ad ad

राजनीति


ओलीले प्रस्ताव गरेको चार महिनापछि उपाध्यक्ष बन्दै वामदेव

ओलीले प्रस्ताव गरेको चार महिनापछि उपाध्यक्ष बन्दै वामदेव

सागर न्यौपाने
मंसिर २३, २०७६ सोमबार १२:४४,

साउन ३१ गते, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्ताव ल्याए, सचिवालयमा रहेका वामदेव गौतमलाई उपाध्यक्ष बनाउने।

उनले यस्तो बेलामा प्रस्ताव ल्याएका थिए, जुनबेला नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई प्रभाव पर्ने गरी नयाँ समीकरणको तयारी भइरहेको थियो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले नयाँ समीकरण बनाउने गरी ललितपुरको झम्सीखेलमा साउनको तेस्रो हप्ता छलफल गरेको खबर पाएपछि ओलीले उक्त समीकरण तोड्ने गरी गौतमलाई उपाध्यक्ष प्रस्ताव ल्याएका थिए।

तर, उक्त प्रस्ताव ल्याएको तीन महिना बितिसक्दा पनि प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्ष बनाउने गरी कुनै कदम नै अघि बढाएनन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी भदौ ५ गते सिंगापुर गए।

सिंगापुरमा १५ दिन उपचार गरेर भदौ २० गते ओली स्वदेश फर्किए। त्यसपछि पटक–पटक नेकपाको सचिवालय बैठक बसे पनि गौतमलाई उपाध्यक्ष बनाउनको लागि संविधान संशोधन गर्नुपर्ने प्रक्रिया अघि नै बढेन।

स्थायी समितिको बैठक पनि अन्योलमा प¥यो। गौतमले सचिवालय बैठकबाट निर्णय भएको विषयलाई कार्यान्वयन नगरेको भन्दै नेतृत्वको आलोचना गरे।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा त्यसयता पटक–पटक समस्या देखिरह्यो। उनी पार्टीगत काममा खासै सक्रिय हुन सकेनन्। १२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छोडेपछि कात्तिक १३ र १४ गते दुई पटक हेमोडायलासिस गरियो।

तर, स्वास्थ्यमा देखिने गरी सुधार नभएपछि प्रधानमन्त्री ओलीले उपचार गराइरहेका छन्। स्वास्थ्यमा निरन्तर समस्या देखिँदै गएपछि मंसिर ४ गते बसेको नेकपाको बैठकले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डको जिम्मेवारी बाँडफाँटको सहमति गरेको थियो। प्रधानमन्त्री ओलीले पाँच वर्ष सरकार चलाउने र अध्यक्ष प्रचण्डलाई कार्यकारीसहितको अध्यक्ष दिने।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि अध्यक्ष प्रचण्डले नेकपाभित्र रोकिएका कामलाई तीव्रता दिएका छन्। उनले कार्यकारी अध्यक्ष भएपछि पहिलोपल्ट मंसिर १८ गते सचिवालय बैठक डाकेर उपनिर्वाचन भएका ३७ वटै  जिल्ला समितिलाई चुनावको समीक्षा पठाउन निर्देशन दिए।

त्यसपछि सोमबार बसेको सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय अनुमोदनका लागि विधान संशोधनको प्रक्रिया थाल्ने र त्यसको अनुमोदनका लागि मंसिर २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो।

अध्यक्ष प्रचण्डले पार्टीको कार्यदिशा समेत संशोधन थालेका छन्। पार्टीको कार्यदिशा र उपाध्यक्ष पद थप्ने गरी पार्टी विधान संशोधनको प्रस्ताव अघि बढाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। दुवै विषयलाई आगामी २९ गते बस्ने पार्टी स्थायी समितिको बैठकबाट अनुमोदन गराउने तयारी भएको बताइएको छ।

‘पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने भन्ने राखिनेछ’, बैठकपछि पत्रकारसँग प्रवक्ता श्रेष्ठले भने। तत्कालीन एमाले–माओवादी एकतापछि बनेको नेकपाले कार्यदिशा जनताको जनवाद र अधिकतम लक्ष्य समाजवाद स्थापना गर्ने बनाएको थियो।

विधान संशोधन गर्ने गरी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, सचिवालयका अन्य सदस्य वरिष्ठ नेता माधवकुमार नेपाल र ईश्वर पोखरेलसँग छुट्टाछुट्टै परामर्श गरेका थिए। नेकपाको विधानमा दुई अध्यक्ष, एक वरिष्ठ नेता र एक महासचिवसहित नौ सदस्यीय सचिवालय हुने उल्लेख छ।

विधान संशोधनको लागि स्थायी समितिबाट अनुमोदन गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही कारण आफ्नै अध्यक्षतामा पार्टी कार्यालय धुम्वाराहीमा बसेको नेकपाको सचिवालय बैठकले मंसिर २९ गते स्थायी समितिको बैठक डाकेको छ।

प्रवक्ता श्रेष्ठका अनुसार स्थायी समिति बैठक दुई दिनमा सकाउने र सोही बैठकबाट वामदेव गौतमलाई उपाध्यक्षमा बनाउने प्रस्ताव पास गराउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .