आधार बनाएर पौडेलले उनको उम्मेदवारी रद्द गराइदिएका थिए।

जोशीको बागी उम्मेदवारी रद्द गराएपछि सुरक्षित महसुस गरेका पौडेल निर्वाचनमा पनि एमाले उम्मेदवार श्रेष्ठबाट झण्डै ५ हजार मतले पराजित भए। २०४८ यता लगातार विजय हासिल गर्दै आएका पौडेलको संसदीय निर्वाचनमा त्यही नै पहिलो पराजय थियो। 

आफ्नो उम्मेदवारी पौडेलले रद्द गराएपछि जोशी पक्षले निर्वाचनमा वामगठबन्धनका उम्मेदवार श्रेष्ठलाई सहयोग गरेका थिए। तनहुँमा राम्रै प्रभाव रहेका जोशीको असहयोग नै पौडेलको पराजयको मुख्य कारण बन्न पुग्यो। 

पौडेललाई उतिबेला पराजित गर्ने श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन्। २०७४ मा विजय हासिल गरेको आधारमा तनहुँ– १ मा श्रेष्ठकै दावेदारी रहने भए पनि सत्ता गठबन्धनले उनलाई बारा– ४ को उम्मेदवार बनाएर पौडेलका लागि यो निर्वाचन क्षेत्र सुरक्षित गरेको हो।

तर, आफ्ना सदावहार प्रतिस्पर्धी जोशीको स्वतन्त्र उम्मेदवारीले पौडेललाई अप्ठ्यारोमा पारिदिएको छ। सो क्षेत्रमा एमालेले रामबहादुर रानालाई उम्मेदवार बनाउने सम्भावना रहेको बताए पनि टुङ्गो लगाइसकेको छैन।

तनहुँ– १ मा उम्मेदवारीको टुङ्गो लगाउन एमालेले ढिलाइ गर्नुको कारण जोशीलाई सहज होस् भन्ने चाहना रहेको कतिपयको अनुमान छ। 

गत स्थानीय तह निर्वाचनमा जोशी समूहले जिल्लाभर एमालेसँग तालमेल गरेको थियो। जोशीपुत्र दीपकराज जोशी व्यास नगरपालिकामा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार रहेका थिए।

तर, एमाले–जोशी समूहबीचको तालमेलले जिल्लाका कुनै पनि स्थानीय तहमा परिणाम भने दिनसकेको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .