राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरिरहेका छन्।
गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा एमालेसँगको तालमेलले फलिफाव नभए पनि थापा फेरि त्यही पार्टीसँग तालमेलका लागि उत्साहित छन्।
मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको चुनावी तयारी गरिरहेका उनी अहिले हेटौँडामै बसेर राप्रपा नेपालको कमान सम्हालिरहेका छन्।
हेटौँडामै बसेर पार्टी केन्द्रीय कमिटीसहितको बैठक गराइरहेका थापा एमालेले सहयोग गर्ने आशमा अहिले मकवानपुर १ मा खटिइरहेका छन्।
उनी अहिले महामन्त्री राजाराम बर्तौला र भाइ गणेश थापासहितको साथ लिएर मकवानपुर १ मा उठ्ने तयारीमा छन्।
यस्तोमा उनले केन्द्रदेखि जिल्लासम्म एमालेसँगको हिमचिमलाई बाक्लो बनाउँदै लगेका छन्। एमालेको सहयोगको अपेक्षासहित हेटौँडामा बसिरहेका उनी बिहीबार एउटा चियापान कार्यक्रममा झुल्किए।
एमाले मकवानपुरले आयोजना हेटौँडामा गरेको चियापान कार्यक्रममा उनको उपस्थितिलाई धेरैले अर्थपूर्ण भनेका छन्।
हेटौँडा-५ पुष्पलाल स्थित एमाले पार्टी कार्यालयमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा थापा अरु नेतासहित टुप्लुक्क झुल्किए।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एमालेको निमन्त्रणमै अध्यक्ष थापा उक्त कार्यक्रममा सहभागी भएका हुन्। उनलाई त्यहाँ एमाले नेता डोरमणि पौडेलसहितले खुलेर स्वागत गरे।
‘एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले निम्तो कार्ड नै पठाएर बोलाउनु भएको थियो', महामन्त्री बर्तौलाले भने, 'एमालेको निम्तो स्वीकारेर अध्यक्ष थापाले कार्यक्रममा सहभागीहरुसँग शुभकामना आदनप्रदान गर्नु भयो। चियापानमा सहभागी हुनुभयो।’
थापाले पनि एमालेको चियापानमा सहभागी भएको तस्बिहरु सामाजिक सञ्जालमा सेयर गरेका छन्।
'विजयादशमी, तिहार र छठको अवसरमा नेकपा (एमाले) मकवानपुरद्वारा हेटौंडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको छ', उनले फेसबुकमा भनेका छन्।
थापा २०७४ को निर्वाचनमा एमाले उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए। तर यो पटक उनै थापा एमालेको साथ लिएर उठ्ने तयारीमा छन्।
Shares
प्रतिक्रिया