नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भोट जोड्दा पनि मधेसका ३२ वटै सिटमा पाँच दलीय गठबन्धन नै बलियो देखिएपछि यी दुई पार्टी बीचको तालमेल अप्ठेरोमा परेको छ।
एमाले स्थायी समितिका एक मधेसी नेताका अनुसार लोसपाका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले चुनावी तालमेल चाँडै टुंग्याउन ओलीसँग आग्रह गरिरहेपछि एमालेका नेताहरूले मधेसमा प्रतिनिधि सभाका ३२ वटै क्षेत्रमा एमाले र लोसपाको भोट जोडेर विश्लेषण गरेका थिए।
‘सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको भोट एकातिर र एमाले र लोसपाको भोट अर्कातिर जोडेर हेर्दा मधेसका ३२ वटै क्षेत्रमा सत्ता गठबन्धन नै अगाडि देखियो’, एमालेका ती नेताले भने, ‘३२ वटा मध्ये एउटा क्षेत्रमा पनि हामी बलियो नदेखिएपछि लोसपासँग गठबन्धन गर्ने कि नगर्ने भन्ने प्रश्न छ।’
एकातिर लोसपाले मधेस प्रदेशका ३२ मध्ये कम्तिमा आधा सिट एमालेसँग मागेको छ, जुन दिन एमाले तयार छैन। अर्कोतिर त्यसरी गठबन्धन गर्दा पनि चुनाव नजितिने अवस्थामा तालमेल नै गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको हो।
‘दुई पार्टीको भोट जोड्दा पनि नजितिने अवस्थामा लोसपासँग गठबन्धन गर्नु भन्दा बरु एमाले एक्लैले ३२ वटै क्षेत्रमा उम्मेदारी दिँदा संगठन त बलियो बनाउन सकिन्छ भन्ने छ’, एमालेका अर्का एक नेताले भने।
उनका अनुसार कांग्रेस, माओवादी र जसपा तालमेल हुँदा मधेसका सबै सिटमा गठबन्धनका उम्मेदवार बलियो अवस्थामा जित नजिक हुनेछन्।
लोसपा नेता केशव झाले पनि एमालेसँग तालमेल गर्नेबारे अहिलेसम्म उल्लेखनीय प्रगति नभएको बताए।
‘नेताहरु संवादमा नै हुनुहुन्छ,’ झाले नेपालखबरसँग भने, ‘अहिले नै यसै भन्न सकिने अवस्था छैन्।’
कति सिटमा कसरी तालमेल गर्ने भन्नेबारे नेताहरु आन्तरिक छलफलमै रहेको उनको भनाइ छ।
सत्ता गठबन्धनमा सहभागी भएर चुनावमा पनि केही सिट लिएर तालमेल गर्ने प्रयास सफल नभएपछि लोसपाका नेताहरू एमालेतिर फर्किएका छन्। तर उनीहरूले बारम्बार चुनावी तालमेल टुंग्याउन आग्रह गरेपनि ओलीले न त्यसलाई अगाडि बढाएका छन् न हुँदैन भनेका छन्।
‘अन्तिममा कुनै हिसावले फाइदा हुने देखियो भने ८–१० सिट दिएर लोसपासँग मधेस प्रदेशमा तालमेल हुन पनि सक्छ, तर अहिलेसम्म त्यसको प्रस्ट संकेत देखिएको छैन’, एमाले नेता भन्छन्।
Shares
प्रतिक्रिया