नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन्।
आफ्नो गृहक्षेत्र झापा क्षेत्र नं. ५ मा पर्ने कमल गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै उनले हालै सम्पन्न स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए।
झापा क्षेत्र नं. ५ मा पर्ने दमक नगरपालिका तथा कमल गाउँपालिकाको निर्वाचन परिणामलाई राष्ट्रिय चासोको रुपमा हेरिएको स्मरण गराउँदै उनले यी स्थानीय तहमा एमालेले किन अपेक्षित परिणाम ल्याउन सकेन भनेर समीक्षा गर्न पनि निर्देशन दिए। समीक्षाबाट निराश नभई आगामी निर्वाचनमा सहज जितको परिणाम ल्याउन कार्ययोजनासहित अघि बढ्न आग्रह गरे।
एमाले सरकारमा नहुँदा के के हुँदो रहेछ अहिलेको सरकारका गतिविधिबाट प्रष्ट हुँदै गएको पनि उनले बताए। देशलाई आर्थिक रुपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरुलाई ध्वस्त पार्ने, कमिसनका लोभमा राष्ट्रिय निर्णयहरु गर्ने जस्ता कुराले यो सरकार कमिशन एजेण्टहरुले चलाएको प्रष्ट हुने उनको दाबी थियो।
एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागि परेकाहरु अहिले वाम एकताको कुरा गर्दै फोटो खिचाउँदै हिँड्नु लज्जास्पद भएको उनको टिप्पणी छ। पाँच जना मान्छे मिल्दैमा वाम एकता नहुने भन्दै उनले एमालेलाई तर्साउन यस्ता प्रयास नगर्न समेत चेतावनी दिए।
बिहीबार नै आफ्नो गृहनगर दमकमा भएको कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले वर्तमान सरकार रहेसम्म राष्ट्रियता र स्वाधिनता थप कमजोर हुने भन्दै आगामी निर्वाचनबाट एमालेको सहज बहुमतका साथ सरकार बनाउने दिशामा अघि बढ्न निर्देशन दिए।
३ दिने झापा बसाई र कार्यकर्ताहरुसँग सघन भेटघाटका लागि एमाले अध्यक्ष ओली बुधबार गृह जिल्ला झापा आएका हुन्।
यस पटकको झापा बसाइका क्रममा उनका ठूला र सार्वजनिक कार्यक्रम खासै छैनन् । कार्यकर्तासँगको सघन छलफल, भेटघाट र अन्तरक्रियाका लागि उनी झापा आएको एमाले झापाले जनाएको छ।
Shares
प्रतिक्रिया