विवेकशील साझा पार्टीले आफूलाई त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा मिसिएका आफ्ना पूर्वअध्यक्ष रवीन्द्र मिश्र तथा अन्य पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्यहरूलाई नयाँ राजनीतिक यात्राका लागि शुभकामना दिएको छ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र ‘रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण पक्षधर’बीच एकता घोषणा गरिएको भोलिपल्ट बिहीबार विवेकशील साझा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले हार्दिक बिदाइ भन्दै नयाँ राजनीतिक यात्राका लागि शुभकामना दिएका हुन्।
यस क्रममा उनले यसअघि नै अन्य पार्टीमा गएका विवेकशील साझाका पूर्व केन्द्रीय सदस्यहरू गेहेन्द्र दाहाल, अनुपा श्रेष्ठ, अब्दुस मियाँलाई पनि शुभकामना दिएका छन्।
‘हार्दिक बिदाइ प्रिय सहयोद्धाहरूलाई नयाँ राजनीतिक यात्राको शुभकामना’, विवेकशील साझा पार्टीका प्रवक्ता परियारले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सामाजिक सुसम्बन्ध र राजनीतिक सहकार्यको ढोका बन्द भएको छैन। सैद्धान्तिक/वैचारिक मत–मतान्तरलाई स्वस्थ ढंगले निरुपण गर्दै मित्रवत् सम्बन्ध/रचनात्मक प्रतिस्पर्धा हुने नै छ।’
प्रवक्ता परियारले जनमुखी र सामरिक महत्त्वका साझा सवालमा सँगै परीक्षण हुन राजीखुसी रहेको पनि उल्लेख गरेका छन्।
पार्टी छाडेर अर्काे दलमा जाने नेतालाई हार्दिकतापूर्वक बिदाइ र शुभकामना दिने प्रचलन नेपाली राजनीतिमा नौलो हो।
यस विषयमा नेपालखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता परियारले भने, ‘उनीहरू जहाँ जाऊन्, राम्रो काम गरून्, घात नगरून्। वैचारिक मत/मतान्तरलाई स्वीकारौं, सह अस्तित्वलाई स्वीकारौं भन्ने सन्देश दिन खोजेको हुँ।’
Shares
प्रतिक्रिया