नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन्।
काठमाडौंस्थित एक होटलमा बिहीवार कांग्रेसको डा. शेखर कोइराला पक्षद्वारा आयोजित चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।
केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेसभित्रै सही मूल्याङ्कन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए।
उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए।
नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे।
‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ। गठबन्धनसँगै पार्टीभित्रका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो। गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामीभित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ', उनले भने, 'अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ। अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा गइरहेको एकातिर भने अर्कोतिर छिमेकीहरुको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ। यसलाई बचाउन सक्ने तागत भएको पार्टी कांग्रेस नै हो।’
Shares
प्रतिक्रिया