निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन असोज २ र ३ गतेको समय दिएको थियो। पहिलो दिनमा जम्माजम्मी पाँच दलले आयोगमा बन्द सूची बुझाएका छन्।
बन्दसूची बुझाउने प्रयोजनसहित भदौ १२ भित्र दर्ता भएका दलले मात्र बन्दसूची बुझाउन पाउने व्यवस्था छ।
आइतबार प्रतिनिधि सभामा राष्ट्रिय समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले मात्र समानुपातिक उम्मेदवारको सूचि बुझाएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले नेपालखबरलाई जानकारी दिए।
प्रदेशतर्फ आइतबार प्रदेश १ मा किरात खम्बुवान पार्टीले बन्दसूची बुझाएको छ।
मधेस प्रदेशमा तराई मधेस लोकतान्त्रिक पार्टीले आइतबार नै बन्दसूची बुझाएको छ भने बागमतीमा ताम्सालिङ लोकतान्त्रिक पार्टीले पनि पहिलो दिन नै बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ।
६ ठूला राष्ट्रिय दलसहित ६८ दलले समानुपातिकका लागि दल दर्ता गरेका थिए। प्रत्यक्ष चुनावका लागि ८४ दलले आयोगमा निवेदन दिएका छन्। त्यसमध्ये एउटै चिह्नबाट १२ दलले चुनाव लड्नेछन्।
आयोगमा सोमबार (३ असोज) समानुपातिक सूची बुझाउने अन्तिम दिन हो।
किन पहिलो दिन नै नाम बुझाउन असफल बने ?
नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले आकांक्षी धेरै हुँदा पहिलो दिन नाम बुझाउन नसकेको बताएका छन्।
उम्मेदवार धेरै सिफारिस भएपछि नेपाली कांग्रेस तनावमा छ। उसले कार्यसम्पादन समितिको बैठकबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारहरु टुंगो लगाउने भएको छ।
प्रवक्ता डा. प्रकाशशरण महतले उम्मेदवारको अन्तिम टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बोलाइएको बताए। उनका अनुसार आइतबार नामावली ‘सिलिङ’ गरिएको छ।
‘आइतबार सिलिङ भयो, आज यसलाई टुंगो लगाउँछौं,’ उनले भने, ‘अन्तिम नामलाई कार्यसम्पादन समितिको बैठक बसेर पास गर्छौँ र आयोगमा बन्दसूची बुझाउँछौं।’
एमालेले नाम टुंगो लगाएको दाबी
नेकपा एमालेले आइतबार समानुपातिक उम्मेदवार टुंगो लगाएको र सोमबार आयोगमा बुझाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
प्रतिनिधिसभातर्फको ११० र प्रदेश सभातर्फ २२० उम्मेदवार क्लष्टर छुट्याएर तयार बनाइएको गुरुङले दाबी गरे।
एमालेको आइतबार दिउँसो पदाधिकारी बैठकबाट नाम टुंगो लगाएको दाबी गरेको छ। तर, एमालेकै एक पदाधिकारीले नाम टुंगो लगाउने अन्तिम निर्णय गर्ने अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको नेपालखबरलाई बताए।
प्रचार विभाग प्रमुख गुरुङले भने बेलुकै विज्ञप्ति जारी गरेर उम्मेदवार चयन भइसकेको बताए।
मधेस प्रदेशले तनावमा माओवादी
माओवादी केन्द्रले पनि आइतबार समानुपातिक नाम छान्न सकेन। मधेस प्रदेशबाट आकांक्षी धेरै भएपछि माओवादीले आइतबार उम्मेदवार चयन गर्न नसकेको हो।
महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, गिरिराजमणि पोखरेल रहेको कार्यदल बनाएको थियो। कार्यदलले आइतबार बेलुका अबेरसम्म अध्यक्ष प्रचण्डको रोहबरमा स्थायी समिति सदस्य, मधेस इन्चार्ज, जिल्ला इन्चार्जको बैठक राखेर सहमति प्रयास गरेको नेताहरु बताउँछन्।
सोमबार विहान बस्ने पदाधिकारी बैठकले उम्मेदवारबारे सहमति गरेर दिउँसो बन्दसूची आयोगमा बुझाउने सचिव दीनानाथ शर्माले बताए।
शर्माका अनुसार मधेस प्रदेशबाहेक अन्य प्रदेशमा धेरै समस्या छैन। ३ सय बढी नाम मधेस प्रदेशबाट सिफारिस भएकाले काँटछाँट गर्न समय लागेको हो।
समानुपातिक दर्ता भएका दलले प्रतिनिधि सभातर्फको ११० र प्रदेश सभाको २२० समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाउन पाउँछन्।
एकीकृत समाजवादीले अन्तिम समयमा बुझाउने
नेकपा एकीकृत समाजवादीले पनि आयोगले तोकेको पहिलो दिन समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेन। एक नेताका अनुसार १९ सय भन्दा बढी नामबाट ३३० उम्मेदवार छान्न कठिन भइरहेको छ।
सोमबार दिनभर सहमति गरेर अन्तिम समयमा आयोगमा बुझाउने ती पदाधिकारीले बताए। ‘सचिवालय र पदाधिकारी बैठक बसेर उम्मेदवारको फाइनल गर्छाैँ,’ ती नेताले नेपालखबरसँग भने।
उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले क्लष्टर अनुसार नाम मिलाउने काम भइरहेको बताउँदै भने, ‘आयोगले दिएको ढाँचामा निर्धारित समयमै उम्मेदवारको बन्दसूची बुझाउँछौं।’
पार्टीभित्र समानुपातिक उम्मेदवार चयनका लागि विवाद नरहेको उनले दाबी गरे। खतिवडाले भने, ‘आकांक्षा राख्नु एउटा कुरा हो, पार्टीको निर्णय अर्काे कुरा हो, पार्टीले विवाद नहुनेगरी निर्णय गरेर उम्मेदवार टुंगो लगाउँछ।’
Shares
प्रतिक्रिया