ad ad

राजनीति


कास्की उपनिर्वाचनकाे मतगणना केहिबेरमा सुरु हुने

कास्की उपनिर्वाचनकाे मतगणना केहिबेरमा सुरु हुने

वाशुदेव मिश्र
मंसिर १४, २०७६ शनिबार १६:२४,

शनिवार सम्पन्न उपनिर्वाचनमा चासोसाथ हेरिएको कास्की क्षेत्र क्षेत्र नम्बर २ को मतदानको  राती १०:३० बजेदेखि मतगणना सुरु हुने भएको छ। भर्खरै सम्पन्न सर्वदलीय बैठकले रातीबाटै मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ।

कास्कीको यो उपनिर्वाचनमा ६३.४० प्रतिशत ४५ हजार ५६३ मत मात्रै खसेको छ। प्रदेशसभाअन्तर्गत बागलुङ–२, खमा भएको चुनावमा पनि ६१ प्रतिशत अर्थात् २१ हजार २९५ मत खसेको निर्वाचन आयोगले जनाएको छ।

कास्कीमा खसेको मतमध्ये २४हजार ७७९ महिला र २० हजार ७८४ पुरुष थिए। यो क्षेत्रमा ७१ हजार ८७१ मतदाता थिए। विस्फोटसँगै बारुदको गन्धबीच भएको यो चुनावमा अघिल्लो चुनावभन्दा करिब ४ हजार कम मत खसेको हो।

निर्वाचन बिथोल्ने र मतदातालाई त्रसित बनाउने गरि यहाँका केही ठाउँमा विस्फोट भए पनि त्यसले निर्वाचनलाई असर नपारेको जिकिर निर्वाचन आयोगले गरेको छ।

कास्कीका ११ वटा वडा समेटिएको प्रतिनिधिसभाको निर्वाचन भएको देशको एक मात्र क्षेत्रमा ०७४ सालको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए। सो चुनावमा  ६८ प्रतिशत अर्थात ४९ हजार ९१३ मत खसेको थियो। चुनाव रवीन्द्र अधिकारीले जितेका थिए। उनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्रमा चुनाव हुँदा उनकै पत्नी विद्या भट्टराईसहित २१ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन्।

 मतपत्रमा जनताले जाहेर गरेको अभिमत अनुसार यीमध्ये एकजनाले विधायकको रुपमा सिंहदबार प्रवेश पाउने छन् । आफ्नो प्रतिनिधिलाई सिंहदबार पठाउने अभियानमा जनता  भने उत्साहित देखिएनन्। उनीहरुले समयमै मतदान केन्द्र जाने उत्साह पनि देखाएनन्।

पोखरा महानगरपालिका–१६ को दीप चण्डिका र जुम्लेटी ,पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय मावि तथा नयाँबजारको नवप्रभात मतदानस्थलभित्रै बिस्फोट भएको थियो। केही ठाउँमा सामान्य झडपको अवस्था पनि आए। तर, निर्वाचन भने रोकिएन। यही आधारमा निर्वाचन आयोगले चुनाव सफल भएको दावी गरेकाे छ।

उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई र कांग्रेसका खेमराज पाैडेलबीच नै प्रतिस्पर्धा देखिएकाे छ। नेकपाले यो चुनावलाई आफूप्रतिको जनविश्वास कायमै रहेको देखाउने मौका सम्झेको छ भने कांग्रेस चुनाव जितेर  सरकार अलोकप्रिय भएको देखाउन चाहन्छ । अघिल्लो चुनाव ८ हजारले गुमाएको कांग्रेसलाई बाँकी रहेका दलहरुले पच्छ्याउने अनुमान गरिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी पनि चुनावी मैदानमा छन् । नेपाल कम्युनिस्ट पार्टी (माले) का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बीपी) का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ प्रतिस्पर्धामा छन्।

विवेकशील नेपाली दलको समर्थनमा जमुना शर्मासहित स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला तथा सुनील भुसाल प्रतिस्पर्धामा छन्।

यता, बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यको लागि शनिबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म भएको मतदानमा ६१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङ क्षेत्र नं २ (ख) मा मतदान भएका २४ वटै मतदान केन्द्र मतपेटीका शनिवार राती नै जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ। आइतवार बिहान सर्वदलीय बैठक बसेर निर्वाचन आयोगको निर्देशन अनुसार मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .