आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीय नेतृत्वले गठबन्धन गरेर जाने निर्णय गरेपनि सुनसरी र मोरङमा सत्तारुढ दलबीच गठबन्धन गरेर जाने अवस्था कमजोर हुँदै गएको छ।
सत्ता साझेदार दलहरुबीचमा पालिका नेतृत्वको विवाद सुल्झिन नसक्दा सुनसरी मोरङमा पालिका बाँडफाँड हुन सकेको छैन।
केन्द्रले नै महानगर र उपमहानगरको नेतृत्व कसले गर्ने भनेर टुंगो लगाए पनि सत्तारुढ दलहरुबीचमा अझै विवाद कायमै छ।
इटहरी उपमहानगर उपप्रमुख माओवादीले नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी भएको छ।
केन्द्रीय नेतृत्वले प्रदेश १ मा रहेका २ उप महानगर र १ महानगरको नेतृत्व कांग्रेसले गर्ने निर्णय गरेको छ।
दुई उपमहानगरमध्ये एउटा एउटा उपप्रमुख माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिने निर्णय भएको छ।
महानगरमा उपमेयर भने जसपालाई दिने निर्णय भएको छ। केन्द्रीय निर्णयअनुसार धरान माओवादी केन्द्र र इटहरी समाजवादीको भागमा परेको छ।
यसबाहेक प्रदेशका अन्य पालिकाहरुको नेतृत्व कसले गर्ने बिषयमा सहमति जुट्न सकेको छैन।
अहिलेसम्म प्रदेशका १ सय ३७ पालिका मध्ये ६० वटामा कांग्रेसले १८ वटामा माओवादी केन्द्रले र २ वटामा एकीकृत समाजवादीले प्रमुख पद पाउने गरि सहमति भएको माओवादीले दावी गरेको छ।
माओवादीका प्रदेश उपाध्यक्ष शिव डाँगीका अनुसार पहाडी र हिमाली जिल्लामा सहमति भएपनि सुनसरी र मोरङमा सबैभन्दा बढी विवाद रहेको छ।
कांग्रेसले सुनसरी र मोरङका पालिकाको नेतृत्व बाँडफाँडबारे कुरा नै गर्न उनले नचाहेको बताए।
प्रदेशस्तरका नेताहरु पटक पटक पालिकाको नेतृत्व टुङ्ग्याउन बसे पनि ठोस परिणाम नआउँदा एक्ला एक्लै उम्मेदवारी दिएर जाने अवस्थामा पुगेको डाँगीले बताए।
‘हामी कसैको टाङमुनि छिरेर जानू पर्छ भन्ने छैन’, नेता डाँगीले भने, ‘कुनै पार्टीलाई जिताउनु पर्छ भनेर ठेक्का पनि हामीले छैनौँ।’
गठबन्धनका दलहरुबीचमा सहमति नहुँदा दलहरुले वडा तहदेखि नै एक्ला एक्लै निर्वाचनमा जाने गरिको तयारी थालेका छन्।
विराटनगर महानगरपालिकाको नेतृत्व कांग्रेसले पाएपछि पनि वडा विभाजनका बिषयमा कांग्रेसले कुरा नथाल्दा माओवादी केन्द्रले विराटनगर वडा नम्बर ४ मा एक्लै लड्ने तयारी गरेको छ।
माओवादी स्थानीय नेताका अनुसार कांग्रेससँग सहमति नभए पनि गठबन्धनका अन्य दलसँग सहकार्य गरेर जाने गरिको मोडालिटी तयार भएको छ।
उनका अनुसार कांग्रेसका कारण गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गरेर जानुपर्ने अवस्था आएको छ।
माओवादीले सुनसरीमा कम्तीमा एउटा पालिकाको नेतृत्व आफूले पाउनुपर्ने माग गठबन्धनमा गरेको छ। तर अहिलेसम्म कांग्रेस कुनैमा पनि छाड्ने अवस्थामा छैन।
कांग्रेस जिल्ला समितिको बैठकले सुनसरीमा गठबन्धन नगर्ने तर मित्रवत प्रतिस्पर्धा गर्ने गरिको निर्णय गरिसकेको छ।
कांग्रेस सुनसरी सचिव वीरेन्द्र साहले गठबन्धनका अन्य दलहरुले आप्mनो हैसियत भन्दा बढि पदहरुमा दावी गरेकाले एक्लै चुनाव लड्ने निर्णय गरिएको बताए।
मोरङमा माओवादी केन्द्रले ५ वटा पालिका प्रमुख पदमा दावी गरेको छ। यस्तै एकीकृत समाजवादीले पनि २ वटा पालिकामा दावी गरेको छ।
स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवार मनोनयन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
एकीकृत समाजवादीका केन्द्रिय सदस्य महेश रेग्मीले केही दलहरूको संकिर्ण सोचका कारण पदहरु बाँडफाँटमा कुरा नमिलेको बताए। उनले मनोनयनको समय शुरु भएपनि दलहरुले
अडान नछाड्दा गठबन्धनमा समस्या भएको बताए।
सुनसरी र मोरङमा कहाँ कहाँ कुन दलले लिने वडा विभाजन कसरी गर्नेबारे छलफल समेत शुरु भएको छैन।
कांग्रेस प्रदेश १ सभापति उद्धव थापाले आफूहरुको आन्तरिक तयारी नसकिएकाले गठबन्धनबीच पद बाँडफाँड भइनसकेको बताए।
उनले आवश्यकता अनुसार पालिका र जिल्ला तहमा नै पदहरु बाँडफाँड गर्ने अधिकार दिइएको बताए।
Shares
प्रतिक्रिया