टेलिभिजन पत्रकारिता गर्दै आएका सञ्चारकर्मी रवि लामिछाने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेर पूर्णकालीन राजनीतिमा होमिएका छन्। राष्ट्रियसभा गृहमा मंगलबार आयोजित समारोहमा नयाँ दलको नाम र दलको चुनाव चिन्ह सार्वजनिक गरेर उनी पूर्णकालीन राजनीतिमा होमिएका हुन्।
लामिछानेले २१ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको पार्टी दर्ताका लागि मंगलबार नै निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले मंगलबारदेखि नै बसुन्धरामा केन्द्रीय कार्यालय स्थापना गरेर पार्टी गतिविधि सञ्चालन गरिसकेका छन्।
सञ्चारकर्मी लामिछाने दल घोषणा गरेर राजनीतिमा लागेपछि पक्षविपक्षमा विभिन्न टीका–टिप्पणीहरु भइरहेका छन्। उनले गरेको दलको नामाकरणको विरोधमा बुधबारमात्रै आयोगमा उजुरीसमेत दर्ता भएको छ।
‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै ‘स्वतन्त्र उम्मेदवारी अभियान’ले लामिछानेविरुद्ध आयोगमा उजुरी दिएको हो। ‘स्वतन्त्र उम्मेदवारी अभियान’का डम्बर साहुको हस्ताक्षरित उजुरीमा ‘स्वतन्त्र’ शब्द हटाएर अन्य शब्द प्रयोग गर्न आग्रह गरिएको छ।
‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउने गरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ,’ निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै उजुरी दिइएको पत्रमा भनिएको छ।
स्वतन्त्रलाई आघात पुगेको भन्दै रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी
लामिछाने दल घोषणा गरेर राजनीतिमा लागेपछि बेलाबेला सत्ताको स्वाद चाखिसकेका दल र ती दलका नेताहरु उनीविरुद्ध सामाजिक सञ्जालहरुमा विभिन्न टिप्पणी गरिरहेका छन्।
सञ्चारकर्म त्यागेर राजनीतिमा लागेपछि लामिछाने प्रति ईंगित गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेसा वा व्यवसायमा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको टिप्पणी गरेका छन्।
‘निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन,’ उनले सामाजिक सञ्जाल फेसबुममार्फत् भनेका छन्, ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ।’
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले ‘सेलिब्रेटी’हरुले हल्लीखल्ली गर्दैमा राष्ट्रनिर्माण र युग परिवर्तन नहुने तर्क गरेका छन्।
लामिछानेप्रति लक्षित गर्दै उनले राष्ट्रनिर्माण र युग परिवर्तनका लागि दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्शन मण्डेलाले ३२ जेल बस्नु परेको, महात्मा गान्धीले आजीवन धोतीमा हिड्नु परेको, अब्राहम लिंकन मारिनु परेको स्मरण गरेका छन्।
‘अलिअलि नाम चलेका सेलिब्रेटीहरुले हल्लीखल्ली गर्दैमा राष्ट्रनिर्माण र युग परिवर्तन हुने भए न मण्डेला ३२ जेल बस्न पथ्र्याे न गान्धीजी आजीवन धोतीमा हिड्न पथ्र्याे न लिंकन मारिनु पथ्र्याे न रुजबेल्टले न्युडिल ल्याउँन पर्दथ्याे न माओले लङ मार्च गर्न पर्दथ्याे,’ खतिवडाले ट्विट गर्दै भनेका छन्, ‘भ्रमको कुनै औषधि हुँदैन।’
यद्यपि, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लामिछानेको राजनीतिक यात्रालाई सकारात्मक भनेका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले मंगलबार लामिछानेको यात्रालाई सकारात्मक भनेका हुन्।
‘नयाँ पुस्ताको साथीहरूको राजनीतिमा आकांक्षा हुनु, हामीहरू प्रतिनिधिसभा तथा स्थानीय तहमा गएर काम गर्छौँ भनेर भन्ने कुरालाई एकदमै सकारात्मक रूपमा लिनुपर्छ र यसलाई प्रोत्साहित पनि गर्नु पर्छ,’ थापाको भनाइ थियो।
राजनीतिमा लाग्ने नयाँ पुस्तालाई पुराना दलमै अवसर दिनुपर्नेमा महामन्त्री थापाको जोड थियो। ‘सबै तल्लो खुड्किलाबाट चढेर जाने होइन। विभिन्न पेसामा काम गरेर आएको मान्छेले बीच बाटोमा दलमा छिर्ने, आफ्नो अवसर, प्रतिभाहरूलाई प्रयोग गर्न पाउने बाटोहरू खोल्नुपर्छ,’ उनले भने।
महामन्त्री थापाले लामिछानेको राजनीतिक यात्रालाई आफूले चुनौतीका रुपमा लिएको समेत प्रतिक्रिया दिए। ‘हामीले आफूलाई थप सुधार्न, अझ निखार्न, हामीले जितेको ठाउँ भन्नु हुँदैन,’ थापाको भनाइ थियो, ‘त्यस्तो कुनै पनि ठाउँ हुँदैन। आफ्नो सान्दर्भिकता पुष्टि गर्न पर्छ। हामीले यो अवस्थालाई चुनौतीको रूपमा लिएका छौँ।’
पत्रकारिता छाडेर वैकल्पिक राजनीति गर्ने भनेर साझा पार्टी स्थापना गरेका रवीन्द्र मिश्रले लामिछानेलाई सफलताको शुभकामना दिएका छन्। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले उनलाई आफूहरूको हविगतबाट पाठ सिक्न पनि सुझाव दिएका छन्।
‘तिमी सानै हुँदादेखि चिनेकोले मैले तिमी भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छाै तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु।’
विवेकशील साझा पार्टीका अर्का नेता मिलन पाण्डेले लामिछानेलाई आफूहरूले गरेका गल्ती नदोहोर्याउन सुझाव दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् लामिछानेलाई राजनीतिक यात्राका लागि शुभकामना दिँदै आफूहरूको गल्तीबाट पाठ सिक्न सुझाएका हुन्।
‘विवेकशीलले विगत १० वर्षमा गरेको राम्रो कामलाई निरन्तरता दिनुहोला,’ नेता पाण्डेले ट्विटरमा लेखेका छन्, ‘हाम्रा असफलताबाट पाठ सिक्नुहोला। तपाईंलाई हामीले गरेका गल्तीहरू दोहोर्याउने छुट छैन है।’
एमालेका केन्द्रीय सदस्य सूर्य थापाले भने लामिछानेको प्रस्तावित पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन्। दल रोज्ने, स्वतन्त्र रुपमा लड्ने र जित्ने कानुनले अधिकार दिए पनि स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हुने उनको जिकिर छ।
‘कानुनतः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो,’ थापाले फेसबुकमा लेखेका छन्, ‘व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउने गरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो।’
लामिछाने पार्टीले स्वतन्त्र उम्मेदवारीमै भ्रम र अन्योल उत्पन्न गरेको उनको भनाइ छ। ‘स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुने गरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन,’ थापाले भनेका छन्।
Shares
प्रतिक्रिया