नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका प्रबल दाबेदार मानिएका केन्द्रीय सदस्य बालकृष्ण खाण गृहजिल्लामै कमजोर देखिएका छन्।
गृहमन्त्री समेत रहेका खाण आफूलाई सभापति शेरबहादुर देउवाका उत्तराधिकारीका रुपमा पनि प्रस्तुत गर्ने गर्छन्। तर, आफ्नै जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा देखिएको कमजोर नतिजाले महामन्त्रीमा जितेर देउवाको उत्तराधिकारी बन्ने उनको चाहनामा धक्का पुगेको टिप्पणी भइरहेको छ।
पार्टीको भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका खाणको गृहजिल्ला रुपन्देहीका १० प्रदेश सभा क्षेत्रमध्ये उनको निर्वाचन क्षेत्रमा मात्रै पकड देखिएको छ।
नेविसंघ र तरुण दलको अध्यक्ष भइसकेका कारण देशभर उनको ‘नेटवर्क’ भएको आकलन गरिन्थ्यो। तर, पार्टीको क्रियाशील सदस्यता भएको प्रदेशसभा क्षेत्रमै इतर समूहले कमजोर साबित गरिदिएको छ।
‘रुपन्देहीको नतिजाले सरकारकै सेकेन्ड पोजिसनमा रहेका नेताको पकड कमजोर छ कि भन्ने देखायो। यो उहाँका लागि राम्रो संकेत मान्न सकिँदैन,’ अघिल्लो पटक देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार समूहका एक सदस्यले भने।
लामो समयसम्म उनको क्रियाशील सदस्यता रहेको रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने दुवै प्रदेश सभा निर्वाचन क्षेत्रमा संस्थापन इतर समूह विजयी भएको छ। उक्त क्षेत्रबाट लुम्बिनी प्रदेश प्रतिनिधिका उम्मेदवार बनेका गृहमन्त्री खाणका स्वकीय सचिव बिजेश न्यौपाने पराजित भएका छन्।
गृहमन्त्री खाणको गृहनगर र बलियो पकड रहेको भनिएको रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको उक्त निर्वाचन क्षेत्रबाट न्यौपानेसँगै खाण समूहको प्यानल नै पराजित भएको छ।
सोही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता तथा खाणका विश्वासपात्र वीरेन्द्र कनौडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका छन्।
खाणको यसअघि क्रियाशील सदस्यता रहेको निर्वाचन क्षेत्रका दुवै प्रदेश सभा क्षेत्रीय अधिवेशनमा आफ्नो समूह विजयी भएको इतर समूहका नेता कुमार केसीले जानकारी दिए।
उनका अनुसार इतर समूहले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ सँगै ४ का दुवै प्रदेश सभा क्षेत्रीय अधिवेशनमा खाणको प्यानललाई पराजित गरेको छ।
निर्वाचन क्षेत्र नम्बर १ का दुवै प्रदेश सभा क्षेत्रीय अधिवेशनमा रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाकको समूह विजयी भएको छ। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का दुवै प्रदेश सभा क्षेत्रीय अधिवेशनमा सांसद भरत शाहनिकट उम्मेदवारहरु विजयी भएका छन्।
गृहमन्त्री खाण र प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका संयोजकसमेत रहेका नेता शाह र जिल्ला सभापति रज्जाक एउटै समूहमा भए पनि जिल्लामा खाण र शाहको अलग–अलग समूह प्रतिस्पर्धामा छ।
रुपन्देहीका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा सम्पन्न अधिवेशनको नतिजाअनुसार संस्थापन पक्षले ६ क्षेत्रमा जिते पनि खाणको पकड आफ्नो निर्वाचन क्षेत्रमा मात्र भएको नेता केसीले बताए। गृहमन्त्री खाण निर्वाचन लड्दै आएको निर्वाचन क्षेत्र नम्बर ३ का दुवै क्षेत्रीय अधिवेशनमा उनीनिकट उम्मेदवारहरु विजयी भएका छन्।
यद्यपि, २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी उक्त क्षेत्रबाट निर्वाचनमा उठेका थिएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको गठजोडमा उक्त क्षेत्र राप्रपाको भागमा परेपछि समानुपातिकमा बस्नु परेको खाणनिकटहरुको दाबी छ।
तर, प्रत्यक्ष निर्वाचन प्रणालीमा जित्न असहज अनुमान गरेर उनले आफ्नो निर्वाचन क्षेत्र राप्रपाका दीपक बोहोराका लागि छाडेको खाणका आलोचक दाबी गर्छन्। २०७४ सालमा प्रतिनिधिसभा चुनावअघि भएको स्थानीय तहको चुनावी परिणामले असुरक्षित देखाएपछि उनी समानुपातिकमा बसेका थिए।
स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखका उम्मेदवार खाणका सहोदर भाइ रामकृष्ण पराजित भएका थिए। खाणको आफ्नै वडा तिलोत्तमा–८ मा पनि एमाले विजयी भएको थियो।
क्षेत्र नम्बर ३ मा पर्ने तिलोत्तमासँगै सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका एमालेको पोल्टामा गएपछि उनी समानुपातिकमा बसेका थिए।
त्रिभुवन विश्वविद्यालयको राजनीतिक शास्त्र विभागका प्रमुख प्रा.डा. रामकृष्ण तिवारी जनतामाझ गरेका बाचा पुरा गर्न नसक्ने राजनीतिज्ञहरु आफू सुरक्षित हुन समानुपातिकतर्फ बस्ने बताउँछन्।
‘बोलेका कुराहरु धेरै पुर्याउन सकेका हुन्नन्। बाचा पुरा नगर्ने नेतालाई जनताले हेर्ने दृष्टिकोण नकारात्मक हुँदै जान्छ,’ उनले भने, ‘हार्ने त्रासमा रहेका, जनतालाई फेस गर्न सक्ने लिडरहरु समानुपातिक प्रणालीको सजिलो बाटो अपनाउँछन्।’
रूपन्देही निर्वाचन क्षेत्र–३ मा असुरक्षित महसुस गरेर २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकमा खुम्चिएका खाण अब क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा लागेका छन्।
सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रहेका खाणले पार्टीको क्रियाशील सदस्यता पनि निर्वाचन क्षेत्र नम्बर २ बाट १ मा सारिसकेका छन्। तर, पछिल्ला मत परिणामहरुले उक्त क्षेत्र पनि कांग्रेसका लागि बलियो क्षेत्र देखाउँदैन।
दोस्रो संविधानसभा निर्वाचनमा पूर्व खानेपानी राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति रज्जाकले नेकपा एमालेका नेता छविलाल विश्वकर्मालाई झिनो मतान्तर (२०४) ले पराजित गरेका थिए।
तर, २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेका विश्वकर्माले रज्जाकलाई ७ हजार ३ सय ८० मतले पराजित गरेका थिए। उक्त निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल थियो।
पहिलो संविधानसभा निर्वाचनमा खाणले रुपन्देही–३ मा एमाले उम्मेदवार लीला गिरीलाई १२ सय बढी मतले पराजित गरेका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार घनश्याम भुसाललाई मात्र ८५ मतले जितेका थिए।
२०७४ मा कांग्रेस–राप्रपाका साझा उम्मेदवार बोहरालाई एमाले नेता भुसालले पराजित गरेका थिए। सोही निर्वाचनमा रुपन्देही ४ र ५ बाटमात्रै कांग्रेस विजयी भएको थियो। सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रहेका खाण पछिल्लो समय पाँच दलीय गठबन्धनलाई चुनावसम्म नलगे एमालेलाई पराजित गर्न नसकिने अभिव्यक्ति दिँदै आएका छन्।
पार्टीको भ्रातृ संगठन नेपाल महिला संघ रूपन्देहीले कात्तिक २४ गते भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाणले गठबन्धनबिना एमालेलाई हराउन सजिलो नरहने अभिव्यक्ति दिएका थिए।
‘कांग्रेस एक्लैले एमालेलाई हराउन सजिलो छैन,’ उनले भनेका थिए, ‘पार्टीको भविष्य सुरक्षित गर्न गठबन्धनलाई निर्वाचनसम्म लानुपर्छ।’
Shares
प्रतिक्रिया