नेपाली कांग्रेसको गुटगत विवादले सर्लाहीमा अहिलेसम्म वडा र पालिका अधिवेशन हुन सकेको छैन। संस्थापन र इतर पक्षबीच चर्किएको मतभेदले स्थगन भएको अधिवेशन भोलि (मंसिर १० गते) सुरु गरिने भएको छ।
दोस्रोपटक अधिवेशन रोकिएपछि केन्द्रीय निर्वाचन समितिले दुवै पक्षलाई काठमाडौं बोलाएको थियो। लगातार ३ दिनको छलफलपछि वडा, क्षेत्रीय र महाधिवेशन प्रतिनिधि चयन गर्न सहमति भएको सर्लाहीका कांग्रेस जिल्ला सभापति नागेन्द्र रायले जानकारी दिए।
‘समय अभावले तत्काल पालिका र जिल्ला अधिवेशन गर्न सकिन्न। केन्द्रीय अधिवेशनमा यसले केही असर पर्दैन। ती दुवै पछि पनि गर्न सकिन्छ’, उनले भने।
अधिवेशन गराउन तेस्रोपटक खटाइएका निर्वाचन अधिकृत भरतबहादुर राउत काठमाडौंबाट सर्लाहीका लागि प्रस्थान गरेगरिसकेको र भोलि त्यहाँ पुग्ने सभापति रायले जानकारी दिए।
राउतले बिहीबार पार्टीका दुवै पक्षका नेता, वडास्तरमा मतदान अधिकृतका रूपमा खटिने शिक्षकलगायत सबै सरोकारवालालाई राखेर निर्वाचन प्रक्रिया, केन्द्रीय कार्यालयको निर्देशिकालगायतबारे जानकारी गराउने र भोलि शुक्रबार वडा अधिवेशन गराइने बताइएको छ।
जिल्ला सभापति राय र पुर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच पटकपटक विवाद भएपछि सहमतिका लागि दुवै पक्षलाई काठमाडौं बोलाइएको थियो।
जिल्ला सभापति नागेन्द्र राय प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट र पूर्वजिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
उनीहरूबीच क्रियाशील सदस्यतादेखि नै विवाद भइरहेको छ।
Shares
प्रतिक्रिया