विराटनगर महानगरपालिकाको मेयरमा ठूला पार्टीबीच रोचक भिडन्त हुने भएको छ।
सत्ता गठबन्धनबाट नागेश कोइराला र नेकपा एमालेबाट सागर थापा चुनावी मैदानमा होमिएका छन्।
कोइराला र थापाबाहेक महानगरको मेयर बन्ने प्रतिस्पर्धामा उमेश यादवसमेत छन्।
उनले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरिसकेका छन्। उनीहरुबाहेक राप्रपाले समेत उम्मेदवारी दर्ता गराउने तयारीमा छ।
नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सागर थापा ३० वर्षदेखि एमालेको राजनीतिमा छन्। उनले अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका थिए।
अहिले थापा नेकपा एमाले महानगर कमिटीका अध्यक्ष हुन्।
झण्डै दुई कार्यकाल महानगर कमिटी हाँकेका थापा नेकपा हुँदा त्यसको संयोजक थिए। थापा अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ मा पनि दाबेदार थिए।
वि.सं.२०३२ सालमा जन्मिएका थापा २० बर्ष अघि देशकै चर्चित महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुको तर्फबाट एक्लै स्ववियु सभापतिमा निर्वाचित भएका थिए।
उनीबाहेक अरुले उक्त निर्वाचनमा पराजय भोगेका थिए।
राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने महेन्द्र मोरङ क्याम्पसमा सम्पूर्ण सिट नेविसंघले जितेको अवस्थामा एकपटक उनी एक्लैले स्ववियु सभापति र अर्कोपटक अन्य सदस्यसहित सभापति जितेका थिए।
उनले दुई कार्यकाल स्ववियु सभापति जित्दा अहिलेका विराटनगरका मेयर भीम पराजुली कोषाध्यक्ष र सचिव थिए।
स्ववियु काउन्सिलको केन्द्रीय सदस्य, एमालेको जिल्ला कमिटी सचिवालय सदस्य हुँदै महानगरको अध्यक्ष भएका थापा पछिल्लो समय विराटनगरमा संगठन विस्तारमा लागेका थिए।
स्नातकोत्तर गरेका थापा महेन्द्र मोरङको राजनीतिमा १५ वर्षभन्दा बढी सक्रिय थिए।
कोइराला परिवारका नागेश
महानगरको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नागेश कोइराला भने राजनीतिक परिवारका सदस्य हुन्।
सिन्धुली दुम्जाको कोइराला परिवारका सन्तान नागेश ४५ वर्षअघि जन्मिएका हुन्।
उनी ऋषिकेश कोइरालाका नाति उमेश कोइरालाका छोरा हुन्।
बीपी कोइराला र गिरिजाप्रसाद कोइराला परिवारभित्रैका नभए पनि उनीहरु १० दिने दाजुभाइ हुन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र नागेशका बीचमा काका-भतिजको सम्बन्ध छ।
यति मात्रै होइन, कोइराला परिवारका सदस्य तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाबीच ससुराली साइनोसमेत छ।
नागेशकी श्रीमती र शेखरकी श्रीमती फुपू भदैनी हुन्।
उनी अस्ट्रेलियामा पढेर नेपाल फर्किएका हुन्। तरुण दल नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष भएपछि सक्रिय राजनीतिमा आएका हुन्।
तरुण दलपछि उनी नेपाली कांग्रेसको जिल्ला सचिव भए। अहिले उनी मोरङ कांग्रेसका उपसभापति छन्।
कांग्रेसबाट कसलाई उम्मेदवार बनाउने विषयमा लामो विवाद भएको थियो।
विवादबीच शेखरले सभापति शेरबहादुर देउवासँग कुनै हालतमा नागेशले टिकट पाउनु पर्ने अड्डी कसेका थिए।
शेखरकै अड्डीबीच डिला संग्रौला र अमृत अर्यालसहितका चर्चित नेताहरुलाई पछि पार्दै नागेश मेयरको दौडमा निस्किएका हुन्।
Shares
प्रतिक्रिया