टेलिभिजन पत्रकारिता गर्दै आएका सञ्चारकर्मी रवि लामिछाने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेर पूर्णकालीन राजनीतिमा होमिएका छन्।
राष्ट्रियसभा गृहमा मंगलबार आयोजित समारोहमा नयाँ दलको नाम र दलको चुनाव चिन्ह सार्वजनिक गरेर उनी पूर्णकालीन राजनीतिमा होमिएका हुन्।
लामिछानेले २१ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको पार्टी दर्ताका लागि मंगलबार नै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उनले मंगलबारदेखि नै वसुन्धरामा केन्द्रीय कार्यालय खोलेर गतिविधि अघि बढाएका छन्।
सञ्चारकर्मी लामिछाने दल घोषणा गरेरै राजनीतिमा लागेपछि पक्ष–विपक्षमा विभिन्न टिका–टिप्पणी भइरहेका छन्। दलको नामकरण विवादमा परेको छ। त्यसको विरोधमा बुधबार मात्रै निर्वाचन आयोगमा उजुरी परेका छन्।
‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै ‘स्वतन्त्र उम्मेदवारी अभियान’ले लामिछानेविरुद्ध आयोगमा उजुरी दिएको हो।
‘स्वतन्त्र उम्मेदवारी अभियान’का डम्बर साहुको हस्ताक्षरित उजुरीमा ‘स्वतन्त्र’ शब्द हटाएर अरु प्रयोग गर्न भनिएको छ।
‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आवद्ध हुन नचाहँदा स्वतन्त्र रुपमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउने गरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै दिइएको उजुरीमा भनिएको छ।
लामिछाने दल घोषणा गरेर राजनीतिमा लागेपछि बेलाबेला सत्ताको स्वाद चाखिसकेका दल र तिनका नेताहरुले उनीबारे विभिन्न टिप्पणी गरिरहेका छन्।
सञ्चारकर्म त्यागेर राजनीति थालेपछि लामिछानेप्रति इंगित गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा व्यवसायमा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको टिप्पणी गरेका छन्।
‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ।’
सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले ‘सेलिब्रिटी’हरुले हल्लीखल्ली गर्दैमा राष्ट्र निर्माण र युग परिवर्तन नहुने तर्क गरेका छन्।
लामिछानेप्रति लक्षित गर्दै उनले राष्ट्र निर्माण र युग परिवर्तनका लागि दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाले ३२ जेल बस्नु परेको, महात्मा गान्धीले आजीवन धोतीमा हिँड्नु परेको र अब्राहम लिंकन मारिनु परेको स्मरण गरेका छन्।
‘अलिअलि नाम चलेका सेलिब्रिटीहरुले हल्लीखल्ली गर्दैमा राष्ट्र निर्माण र युग परिवर्तन हुने भए न मण्डेला ३२ जेल बस्न पर्थ्यो न गान्धीजी आजीवन धोतीमा हिँड्नु पर्थ्यो न लिंकन मारिनु पर्थ्यो न रुजबेल्टले न्युडिल ल्याउनु पर्थ्यो न माओले लङ मार्च गर्नु पर्थ्यो,’ खतिवडाले भनेका छन्, ‘भ्रमको कुनै औषधि हुँदैन।’
यद्यपि, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लामिछानेको राजनीतिक यात्रालाई सकारात्मक भनेका छन्। सञ्चारकर्मीसँगको कुराकानीमा उनले मंगलबार लामिछानेको यात्रालाई सकारात्मक भनेका हुन्।
‘नयाँ पुस्ताका साथीहरूको राजनीतिमा आकांक्षा हुनु, प्रतिनिधिसभा र स्थानीय तहमा काम गर्छौँ भन्नुलाई एकदमै सकारात्मक रूपमा लिनु पर्छ। त्यसलाई प्रोत्साहित पनि गर्नुपर्छ,’ थापाले भने।
नयाँ पुस्तालाई पुराना दलमै अवसर दिनुपर्नेमा महामन्त्री थापाको जोड थियो। ‘सबै तल्लो खुड्किलाबाट चढेर जाने होइन। विभिन्न पेसामा काम गरेर आएको मान्छेले बीच बाटोमा दलमा छिर्ने, आफ्नो प्रतिभा प्रयोग गर्न पाउने बाटो खोल्नुपर्छ,’ उनले भने।
महामन्त्री थापाले लामिछानेको राजनीतिक यात्रालाई आफूले चुनौतीका रुपमा लिएकोसमेत प्रतिक्रिया दिए।
‘हामीले आफूलाई थप सुधार्न, अझ निखार्न, हामीले जितेको ठाउँ भन्नु हुँदैन,’ थापाले भने, ‘त्यस्तो कुनै पनि ठाउँ हुँदैन। आफ्नो सान्दर्भिकता पुष्टि गर्नु पर्छ। हामीले यो अवस्थालाई चुनौतीका रूपमा लिएका छौँ।’
पत्रकारिता छाडेर वैकल्पिक राजनीति गर्न साझा पार्टी खोलेका रवीन्द्र मिश्रले लामिछानेलाई सफलताको शुभकामना दिएका छन्।
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका मिश्रले आफूहरूको हबिगतबाट पाठ सिक्न पनि रविलाई सुझाव दिएका छन्।
‘सानै हुँदादेखि चिनेकोले मैले तिमी भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु।’
विवेकशील साझा पार्टीका अर्का नेता मिलन पाण्डेले लामिछानेलाई आफूहरूले गरेका गल्ती नदोहोर्याउन सुझाव दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लामिछानेलाई राजनीतिक यात्राका लागि शुभकामना दिँदै आफूहरूको गल्तीबाट पाठ सिक्न सुझाएका हुन्।
‘विवेकशीलले विगत १० वर्षमा गरेको राम्रो कामलाई निरन्तरता दिनुहोला,’ नेता पाण्डेले ट्विटरमा लेखेका छन्, ‘हाम्रा असफलताबाट पाठ सिक्नुहोला। तपाईंलाई हामीले गरेका गल्तीहरू दोहोर्याउने छुट छैन है।’
एमालेका केन्द्रीय सदस्य सूर्य थापाले भने लामिछानेको प्रस्तावित पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन्। दल रोज्ने, स्वतन्त्र रुपमा लड्ने र जित्ने कानुनले अधिकार दिए पनि स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हुने उनको जिकिर छ।
‘कानुनतः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो,’ थापाले फेसबुकमा लेखेका छन्, ‘व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउने गरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो।’
लामिछाने पार्टीले स्वतन्त्र उम्मेदवारीमै भ्रम र अन्योल उत्पन्न गरेको उनको भनाइ छ। ‘स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुने गरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन,’ थापाले भनेका छन्।
Shares
प्रतिक्रिया