ad ad

राजनीति


निम्तो बोकेर मस्को उडे ज्ञवाली, नेपाल आउलान पुटिन?

निम्तो बोकेर मस्को उडे ज्ञवाली, नेपाल आउलान पुटिन?

मणि दाहाल
मंसिर ७, २०७६ शनिबार ६:२२,

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्त्याउन राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो बोकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार अपरान्ह मस्को उडेका छन्।

रुस र सर्विया भ्रमणमा शनिबार प्रस्थान गरेको मन्त्री ज्ञवालीको टोलीमा परराष्ट्र सचिव शंकरदास बैरागी लगायत छन्।

सोभियत संघको विघटनपछि औपचारिकतामा समिति भएको रुससँगको सम्बन्ध सुधार गर्ने पहल अन्तर्गत आठ वर्षपछि नेपालका परराष्ट्रमन्त्रीले रुस भ्रमण गर्न लागेका हुन्। सन् २०११ मा तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गरेका थिए भने त्यसअघि सन् १९९२ मा रुसका तत्कालीन परराष्ट्रमन्त्री नेपाल आएका थिए।

‘मन्त्री ज्ञवालीले रुसी समकक्षी मार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निम्तो दिनेछन्’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘नेपाल सरकारले पुसमा आयोजना गर्न लागेको सगरमाथा अन्तर्राष्ट्रिय डाइलगको अवसरमा रुसी राष्ट्रपतिलाई निमन्त्रणा गर्न लागिएको हो।’

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सम्पन्न भएपछि रुसी राष्ट्रपति पुटिनको भ्रमण पनि गराउन सरकारले पहल थालेको हो। ग्लोवल वार्मिङ मुख्य विषय राखेर आयोजना गर्न लागिएको सगरमाथा डाइलगमा रुसी राष्ट्रपति आएर सम्बोधन गरे नेपालको पहल अन्तर्राष्ट्रिय रुपमा स्थापित हुने सरकारको विश्वास छ।

मस्कोमा मंसिर १० गते परराष्ट्रमन्त्री ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँगसँग भेटवार्ता गर्नेछन्, जुन अवसरमा दुई देशबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। त्यसपछि मन्त्री ज्ञवाली सर्विया जाने कार्यक्रम छ, जहाँ उनले उपप्रधान तथा विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

अन्तर्राष्ट्रिय सम्बन्धमा विविधिकरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नीति अनुसार सरकारले शक्ति राष्ट्रका रुपमा आफुलाई पुनःस्थापित गरिरहेको रुससँगको सम्बन्ध सक्रिय बनाउन खोजेको हो।

नेपाल र तत्कालीन सोभियत संघबीच २०१३ साउन ५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यो समय साम्यवादी धारको नेतृत्व गर्ने रुस र पुँजीवादी खेमाको नेतृत्व गर्ने अमेरिकाबीच कटराव चलिरहेको थियो। अमेरिका र रुस दुवै खेमामा नलाग्ने घोषणा गरेर असंलग्न परारष्ट्र नीति लिएका देशहरुलाई सहयोग गर्ने नीति मस्कोले लिएको थियो।

रुसका लागि पूर्व राजदूत हिरण्यलाल श्रेष्ठका अनुसार युक्रेनसँग विवाद भएपछि पश्चिमा देशहरुले नाकाबन्दी गरेको अवस्थामा अहिले रुसले पूर्वी क्षेत्रका देशहरुसँग सम्बन्ध विस्तार गर्ने नीति लिएको छ।

‘युक्रेनसँग विवाद भएपछि पश्चिमा देशहरुले नाकाबन्दी गरेको अवस्थामा पूर्वी विश्वका देशहरुसँग सम्बन्ध विस्तार गर्ने नीति रुसले लिएको छ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘हामी पनि त्यही भेगका देश हौं, जहाँ दीर्घकालीन लगानी गर्दा भारत र चीनको बजारमा फैलिन सकिन्छ भन्ने पनि होला।’

अमेरिका नेपालमा सक्रिय हुँदा भारत र चीन दुवैले सहज महशुस गरेको देखिँदैन तर, रुसको हकमा त्यस्तो नहुने श्रेष्ठको तर्क छ।
‘भारत र चीन दुवैसँग रुसको सम्बन्ध निकै सुमधुर छ, तीन वटै देश बहुध्रुवीय विश्व होस् भन्ने चाहन्छन्’, श्रेष्ठले थपे।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका उदाउँदा विश्व शक्ति राष्ट्रहरुको समूह– ब्रिक्सका सदस्य हुन्, जो एक ध्रुवीय विश्वलाई बहुध्रुवीयमा परिणात गर्न चाहन्छन्। शीतयुद्धको समयमा रुस र भारतबीचको सम्बन्ध बलियो थियो। भारतले अधिकांश सैन्य सामाग्री रुसबाटै लिथ्यो, जुन अहिले पनि कायम छ। युक्रेन मातहत रहेको क्रिमियालाई रुसले सन् २०१४ मा नियन्त्रणमा लिएपछि पश्चिमा देशहरुले मस्कोमाथि आर्थिक नाकाबन्दी लगाएका छन्।

शीतयुद्धको समयमा रुसले एक पक्षीय रुपमा नेपाललाई सहयोग गर्ने गरेको थियो। जनकपुर चुरोट कारखाना, कान्ति बालअस्पताल, पनौति जलविद्युत आयोजना, पूर्व–पश्चिम राजमार्गको पथलैया खण्ड, कृषि औजार कारखाना, वीरगञ्ज सुगरमील, पश्चिम नेपालमा टर्पेन्टाइन प्लान्ट रुसकै सहयोगमा निर्माण हुन्। त्यसैगरी चिकित्सा र इन्जिनियरिङका सयौं नेपाली विद्यार्थीलाई रुसले छात्रवृत्ति उपलब्ध गराएको थियो।

रुसमै अध्ययन गरेर फर्केका पूर्व मन्त्री गणेश साहका अनुसार सोभियतकालीन समयमाजस्तो एकपक्षीय रुपमा आर्थिक सहयोग गर्ने अवस्थामा अहिलेको रुस छैन। र, नेपालले पनि सायद त्यस्तो अपेक्षा राखेको छैन।

‘सोभियत संघले विश्वका अल्पविकसित र नवस्वतन्त्र देशहरुलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको हो तर, अहिले यस्तो अवस्था छैन’, साहले भने, ‘अपसी फाइदाका लागि आर्थिक सहकार्य गर्न चाहिँ रुस सकारात्मक नै छ।’

नेपाल–रुस विज्ञान समाजका अध्यक्ष समेत रहेका साहका अनुसार कुनै शक्ति राष्ट्रतिर नढल्किने र असंलग्न विदेश नीति लिने देशहरुसँग सम्बन्ध पुनस्थापना गर्न रुस प्रयासरत देखिन्छ।

‘हुन त नेपाल र रुसबीचका संयन्त्रहरू अहिले सक्रिय छैनन्, तर नेपालले रुससँग आर्थिक, विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य गर्न सक्छ’, साहले भने।

२०६७ असोजमा विश्व बाघ सम्मेलन सहभागी हुन रुस पुगेका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुससँग सम्बन्ध पुनः सक्रिय बनाउन केही संयन्त्रहरु पनि निर्माण गरेका थिए। पञ्चायतकालमा सरकार–सरकारबीचको सम्बन्ध बाहेक सोभियत खेमलाई समर्थन गर्ने नेपालका कम्युनिष्ट पार्टीहरूले भाइचारा सम्बन्ध पनि स्थापित गरेका थिए।

पूर्व राजदूत श्रेष्ठले तिब्बतको केरुङबाट आउने रेलमार्गको रुसुवागढी–काठमाडौं खण्ड निर्माणमा पनि रुससँग सहकार्य हुनसक्ने बताए।

‘रसुवागढी–काठमाडौं रेलमार्ग दक्षिण एशियाको प्रवेशबिन्दु हो र, चीनको बीआरआई परियोजना मार्फत यो कनेक्टिभिटि रुससँग पनि जोडिन्छ’, श्रेष्ठ भन्छन्, ‘रुससँग यो परियोजनामा सहकार्य हुनसक्छ।’

नेपाल र रुसबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध पनि विस्तार गर्न सकिने अवस्था छ।

‘रुसको साइबेरियातर्फका चार वटा राज्यमा बौद्धमार्गीहरुको बाहुल्यता छ’, श्रेष्ठ थप्छन्, ‘सगम्र रुसमै इशाइ, मुस्लिम, यहुदीपछि बौद्धमार्गीहरुको संख्या ठूलो छ, जसलाई बुद्ध जन्मस्थल नेपालमा आकर्षित गर्न सकिन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .